You Are Here: Home » दृष्टिकोण » यसरी पुगे गोरखाली बेलायत

यसरी पुगे गोरखाली बेलायत

 

412709_318392431600375_916950532_o
जीतबहादुर राई

सन् २००६ अप्रिल २६ तारिखका दिन बिहान साढे ९ बजे कतार एअरलायन्सको उडान क्रम क्यूआर ३५५ मार्फत् काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनको हेथ्रो विमानस्थलतर्फ मेरो प्रस्थान हुँदै थियो । त्यसको ठीक दुई दिनअघि अर्थात् ११ वैशाख २०६३ मा दोश्रो जनआन्दोलन सकिएर देशमा हर्षोल्लास र खुशीयाली थियो । यस्तो खुशीको क्षणलाई चटक्क छाडेर बेलायत जानुपर्दा एकातिर मनमा बेखुशीले डामिरहेको थियो भने भित्री कुनै अन्तस्करणमा खुशीको शीतल समेत आभास भइरहेको थियो ।
खुशी हुनुको कारण चाहिँ के थियो भने सन् १९८४ मा नचाहँदा नचाहँदै मैले बेलायत छोड्नुपरेको थियो, आज फेरि आफ्नै मनखुशले निर्बन्ध त्यता जाँदै थिएँ । यसरी आफ्नो अधिकार उपभोग गर्दै छाती फराकिलो बनाएर बेलायत जाने अवस्था गेसोको आन्दोलन र त्यसले हासिल गरेको सफलताले मलाई दिलाएको थियो । त्यो आन्दोलनको एक हिमायती भएको नाताले यसरी आकाशमार्ग हुँदै कर्मभूमि आउजाउ गर्ने लाहुरे र तिनको परिवारहरूको खुशमनको आत्मानुभूतिले पनि मेरो मनमा खुशीको लेपन लागेको हुनुपर्छ ।
सन् १९८४ मा मेरो पल्टन १० गोरखा राइफल बेलायतमा कार्यरत थियो । मलाई चाहिँ प्रि–एडभान्समा तीन महिनाअघि हङकङमा आफ्ना भनाउँदाले जबरजस्ती पठाएका थिए । आफ्ना मान्छे नहुनेहरू बेलायतमै काजमा एक वर्ष बस्ने भए । त्यही देशको निम्ति १५ वर्ष राष्ट्रिय सेनामा काम गरेको मान्छेले त्यही देशमा जान किन नपाउने ? हामी लाहुरेहरूलाई आफ्नो कर्मभूमि फर्कन नपाउने गरी बेलायतले गरेको भेदभावले हाम्रो स्वाभिमान र आत्मसम्मानमा ठेस पुगेको थियो, र हामी मनमा एउटा गाँठो पारेर देश फिर्ता हुन्थ्यौँ । आज त्यो अवस्था गेसो आन्दोलनले गर्दा फेरिएको छ । हो, त्यसैले त म देशको माया बोकेर बेलायततिर चीलगाडीमा गइरहेछु, जहाँ मेरा पसिनाका थोपाहरूको सिञ्चनले हिउँ जमिरहने भुइँहरूमा ‘मनिप्लान्ट’ उम्रिएका छन् ।
नेपालको दोस्रो जनआन्दोलनमा गेसोले आर्थिक र भौतिक सहभागिता जनाएको थियो । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले स्थापना गरेको जनआन्दोलन घाइते प्राथमिक उपचार कोषमा १ लाख ११ हजार १ सय ११ रूपैयाँ आर्थिक सहयोग गरेका थियौँ । यस्ता सहयोगले आन्दोलनकारीहरूको आत्मबल उठ्थ्यो, र आन्दोलनका पक्षपाती संघसंस्था र व्यक्तिले पनि आफ्नो जेबको पैसा जनआन्दोलनकारीलाई उपचार गर्न भन्दै कोषमा जम्मा गर्न प्रेरणा दिन्थ्यो । गेसोले आफना सबै मातहतका संगठनहरूलाई झन्डा सहित प्रदर्शन गर्न आह्वान गरेको थियो । जनआन्दोलनमा सडकमा पोखिएको मानव भेलमा गेसोको हरियो झन्डा एउटा छाल बनेर उर्लिएथ्यो ।
