You Are Here: Home » अन्तर्वार्ता » कर्पोरल दीपप्रसादलाई चिठी

कर्पोरल दीपप्रसादलाई चिठी

राजेश राई

सर्वप्रथम हार्दिक बधाई ! पुर्खाहरूको पदचिन्ह पछ्याउँदै अफगान युद्धमा असाधारण बहादुरी देखाएबापत तपाइर्ंले पाउनुभएको सम्मानले यतिवेला संसारभरका गोर्खालीको छाती गर्वले चौडा भएको हुनुपर्छ । गत बुधबार भव्य बकिङघम दरबारमा बेलायती महारानी एलिजाबेथ द्वितीयाले तपाईंको छातीमा ‘कन्स्िपस्युअस ग्यालन्ट्री क्रस’ पदक लगाइदिँदै गर्दा बेलायती सञ्चारमाध्यमहरूले तपाईंको बहादुरीको गुनगान गाइरहेका थिए, भने यता आफ्ना भाइछोराले भिक्टोरिया क्रसपछिको सबैभन्दा ठूलो सैन्य पदक थापिरहँदा खुसीले संसारभरका गोर्खालीका आँखा रसाए । यस्तै अवसरमा खुसीको आँसु झार्नुपर्ने गोर्खाहरूको नियति र बाध्यता पनि हो । गोर्खालीको रगत र पसिनाले बनेको बकिङघम दरबारमा तपाइर्क भव्य सम्मान भइरहँदा फेरि एकपल्ट यो नियति दोहोरिएको छ ।
महारानी एलिजाबेथ द्वितीयाले तपाईंको छातीमा ‘कन्स्िपस्युअस ग्यालन्ट्री क्रस’ भुन्ड्याइदिएपछि तपाईंले भन्नुभएछ, ‘दरबारमा आएर ‘कन्स्िपस्युअस ग्यालन्ट्री क्रस’ प्राप्त गर्दा धेरै खुसी र उत्साही छु । यो भविष्यका लागि राम्रो सम्झना हुनेछ ।’ निश्चिय नै, तपाईंको उत्साह सारा गोर्खालीको उत्साह हो । तपाईंको खुसी हाम्रो पनि हो । जतिवेला हाम्रो गाउँघरमा बेलायती साम्राज्यका लागि मान्छे बटुल्ने ‘ठेकेदार’हरू टेन्डर पारेर गल्लावालको नाममा अनाम आदिवासी
बस्तीहरूमा छिरे त्यसवेलादेखि नै हामी यस्ता खुसी बारम्बार बाँडिरहन बाध्य छौँ । संयोग भनौँ, तपाईंले बकिङघम दरबारमा दिनुभएको प्रतिक्रिया र दशकौँअघि सबैभन्दा ठूलो सैन्य भिक्टोरियाक्रस पाएपछि स्व. भिसी तुलबहादुर पुनले दिएको प्रतिक्रिया मिल्न गएको छ ।
तपाइ म्याग्दी बिम गाविसको पुन हुनुहुन्छ, उनी म्याग्दीको बेगाखोला गाविसको पुन । तपाइर्ं एक्लैले तालिवानीको जत्थालाई हराउनुभयो । ठीक ६७ वर्षअघि भिसी पुनले १०११९ नम्बर सिक्स गोर्खा राइफल्समा कार्यरत रहँदा यस्तै बहादुरी देखाएका थिए । सन् १९४० मा बेलायत अधीनस्थ भारतीय सेनामा भर्ती भएका पुनले १९४४ जुन २३ मा भएको बर्माको लडाइँमा घाइते अवस्थामा पनि एक्लै लडेर जापानी सैनिकलाई परास्त गर्नुका साथै जापानीका अत्याधुनिक हतियार पनि खोसेका थिए । त्यही युद्ध जितेबापत १ जनवरी १९४५ मा नयाँदिल्लीको लालकिल्ला लर्डओझेलमा विशेष कार्यक्रम गरी उनलाई भिक्टोरियाक्रस प्रदान गरिएको थियो ।
तपाईंले बकिङघम दरबारमा बुधबार राति भनेजस्तै गरी लालकिल्ला लर्डओझेलमा भिक्टोरियाक्रस पाएपछि तुलबहादुरले भनेका थिए, ‘लालकिल्लामा यो सम्मान पाउँदा म साह्रै खुसी छु, भविष्यका लागि यो मेरो ठूलो सम्पत्ति हुनेछ ।’
