You Are Here: Home » अन्तर्वार्ता » ‘सबैको मूलजरो ब्रिटिस गोरखा हो’

‘सबैको मूलजरो ब्रिटिस गोरखा हो’

 

ब्रिटिस गोरखा भूतपूर्व सैनिक संगठन हङकङका अध्यक्ष हेमप्रताप गुरुङ गोरखा आन्दोलन र सामाजिक अभियानमा अग्रणी र श्रद्धेय नाम हो । सम्बत् २०१६ सालमा खोटाङ, ऐँसेलुखर्कमा जन्मिएका अध्यक्ष गुरुङले हङकङमा भूपूहरूको नेतृत्व गरेर सफलतापूर्वक गोरखा आन्दोलन र अभियानलाई अगाडि बढाइरहेका छन् । गोरखा आन्दोलनसँगै उनी सामाजिक परिवर्तनका आन्दोलनहरूमा उत्तिकै सक्रिय छन् । सैनिक नम्बर २११६३९६१ ब्रिटिस सेनाका यी भूपू गोरखा आन्दोलनका एक जोदाहा हस्ती हुन्, जसले हरेक आन्दोलनमा सफलतापूर्वक नेतृत्व गरेका छन् । हङकङ भूपूहरूका एक असल अभिभावक अध्यक्ष गुरुङसँग विविध विषयमा गरिएको कुराकानीको सारसंक्षेपः
706317_502136033151369_1081430734_o
तपाईं हङकङ कहिलेदेखि हुनुहुन्छ ?
म १७ वर्षदेखि हङकङमा छु । म भर्ती पछि लगत्तै हङकङ आएँ । अवकाश पछि म भूपू ब्रिटिस गोरखाहरूको हकहितका लागि कार्य गरिरहेको छु । सन् ब्रिटिस गोरखा भूपू सैनिक संगठन हङकङको उपाध्यक्ष बनेपछि गोरखाहरूको हकहितको कार्यमा लागि परेको छु । अहिले दोस्रो कार्यकालको लागि अध्यक्षमा पुनर्निर्वाचित भएको छु ।
दोस्रो कार्यकालमा नयाँ कार्ययोजना के छन् ?
अहिले हङकङमा सबै भूपूहरू वृद्ध हुँदै गइरहेका छन् । गोरखा अभियान र आन्दोलनको साथमा वृद्ध भूपूहरूलाई सहयोग गर्ने हाम्रो योजना छ । उनीहरूलाई आर्थिक र भौतिक सहयोग जरुरी बनेको छ । सबै भूपूहरूको अवकाश जीवन सुरु भएकोले संस्थाको तर्फबाट उनीहरूको सहज जीवनयापनको लागि काम गर्ने योजना छ । हङकङमा रहेका सबै गोरखाली समुदायको हकहितको लागि अभियानहरू सञ्चालित गरिनेछन् । गोरखा सन्ततिहरूको लागि पनि सिर्जनात्मक कार्यक्रमहरू गरिनेछन् ।

हङकङमा रहेका भूपूहरूको अहिलेको समस्या के हुन् ?
नेपालको भन्दा त केही राम्रै छ । नेपाल भन्दा अवसरहरू छन् । भत्ता लिएर काम गर्ने मौका छ । वृद्ध भएकोले उनीहरू अब काम गर्न सक्तैनन् । कतिले काम गर्नै पाउँदैनन् भने पाएकाले नियमित गर्न पाउँदैनन् । संस्था बलियो भयो भने भूपू सैनिक र तिनका सन्ततिहरूमा आइपर्ने समस्याहरूको समाधान गर्न सकिनेमा हामी विश्वस्त छौँ, त्यसको लागि संगठनलाई बलियो बनाउँदैछौँ ।

हङकङमा भूपू सैनिक र तिनका परिवार कति संख्यामा कस्तो अवस्थामा छन् ?
हङकङमा बस्ने नेपालीमध्ये ९८ प्रतिशत भूपूका सन्तान हुन् । दुई या तीन प्रतिशत मात्र सीपालु कामदारको रुपमा त्यहाँ छिरेका छन् । भूपू र तिनका सन्तान अधिकारको उपयोगको गर्दै यहाँ छिरेका हुन् । यहाँ गोरखा र तिनका सन्तान प्रायःले आफ्नो काममा स्थायित्व पाइसकेका छन् ।

