You Are Here: Home » तस्बिरहरु » महारानी एलिजावेथको दरबार घेर्ने चेतावनी

महारानी एलिजावेथको दरबार घेर्ने चेतावनी

बेलायती सेनाध्यक्षको भ्रमणप्रति गेसोको शंका-
मनोज अधिकारी, पोखरा, मंसिर ३- बेलायती सेनाध्यक्ष सर पिटर वालको नेपाल भ्रमणलाई गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले ‘शंकास्पद’ भनी टिप्पणी गरेको छ। बेलायती सेनाध्यक्षको नेपाल भ्रमण आफूहरुको कार्यक्रम बिथोल्ने नियतले भएको हुन सक्ने उसले जनाएको छ।

राजधानीमा रहेका बेलायती सेनाध्यक्ष वाल आइतबारै पोखरा आउँदैछन्। बेलायतको पक्षमा विभिन्न युद्वमा मारिएका र बेपत्ता बनाएका अज्ञात ६० हजार गोरखा सैनिकको आत्माशान्तिको लागि गेसोको अगुवाईमा स्याङ्जाको साल्मेडाँडामा मंसिर ५ देखि ७ गतेसम्म सामुहिक संस्कारको तयारी पुरा भएका बेला बेलायती सेनाध्यक्ष आएका हुन्। यसलाई गेसोले बेलायत विरोधी सन्देश जाने देखेर आफुहरुको योजनाविरुद्व सरकारलाई उक्साउने षड्यन्त्र हुन लागेको भनी टिप्पणी गरेको छ।

गेसो सभापति पदमबहादुर गुरुङले बेलायती सेनाध्यक्षको भ्रमणप्रति शंका व्यक्त गर्दै उनी सहि नियतले नेपाल नआएको दावी गरेका छन्। विभिन्न युद्वमा मारिएका गोखरा सैनिकहरुको यसैसाता साल्मेडाँडामा काजकिरिया गर्नुका साथै संसारकै ध्यान आकर्षण गर्ने गरी स्मारक बनाउने तयारी भइरहेको छ।
गेसो सभापति गुरुङले आफूहरुको पूर्वनिर्धारित काममा बेलायतको इसारामा कुनै अवरोध भए १६-१७ हजार नेपाली बुढाबुढीबाट बेलायती महरानी एलिजावेथको दरबार घेराउ गर्ने चेतावनी दिए। उनले बेलायती शासकबाट कहिलै नझिक्ने वीर गोर्खाहरुलाई अहिले पनि गिराउने षड्यन्त्र भए महारानीको दरबार घेरेर उनीहरुलाई परास्त गर्ने बताए।

गुरुङले हजारौं नेपालीलाई युद्वमा प्रयोग गरेर अँग्रेज (तत्कालिन बेलायती शासक) र राणा (तत्कालिन नेपाली शासक) ले नेपाललाई अहिलेको बर्बादी अवस्थामा पुर्यानएको दावी गरे। यही सन्देश संसारभर पुर्या उन ६० हजार गोरखा सैनिकको सामुहिक काजकिरिया गर्न लागिएको उनले बताए। गुरुङकाअनुसार सामुहिक काजकिरियाका लागि विभिन्न १८ जातजातिका धर्मगुरुसहितको सहभागीतामा आगामी मंगलबारदेखि तीन दिने पितृ उद्वार तथा आत्मशान्ति कार्यक्रम गर्दैछ। संसारमै अहिलेसम्मको ठूलो काजकिरिया हुने दावी गरिएको यसको कारण बेलायत भएको सन्देश संसारभर जाने भएपछि बेलायती सेनाध्यक्ष यसलाई बिथोल्न यहाँ आएको गेसोको आशंका छ।

‘बेलायतले ६० हजार निर्दोष नेपाली युवालाई विभिन्न युद्वमा मानवढाल बनाएर मारेको सन्देश विश्वभर फैलाउन खोजेका छौं’ गुरुङले भने,’नेपाल कहिलै युद्वको पक्षधर मुलुक होइन र बेलायतको उपनिवेश पनि थिएन। तर हाम्रा हजारौं पितापूर्खालाई अर्काको भूमिमा मानवढाल बनाउने बेलायत शासक युद्व अवराधी हो।’

गेसोले स्याङ्जाको फेदिखोला-८ स्थित साल्मेडाँडाको ३ सय रोपनी क्षेत्रफलमा गोरखा स्मारक, गोरखा समाधि, गोरखा संग्रहालय, गोरखा टावर र गोरखा रेल बनाउने पञ्चवर्षे गुरुयोजना तयार गरेको छ। तीन अर्ब रुपैयाँ लागत अनुमान गरिएको उक्त गुरुयोजनाको पहिलो चरणअन्तर्गत आगामी एक वर्षभित्र स्मारक बनाइसक्ने गेसोको लक्ष्य छ।

उक्त योजनाको मंसिर १२ गते विधिवत शिलान्यास हुँदैछ। मंसिर १२ अर्थात् नोभेम्बर २७ गेसोले सन् २००२ मा बेलायती अदालतबाट समान पेन्सनको मुद्वा जितेको दिन हो। प्रधानसेनापति गौरवशम्शेर राणाको निमन्त्रणमा नेपाल आएका बेलायती सेनाध्यक्ष वाल आइतबारै पोखरा आउने कार्यक्रम छ। राजधानीमा राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री बाबुराम भट्टराई र प्रधानसेनापतिसँग भेट गरेपछि पोखरा आउन लागेका उनले यहाँस्थित नेपाली सेनालाई समेत विशेष भेटघाट गर्ने सैनिक स्रोतले बताएको छ।

स्रोतकाअनुसार बेलायती सेनाध्यक्ष वाल आइतबार अपरान्ह ४ बजे नीजि क्षेत्रको जहाजबाट पोखरा आउँदैछन्। उनले आइतबारै रामबजारस्थित वेलफेयर सेन्टर र दीपको गोरखा क्याम्प निरीक्षण गर्ने कार्यक्रम छ। उनी आइतबार साँझ साँग्रिला रिसोर्टमा बस्नेछ। सोमबार गोरखा जिल्लाको भ्रमणमा समेत जाने कार्यक्रम रहेको सैनिक स्रोतले बतायो।

About The Author

Number of Entries : 70

Leave a Comment

© 2009 GAESO, Powered by Kash

Scroll to top