जनआन्दोलन सफल भएपछि र बेलायत छोडेको २२ वर्ष पछि फेरि म उही बेलायत जाँदै थिएँ । हेथ्रो विमानस्थलमा मलाई अल्डरसटवासी मध्यपश्चिमाञ्चल क्षेत्रीय समितिका सचिव ओमबहादुर गुरुङ लिन आएका थिए । मलाई उनले राती साढे ११ बजे अल्डरसटमा निवास गर्न पु¥याए । रातीको अल्डरसट हेरेर मन बुझेन, मलाई दिनमा यो शहर हेर्न कौतुहलता भइरह्यो । २२ वर्ष अघि मैले यो ठाउँबाट देशतिर पाइला उचाल्दा म रातोपिरो थिएँ, पाखुरामा मासु खाँदिएको युवा थिएँ । आज मेरो वर्ण उस्तै भए पनि काया फेरिएको थियो । ममा अल्डरसटमा के बदल भयो भन्ने उत्सुकता थियो । मलाई यै उत्सुकताले बिहान ४ बजे पछि निदाउन दिएन ।
त्यसो त पहिले मैले कहाँ अल्डरसटलाई राम्ररी संसर्ग गर्न पाएको हुँ र ? पुराना कुराहरू पनि त स्मृतिमा धुमिल भइगएका थिए । घरहरू सबै पुराना थिए, जहाँ गेसोका पुराना खम्बा उपसभापति कृष्णकुमार राई हुनुहुन्थ्यो । म आए पछि उहाँ नेपाल फर्कने हुनुभो, र म गेसो बेलायतको इन्चार्ज भएर बस्ने भएँ ।
बेलायत इन्जार्चको जिम्मेवारी नेपाल, बु्रनाइ जीआरयू र अन्य देशबाट बेलायत आउनेहरूको फारम भरेर गृहमन्त्रालय पठाई आइएलआर निकालिदिने थियो । यो काम मैले गर्न थालेँ । कहिले बिहानदेखि बेलुकीसम्म यो काम गर्नुपथ्र्यो भने कहिले दिनको एकादुईको मात्र काम हुन्थ्यो ।
त्यो समयमा गेसोका सभापति पदमबहादुर गुरुङ र सल्लाहकार डा. चन्द्रबहादुर गुरुङ इमिग्रेसन सम्बन्धी काम गर्ने वकिल खोज्दै लन्डनको गल्ली चहारिराख्नुभएको थियो । त्यो समयमा नेपालबाट भूपू सैनिकहरूको लालबुक र राहदानी प्रत्येक दिनजस्तै एक डेढ सयको हाराहारीमा अल्डरसटको सिक्स बि ब्रिचेट रोडमा आइपुग्थ्यो ।
सभापतिले दैनिक फोन गर्दै भन्नुहुन्थ्यो, ‘आज हामी धेरैतिर धाउँदा पनि वकिल पाइएन, तर यो सवालमा तपाईंले विल्कुलै चिन्ता नलिनू, यो आन्दोलनमा हाम्रा ६० हजार पितृहरूको आशीर्वाद छ ।’ वकिल खोज्ने उहाँहरूको काम जारी थियो भने फारम भर्ने मेरो काम पनि लगातार थियो । एक दिन म ९९ ए भिक्टोरिया रोडको कार्यालयमा सधैँ जसरी बु्रनाइ जिआरयुका साथीभाइको फारम भर्दै थिएँ । सभापतिले फोनमा भन्नुभयो, ‘तपाईंको भिसासहितको राहदानी फोटोकपी ०२०८ ८८४० ७२०९ मा छिटो फयाक्स गर्नूस् ।’ हतारहतार एभरेष्ट क्यास एण्ड क्यारी पुगेर मेरो राहदानी र लालबुकको फोटोकपी फ्याक्स पठाएपछि सभापतिलाई खबर गरेँ । उहाँले बेलुका भन्नुभयो, ‘क्याबात् कमरेड ! आज तपाईंले दुई पिन्ट बियर खाँदा भयो ।’
सभापतिले ‘हामी सफल भयौँ, त्यहाँका सबै राहदानी र लालबुक तपाईंले लिएर लन्डन चेरिङक्रसमा भोलि ११ बजे आइपुग्नू’ भन्नुभयो । उहाँले ‘यो कुरा अरूलाई नभन्नू, बाँकी कुरा भोलि गरौँला’ भन्नुभएको थियो । बेलायत बसाइँको उपलब्धि भयो भन्ने लागेपछि म कताकता ढुक्क पनि भएँ । भोलिपल्ट दुई सुटकेस लालबुक र राहदानी एक्लै बोकेर सभापतिले भनेको ठाउँ चेरिङक्रसमा पु¥याउन हिँडेँ ।