ब्रिटिसले हङकङ छोडेपछिक खास परिवर्तन के भए ?
नेपालीहरूले आइडी लिएर प्रवेश थालेको सन् १९९८ तिरबाट मात्र हो । जुन समयमा गोरखाहरू सुरक्षा गार्डको रुपमा आउनुपर्छ भन्ने नै सरकारले आह्वान ग¥यो । भूपूहरू दोस्रो जागिरको रुपमा हङकङ जान्थे । कोही बुु्रनाइ जान्थे । अहिले तिनै भूपूहरू बेलायत गएका छन् । ब्रिटिसले छोडेपछि हङकङमा धेरै परिर्वतन भए । हिजो गोरखाहरू प्रायः ब्यारेकमा सीमित थिए, आज शहर र समाजमा आएका छन् र संगठित हुँदैछन् ।

गोरखालीहरूको हङकङ निर्माणमा कस्तो योगदान देख्नुहुन्छ ?
सेनामा रहँदा हामीले हङकङका सीमानाहरू जोगाउन खम्बाको काम ग¥र्यौँ । गोरखा इन्जिनियर्सका गोरखा पल्टनेहरूले बाटाघाटो र पुल बनाउँथे । चीङमा पुल बनाउन सबभन्दा सुरुआत भूमि खन्ने र तार टाँग्ने काम गर्ने काम अवकाशप्राप्त गोरखाहरूले गरेका थिए । एअरपोर्ट निर्माणमा पनि गोरखाहरूको पसिना चुहिएको छ । विकास निर्माण र सुरक्षाको काममा गोरखालीहरूको महŒवपूर्ण सहभागिता छ ।

कति गोरखालीले कति वर्ष काम गरे होलान् आधुनिक हङकङ निर्माणमा ?
ब्रिटिसले समयमा हङकङको जनसंख्या ७ हजार ५ सय थियो । अहिले ७५ लाख पुगेको छ । ब्रिटिसले शासन गरेको १ सय ५६ वर्ष अवधिमा त्यहाँ ५० वर्ष सुरक्षाको भार थेग्ने चाहिँ गोरखाहरू थिए । ५० वर्ष अवधिले तीन पुस्ता छुन्छ । तीन पुस्ताका हजारौँले हङकङ चम्काउन योगदान गरेका छन् ।
अहिले हङकङमा नेपालीहरू ४० हजार छन् । गोरखाहरू सन् १९४८ देखि त्यहाँ जान सुरु गरेका हुन् । त्यसको १५ वर्षपछि मात्र गोरखा ब्रिगेड सुरु भएको थियो । गोरखाहरू सुरक्षाकर्मीको रुपमा आँधी, पहिरो र आगलागीको संकटका बेला घटनास्थलमा उफ्रेर पुग्थे । अहिले हामी गोरखाहरूको योगदानको कदर हुनुपर्छ भनिरहेका छौँ । कतिपय चिनियाँहरू गोरखाहरूलाई नराम्रो दृष्टिले हेर्छन् । त्यसो त नेपालीले पनि केही आचरणमा सुधार गर्नुपर्ने आवश्यकता छ ।

हङकङप्रति गोरखाहरूको अपनत्व भाव छ कि छैन ?
कतिपय गोरखाका सन्ततिमा यो भावना छ । किनभने उनीहरू हङकङमा नै जन्मिएका हुन् । म ३५ वर्ष भयो हङकङ बसेको । हङकङ हामीले बनाएका हौँ भन्ने कुरामा कति हाम्रै सन्ततिहरूले चासो राख्दैनन् । त्यसलाई बुझाउने पक्षमा हामी लागेका छौँ ।

1932792_10202535253695008_1058535678_o

गोरखा आन्दोलनपछि धेरै गोरखाहरू बेलायत लागे, त्यो क्रम जारी नै छ, कुनै दिन गोरखाहरूकै लागि हङकङ विरानो मुलुक त बन्ने होइन ?
भोलिका दिनमा त्यसो नहोला भन्न सकिन्न । हङकङमा नेपाली आगमनको इतिहास खोतल्दा गोरखाहरूको नाम नै अघि आउँछ । हाम्रो संस्था रहिरह्यो भने गोरखाहरूको पहिचान हङकङमा कहिल्यै विलुप्त हुने छैन । त्यसो त गोरखाहरूलाई आफ्नो तैनाथीमा अझै पनि रुचाइने र विश्वास गरिइने हुँदा तत्काल त्यस्तो नहोला भन्न सकिन्छ ।