कुनै वेला कहिल्यै नअस्ताउने मानिएको साम्राज्यकी सर्वशक्तिमान महारानी भिक्टोरियाको नामबाट स्थापित पुरस्कार आफ्ना भाइछोराले पाउँदा त्यतिवेला पनि गोर्खालीको आँखा खुसीले रसाएका । तर विडम्बना, बेलायत आफैंले अमूल्य भनेको भिसी पदक बेलायती शासकले म्याग्दी को बेगाखोला नै पुगेर चालीस हजार दिएर फिर्ता लगे । केही वर्षअघि भिसीविजेता तुलबहादुर पुनले बेलायती महारानी एलिजाबेथको दरबार बकिङघम र बिग्रेड अफ गोर्खाजको हेडक्वाटरमै पुगेर भनेका थिए, ‘मेरो पदक फिर्ता देऊ, मेरो सम्मानमा दिएको पदक म आफैंसँग राख्न चाहन्छु ।’ तर, भिसी पुनको अनुरोधलाई एलिजाबेथ र डेभिड क्यामरुनहरूले अस्वीकार गरे । पदक फिर्ता माग्दा नदिएपछि भिसी पुन विक्षिप्त भएका थिए । जीवनका ऊर्जाशील समय जसका लागि खर्चे त्यही मुलुकले आफ्नो अपमान गर्दा पुनले एलिजाबेथको दरबार बकिङघममा आँसु बगाएका थिए । आफूले असाधारण वीरता देखाएर प्राप्त गरेको भिसी पदक छातीभरि लगाएर मर्ने उनको सपना अधुरै रह्यो ।
तपाईंलाई थाहा छ, भिसी पुनको ९१ वर्षको उमेरमा एक महिनाअघि जन्मभूमि म्याग्दीको बेगाखोला- ९ तिप्ल्याङमा देहावसान भयो । तर, जीवनको अन्तिम घडीमा भिसी पदक उनको छातीमा थिएन, बेलायती साम्राज्यले स्थापना गरेको ‘विन चेस्टर गोरखा म्युजियम’मा थियो । भिसी पुनले जसका लागि जीवनभर लडे, जीवनको उत्तरार्द्धमा तिनैले अपमान गरे । भिसी पुनसँग आँशूमात्र बाँकी रह्यो । पुनसहित पहिलो र दोस्रो विश्वयुद्धका मोर्चामा आफ्नो छाती थापेर बेलायती साम्राज्य बचाइदिने १३ गोरखा सैनिकलाई भिसी दिइएको थियो । तर, सबै सोझा गोर्खालीलाई झुक्याएर बेलायतले ती पदक फिर्ता लगेको छ । आज अनेकौँ प्रयत्न गर्दा पनि बेलायती साम्राज्यले फिर्ता दिएको छैन ।
अहिले तपाइर्ं सबैको सम्मानको पात्र बन्नुभएको छ । तपाईंसँग ऊर्जाशील जवानी छ, पैसा छ, पद र प्रतिष्ठा पनि छ । तपाइर्ंका पछि अरूहरू धेरै-धेरै छन् । अब यहीँनेर तपाईंसँग मेरा केही आग्रह छन् । मेरा पुर्खाले पनि बेलायती साम्राज्य बचाउन आफ्नो रगत र पसिना बगाएका छन्, यसकारण पनि आफूलाई यसको हकदार ठान्दछु । हिजो भिसी तुलबहादुरहरूले तपाईंले भन्दा ठूलो सैन्य सम्मान पाएर पनि जीवनको उत्तरार्द्धमा रुनुपर्‍यो । अब तपाइर्ंले महारानी ऐलिजाबेथलाई सोध्नुपर्छ कि अब तपाईंले पनि पुर्खाहरूजस्तो जीवनको उत्तरार्द्धमा बेलायती अपमान सहन नसकेर रुनुपर्नेछ कि छैन ? भिसी तुलबहादुर र लछिमान गुरुङहरूको भिसी पदक जसरी अन्यायपूर्वक तरिकाले खोसियो, आज तपाईंले पाउनुभएको ‘कन्स्पिस्युअस ग्यालन्ट्री क्रस’ भोलि बेलायतले खोस्छ कि खोस्दैन ?’ कृपया तपाईं यी प्रश्नहरू एकपल्ट महारानीलाई सोध्नुहोस् ।