लन्डनवाटरलुमा मान्छेको भीडैभीडमा मलाई पिसाबले च्यापेर हैरान बनायो । ट्वाइलेट एकतला मुनि थियो । म ट्वाइलेट जाने उपायबारे सोचिरहेको थिएँ । लालबुक र राहदानीले भरिएका दुईवटा सुटकेस बोकेर ट्वाइलेटसम्म जाने उपाय सोच्दै गर्दा एक नेपाली उक्ति सम्झेँ, मान्छेले हिसाब, निसाफ र पिसाब रोक्नुहुँदैन अरे । मैले पनि दुई सुटकेस हातमा र अर्को झोला पछाडि भिरेर वाटरलुमा एकतलामुनिको ट्वाइलेट गएँ । जटिल परिस्थितिमा कहिलेकाहीँ यस्तै जटिलता थपिँदा नै त जीवन रमाइलो हुनेगर्छ ।
लन्डनवाटरलुमा मानिसहरू कसैलाई वास्ता नगरी आफ्नै धुनमा गन्तव्यतर्फ लागिरहेका थिए । नेपालमा भए म रमिते हुन्थेँ होला, कतिले त कुरा पनि काट्थे होला । बेलायतमा कसैलाई कसैको वास्ता नहुने भएकाले यो अवस्था मेरा लागि ठीकै भयो । मैले त्यति दुःखकासाथ राहदानी र लालबुक बोक्दै कष्टसाध्य कामहरू नगरेको भए, सभापति र डा.चन्द्र लन्डनका गल्ली नचाहरेको भए गोरखाहरूको यो अवस्था हुने नै थिएन । जति गोरखाहरू बेलायत पुगेका छन्, हामीलाई नचिने पनि उनीहरूको आत्माले स्याबासी दिएजस्तो लाग्छ । यो सम्झेर अझै पनि मेरो काँध दुःखका भारी बोक्न तम्तयार हुन्छ ।
चेरिङक्रसमा भेट भएपछि सभापतिसँग सोधेँ, ‘हामी कहाँ जाने ?’ सभापतिले ‘त्यस्ता कुरा छोड्नूस्, मेरो पछि लाग्नूस्’ भनेपछि उहाँको पछि लागेँ । त्यसपछि हामी भूमिगत रेलबाट हुँइकियौँ । रेलले इलिङब्रोड्वे उता¥यो । इलिङमा पुगेपछि डा. चन्द्रसँग पनि भेट भयो, जहाँ होवे एण्ड को सोलिसिटर्सको ल फर्म थियो । त्यहाँका सोलिसिटर मुक्ता भर्सानीसँग मेरो आइएलआर तथा हामीले बोकेका राहदानी र लालबुकबारे धेरै समय कुरा भएपछि डेभिड इन्राइटसँग पनि कुरा भयो । ल फर्मको प्रमुख मार्टिन नआइपुगेकाले खानापछि उनलाई भेट्ने कुरा भयो ।
केही बेरमा मार्टिन आएपछि कुराकानी सुरु भयो । इमिग्रेसनसम्बन्धी मुद्दा होवे फर्मले हेर्ने पक्का भयो । हामीेले लगेका केही राहदानी र लालबुक अध्ययनका लागि छाड्नुपर्ने भएकाले त्यसको जिम्मा मुक्ता भर्सानीलाई दियौँ । छाडेका कागजात अध्ययन गरेपछि उनीहरूले भूपू सैनिकहरूलाई केही प्रश्न राखेर फारम बनाएका थिए । त्यो फारममा बेलायती सेनामा भर्ना भएको समय, नोकरी गरेका स्थान आदि सूचनाहरू संकलन गर्ने ठाउँ बनाइएको थियो । ती फारमहरू नेपाल पठाएर सम्बन्धित व्यक्तिको सूचना लेखेर दस्तखतसहित एकहप्ताभित्र फर्मलाई बुझाउनुपर्ने भयो ।
ती वकिलहरूले नेपाललाई आफ्नो देशसँग दाँजिदिएका थिए । उनीहरूले बेलायतमा जस्तै सवारी चढेर एकै दिनमा छेउकुनाको मान्छेसँग भेटघाट गर्न र सूचना संकलन गर्न सकिन्छ भन्ने सोचेका थिए । नेपालमा त्यस्तो छैन । सात वर्षअघिको दुरसञ्चार सेवा पनि त हामीलाई थाहै छ । यस्तो अवस्थामा बेलायती वकिलहरूले अह्राएको काम नेपालको सन्दर्भमा कुनै पनि हालतमा असम्भव थियो ।