हङकङमा गोरखाहरूको विरासतबारे सरकार र अरु सरोकारवाला निकायहरू जानकार छन् कि छैनन् ?
छन् नि । राजनीतिक कार्यकर्ता, व्यावसायी सबैलाई जानकारी छ । नयाँ पुस्तामा भने त्यस्तो जानकारी छैन । हङकङ ब्रिटिसले चीनलाई हस्तान्तरण गरेको १५ वर्ष बढी भइसक्यो । उति बेलाको १० वर्षको व्यक्ति अहिले २५ वर्षको भइसक्यो । गोरखाहरूले के गरेका थिए भनेर १० वर्षको बालकले इतिहास सम्झेर राख्दैन । हामी पुरानो पुस्ताले उनीहरूलाई आफ्नो पहिचानको ज्ञान गराउन लागिपरेका छौँ ।

अरु देशका आप्रवासीभन्दा गोरखाहरूलई हङकङले इज्जत गर्नुपर्ने होइन र ?
हो नि । हाम्रो विगतको योगदानलाई बिर्सिइनु हुन्न भनिरहेका छौँ । त्यसो त उपयुक्त तरिकाले हामीले हाम्रा कुराहरू सम्बन्धित ठाउँमा पु¥याउन सकेका पनि छैनौँ । टेबलमा बसेर वार्ता पनि गर्न सकेका छैनौँ । चीनको खतराबाट ब्रिटिसको तर्फबाट हङकङलाई जोगाएको हामीले नै हो । गोरखाहरूले हङकङको लागि के गरे भन्नु भन्दा पनि के गरेनन् भन्नु जायज हुन्छ । टोपी थापेर च्यारिटि गर्ने काम देखि बाटो बनाउने, रुख रोप्ने र विकास निर्माणका आधारभूत काम सबै गोरखाहरूले गरेका छन् । यसको उचित पहिचान गरिनुपर्छ भन्ने हाम्रो मान्यता रहिआएको छ ।

हङकङमा अरु देशका नागरिकहरू बस्ने र गतिविधि गर्ने क्लबहरू रहेछन्, लामो इतिहास भएको गोरखाहरूको क्लब किन छैन ?
हामीलाई हङकङ सरकारले क्लब दिनुपर्ने हो, तर दिएको छैन । हामीलाई क्लब चाहियो भन्दैमा तुरुन्त दिँदैन पनि । हङकङमा भएका नेपाली संस्था मात्रै २ सय बढी छन् । यी संस्थाहरूको आपसमा मेल छैन । हङकङका भएका कुनै पनि संस्थाले कुनै विषयमा मुद्दा उठाउँदा सबैले सहयोग गरेर पुरा गराउने कोशिस गर्नुपर्छ भन्ने हाम्रो भनाई छ । भूपू सैनिकले गरे पनि त्यहाँ रहेको राजनीतिक पार्टी वा महासंघहरूले गरे पनि पाउने त नेपाली नै हो । यद्यपि एकता नहुँदा हामीले पाउनुपर्ने कति कुराहरू पनि गुमाइरहेका छौँ ।