तर, मलाई थाहा छ, तपाइ तपाईंजस्तो सैनिकका आफ्नै नियम र अनुशासन हुन्छन् । त्यसैले तपाईं उहाँलाई केही सोध्न सक्नुहुन्न । तर, अब तपाइर्ं सैनिक मात्रै होएन, एक ‘सेलिबे्रटी’ पनि बन्नुभएको छ । संसारभरका सञ्चारमाध्यममा छाउनुभएको छ । यतिबेला तपाइर्ंले यी प्रश्नहरू गर्दा बकिङघम दरबारले तपाईंलाई गलहत्याएर सेवाबाट बर्खास्त गर्न सक्ने छैन । तपाईंले यो गर्विलो वर्तमानको छातीमा टेकेर यी प्रश्न सोध्नुभयो भने कम्तिमा भावी सन्ततिका लागि सुखद सुरुवात अवश्य हुनेछ । आशा छ, तपाईं यो अवसरबाट चुक्नुहुने छैन ।
प्रिय दीपप्रसाद,
तपाईं यतिवेला संसारकै एक समृद्ध देशमा हुनुहुन्छ । यो साम्राज्य निर्माणका लागि दुई सय वर्ष अघिदेखि नेपालीले अनेकौँ अपमान र विभेद सहँदै अनि रगत र पसिना बगाउँदै आएका छन् । म यतिवेला संसारकै विपन्न भनिएको देशमा छु । जुन देशका ४८ प्रतिशत जनता अझै पनि पेटभरि खान पाउँदैनन् । आज तपाईं जुन देशका लागि रगत र पसिना बगाइरहनुभएको छ, त्यही देशका शासकका पुर्खाले इस्टइन्डिया कम्पनीको नाममा नेपालमाथि धावा बोलेपछि हाम्रो दुर्दशाको दिन सुरुवात भएको थियो । सन् १८०६-१८१५ दशकताका नेपाल पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म फैलिएको थियो । सन् १८१४ मा बेलायती शासकहरूले इस्टइन्डिया कम्पनीको नाममा आक्रमण सुरु गरेको थियो । डिसेम्बर १८१६ मा जब सुगौली सन्धि भयो त्यही दिनबाट हाम्रो अधोगति सुरु भएको थियो । नेपालीले आफ्नो भूमि त गुमाए नै त्यही दिनबाट राष्ट्रिय स्वाधीनता पनि गुमेको थियो । आज नेपालीले खाने नुन, लगाउने सुन र बिहानबेलुका आवश्यक पर्ने जुन चिजमा पनि हिजोको इस्टइन्डिया र आजको भारतको मुख ताक्नुपर्छ ।
त्यहीवेलादेखि पसेका गल्लावालहरू अझै पनि चिप्सा आँखा, थेप्चा नाक र गोलो अनुहार भएकाहरूलाई छानी-छानी लगिरहेका छन् । बेलायतले दुश्मनलाई कसरी मार्ने, कसरी काट्नेभन्दा गोर्खालीलाई अरू केही सिकाएन । बेलायतको आदेशमा गोर्खालीले बर्मा, मलाया, फोकल्यान्ड, कोसोभो, अफगानिस्तान अनेकौँ मोर्चामा लडे । बेलायतको आदेशमा मुक्तियुद्ध लडिरहनु गोर्खालीको बाध्यता हो । बेलायतले गोर्खालाई मान्छेको काँचो मासु खाने रक्तपिपाशु भनेर संसारभरि प्रचार गरेको छ । विश्वयुद्धताका करिब ६० हजारभन्दा बढी गोर्खा सैनिक मारिए, तर तिनका परिवारलाई आजसम्म केही राहतसम्म दिइएको छैन । अझै गोर्खामाथि विभेद र अपमान कायम छ । त्यसैले म फेरी भन्छु, अब महारानी एलिजाबेथ र डेभिड क्यामरुनहरूलाई एकपल्ट सोध्नुहोस्, ‘संसारलाई मानवअधिकारको पाठ सिकाउाने बेलायत आफैंले किन मानवअधिकारको खिल्ली उडाउँदै गोर्खालीलाई विभेद र अपमान गरिरहन्छ ।’
अन्तमा कवि श्रवण मुकारुङको गीतको यो अंश:
भिक्टोरियाक्रसले त दुनियाँ रुवाउँछ
तिम्रो छातीमा त गुराँसै सुहाउँछ
उही तपाईंको
राजेश राई
Kulung.rajesh@gmail.com

About The Author

Number of Entries : 70

Comments (1)

Leave a Comment

© 2009 GAESO, Powered by Kash

Scroll to top