त्यसैले फारमका प्रश्नहरूलाई नेपाल नपठाई बेलायतमा भएका केही साथीभाइको सहयोगबाट जसोतसो मेहनतपूर्वक फारमहरू भर्ने कार्य सम्पन्न ग¥र्यौँ । एकहप्तापछि सबै कागजात लिएर ल फर्म पुग्यौँ । फर्ममा मार्टिन र डेभिडलाई भेटेर फारम कागजात बुझायौँ । मार्टिनले कागजात हेरेपछि यो मुद्दा गृहमन्त्रालयमा दिने होइन, यसलाई नेपालको कन्सुलर अथवा राजदूतावासमै दिएपछि भिसा पाएमा पूर्वगोरखा सैनिक बेलायत आउन सक्ने कुरा सुनाए । भिसा नदिए सन् १९९७ पछि अवकाश पाउनेले बेलायतमा बस्न र काम गर्न आवासीय भिसा पाउने तर १९९७ अघि पेन्सन गएका भूपू सैनिकले किन नपाउने ? भनेर बेलायती अदालतमा मुद्दा दर्ता गर्ने मार्टिनले सुझाए । समय छोटो थियो, कारण सन् १९९७ पछि पेन्सन आएकाहरूले सन् २००६ को अक्टोबर २४ पछि भिसाका लागि निवेदन दिन नपाउने नियम थियो । यी कामहरू सकेसम्म छिटो गर्नु थियो । मार्टिनले यही अवस्थालाई मनन गरेर जतिसक्दो सात जना वकिलहरूको टोली नेपाल गएर भूपू सैनिकहरूको मुद्दामा काम गर्ने बताए । मार्टिनको यो कुराले सभापति, डा.चन्द्र र मेरो खुशीको उभार मनमा अट्नै सकेन । फर्मको कार्यालयबाट कतिबेला बाहिर निस्किएर ग्वाम्लाङग खुशीको अँगालो हाल्ने भन्ने पो हतारो हुन थाल्यो । हामीले बाहिर निस्किएर जोडले एकअर्काको हात समाएर झड्का¥यौँ । त्यति बेला सभापति खुशीले पिलपिल रुनुभयो । उहाँले ‘मैले भन्दै आएको साठी हजार पितृको आशीर्वाद भएको यो आन्दोलन कहिल्यै पछि हट्दैन’, सभापतिले आँखाको आँसु पुछ्दै थप्नुभयो, ‘यो हामी बन्दुकेको आन्दोलन मात्र होइन यो, पितृहरूको आशीर्वादले जन्माएको हुरी हो ।’
सभापतिले त्यतिखेरै आवासीय भिसाको मुद्दा जितेरै छाड्ने अठोट गर्नुभयो । वहाँले वकिलहरू पाउनु नै जित भएको पनि बताउनुभयो । वास्तवमा सभापति मात्र रुनुभएको होइन रहेछ, डा. चन्द्र र म पनि उहाँसँगै रोइसकेका थिएछौँ । दुःखले सिर्जना गर्छ भनेझैँ त्यो दिनमा हाम्रो दुःखहरूले आँसु झार्ने खुशी सिर्जना गरेको थियो ।
हामीले यही कानुनी संस्थाको साथबाट मुद्दा जित्दै गयौँ । त्यै जितले नेपालको कुना कन्दरामा दुःखी जीवन बाँचिरहेका भूपू गोरखाहरू बकिङ्घम राजदरबारको पूmलबारी, थेम्स नदीको लन्डनब्रिज र लन्डनको म्याड्मट्यूसड्का विश्व चर्चित व्यक्तिहरूसँग उभिएर तस्बीर खिचाउन पाएका छन् । अहिले गुगलम्याप मेसिनको क्लोज भ्यूबाट हेर्दा अल्डरसटको एभरेष्ट क्यास एन्ड क्यारी पसलअगाडि लुङ्गी लगाएकी बज्यू र टोपी लगाएका बाजेलाई देख्न सकिन्छ, कुर्ता सुरुवाल लगाएकी आमा स्टेशनरोडतर्फ हिँडिरहनुभएको देखिनुहुन्छ । लाग्छ, बेलायती चोक र चौरस्ताहरूमा गेसो हिँडिरहेछ, पितृहरूको आशीर्वाद पार्कहरूमा हाँसिरहेछ ।

About The Author

Number of Entries : 13

Leave a Comment

© 2009 GAESO, Powered by Kash

Scroll to top