होइन, यस्तो कुरामा नेपालीहरूबीचमा एकता नहुनुको कारण के छ र ?
मुख्य कुरो हङकङमा नेपालीहरूको जरा बस्नु र बसाउनुमा ब्रिटिस गोरखाकै हात छ । भूपू र उनीहरूका आफन्तको साइनोबाट नै नेपालीहरू हङकङ आइपुगेका हुन् । हङकङमा अहिले सबै पार्टीका भ्रातृसंगठन र विभिन्न धार्मिक र जातीय संगठन छन् । सबैले आफ्नो उद्देश्यमा काम गरिरहे पनि सामूहिक रुपमा नेपाली पहिचान गराउने काम कमै भएको छ । फरक विचार भएपछि बरु अन्तरविरोधहरूको होड चल्छ । मूलजरोलाई काट्न खोज्नेहरू पनि निस्कन्छन् । यद्यपि सबैले के बुझ्नुपर्दछ भने मूल जरो लाई काटेर रुख सप्रिदैन । सबै नेपालीहरूको भइपरी आउने समस्याको समाधान गर्न ब्रिटिस गोरखाको योगदान र बलिदानको इतिहास नै भन्दा ठूलो आधार अरु छैन । हामी फिरिङ्गी भएर, लुकेर वा भागेर आएका होइनाँै, हाम्रा पूर्खा अर्थात् भूपूहरूको योगदान र बलिदानको आधारमा आएका हौँ । ब्रिटिस गोरखाको विगतमा वलिदानलाई आधार बनाएर मागहरू अघि सारेमा सरकारले धेरै हदसम्म सम्बोधन गर्न सक्छ । समूह र गुटगत राजनीति र एकअर्काबीचको वैमनस्यताले कहिले कसैलाई पनि हित गर्दैन ।

हङकङका नेपाली संघसंस्था पनि ब्रिटिस गोरखाकै आधारमा निर्माण भएका होलान् नि त ?
हो । नेपाली महासंघ गोरखाहरूकै पृष्ठभूमिमा बनेको हो । यद्यपि यसमा हामीले ‘गोरखा’ शब्दको एजेन्डा सम्म राख्न पाएनाँै । गोरखाहरूकै एजेन्डा समावेश नभएको हङकङको नेपाली महासंघ कस्तो हुन्छ ? अहिले हामी भूपू गोरखाहरू यो महासंघबाट अलग छौँ । हामी अलग भएपछि धेरै संगठन यसबाट बाहिरिएका छन् । हाम्रो समुदायको हितको लागि हामी कुनै काममा शर्त राख्दैनौँ । नेपालको जस्तो राजनीति हङकङमा पनि भएको हुनाले त्यसले निकाश पाउन गाह्रो भइरहको छ ।

गोरखा आन्दोलनमा हङकङको सहभागिता के कस्तो छ ?
गेसो आन्दोलन पच्चीस वर्ष पुगिसकेको छ । यसमा हङकङको तर्फबाट हरेक हिसाबले प्रभावकारी उपस्थिति गरेका छौँ । यो क्रम आन्दोलनको उद्देश्य पूरा नभई टुंगिने कुरा म सबैलाई जानकारी गराउन चाहन्छु । म संसारको जुनै कुनामा रहेका सबै भूपूहरूलाई यो राष्ट्रिय स्वार्थको आन्दोलनमा आर्थिक, भौतिक र नैतिक रुपले सरिक हुन समेत आग्रह गर्दछु ।

गोरखा स्मारकबारे हङकङमा रहेका भूपूहरूको कस्तो प्रतिक्रिया छ त ? यसमा तपाईंहरूको सहभागिता कस्तो छ ?
यसमा हङकङका सबै भूपूहरू सकारात्मक छन् । हामी गेसोसँग नै सल्लाह सम्पूर्ण रुपले योगदान गर्छौँ । कुनै भूपू वा अन्य कसैले यो काममा अवरोध गर्न खोजेमा हामी त्यसलाई सही बाटोमा ल्याउन जिम्मेवार पनि छौँ । स्मारकबारे कतिले जानकारी पाएका पनि छैनन् । यसमा भूपूहरू र अरु नेपालीहरूलाई कसरी सहभागी गराउने भन्ने हाम्रो छलफल भइरहेको छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
आजसम्म गोरखा आन्दोलनमा भएका उपलब्धिहरू सबै गेसोकै कारणले भएका हुन् । अरु उपलब्धिहरू अझै हुनेछन् । यो आन्दोलनमा बाधा गरेर होइन सहयोग गरेर अगाडि बढ्नुपर्छ । साठी हजार बढी गोरखाहरूको नाममा नेपालको साल्मेडाँडामा निर्माणाधीन गोरखा स्मारकमा तन, मन वचनले सहयोग गरिदिनुहुन सबैलाई अनुरोध गर्दछु ।

About The Author

Number of Entries : 13

Leave a Comment

© 2009 GAESO, Powered by Kash

Scroll to top