You Are Here: Home » दृष्टिकोण » दक्षिणपन्थीहरूको जगजगी

दक्षिणपन्थीहरूको जगजगी

                      राजेश राई

Rajesh Rai
दोस्रो संविधानसभासँग जनताको उतिधेरै नयाँ आशा र सपना जोडिएको छैन; छ त उही पुरानै आशा र आग्रह— चाँडै राम्रो संविधान बनोस् । यद्यपि संविधानसभाको अन्तरवस्तुमा विभिन्न वर्ग र समुदायको आ–आफ्नै आशा र आग्रह होलान् । ‘राम्रो संविधान’को परिभाषा र ब्याख्या पनि भिन्न होलान् । संविधानसभामा नयाँ आशा नभए पनि नयाँ दृश्यहरू भने देखिन थालेका छन् । नेपालको चर्को लोडसेडिङको कारण ८ माघमा बसेको दोस्रो संविधानसभाको पहिलो बैठकको दृश्य सायद सबै नेपालीहरूले हेर्न सकेनन् । जतिले हेरे उनीहरू (जो परिर्वतनको पक्षमा लड्दै आए) को मन यो दृश्यले सायद अमिलो भएको हुनुपर्छ ।
संविधानसभाका अध्यक्ष थिए— यसअघि पाँच पटक प्रधानमन्त्री बनेका सूर्यबहादुर थापा । तिनै थापा जसले पञ्चायतको गद्दीमा बसेर प्रजातन्त्रको नारा लगाउनेलाई गोली बर्साउन आदेश दिए, तिनै थापा जसले गणतन्त्रको इन्कलाव गाउनेलाई ज्ञानेन्द्रको सहयोगी बनेर दमन उर्दी जारी गरे । हो, उनै थापा सिंह जस्तै उनी सभाध्यक्षको सिंहासनमा विराजमान थिए । यतिबेला यस्तो लेख्दा कसैलाई छिचरो लाग्ला, तर इतिहास यही हो जो सत्य छ र निर्मम छ । बैठकका अर्का चर्चा र चासोका पात्र थिए, शाही शासनकालका खनायक कमल थापा । जो अझै, राजतन्त्र र हिन्दू राज्यको पक्षमा छन् । त्यो दिन प्रमुख दलका नेताहरूलाई चिन्ता ‘हामी के बोल्छौँ ?’ भन्नेतिर भन्दा पनि ‘कमल थापाले के बोल्लान् ?’ भन्नेमा थियो, किनभने पहिलो संविधानसभाको स्वामित्व ग्रहणको प्रमुख बाधक उनै हुने अनुमान थियो, र भयो पनि त्यसै ।
सूर्यबहादुरले सभाध्यक्षको मन्तव्य दिँदै पहिलो बैठकमा सुशिल कोइराला, झलनाथ खनाल र पुष्पकमल दाहाल प्रचण्डहरूलाई लामो ‘नैतिक शिक्षा’ सिकाए । इतिहासको अवगत गराउँदै वर्तमानप्रति सचेत गराए । उनको भाषण हेरिँरहदा यस्तो लाग्थ्यो, सूर्यबहादुर थापा इतिहासको नायक र वर्तमानको मार्गदशक दुवै हुन्, अरु सबै खलनायक । प्रजातन्त्र र गणतन्त्रका लागि रगत बगाउने नेताहरू गम्भीर भएर उनको ‘नैतिक शिक्षा’ सुनिरहेका थिए । सूर्यबहादुरको नैतिक शिक्षापछि कमल थापाको धम्की सुरु भयो । कमल थापाले ‘रोष्टम’मा बसेर राजतन्त्र र हिन्दूराज्य फिर्ता गर्ने धम्की प्रस्तुत गरिरहँदा सूर्यबहादुर थापा मुस्कुराइरहेका थिए । कमल थापाले अघिल्लो संविधानसभाले गरेका निर्णय लागु नहुने घोषणा गरिरहँदा उनका सभासद्हरूले उत्तेजित भएर ताली ठोकिरहेका थिए । कमल थापाको दाबी छ, ‘१२ बुँदे राजनीतिक प्रक्रियाबाट शुरू राजनीति गलत थियो, जनआन्दोलन गलत थियो । गणतन्त्र, धर्मनिरपेक्ष राज्य र संघीयताको काम छैन । राजासहितको प्रजातन्त्र शासन प्रणाली, हिन्दू धर्म सापेक्ष राष्ट्र नै अन्तिम विकल्प हो ।’ कमल थापाले घुमाउरो शैलीमा जनआन्दोलनलाई गलत भनिरहँदा जनआन्दोलन गर्नेहरू अवाक् थिए । सुन्दर संविधानसभामा यस्तो कुरूप दृश्य देख्दा सहजै अनुमान गर्न सकिन्छ— देश दक्षिणपन्थी यात्रामा लाग्दैछ ।
राजनैतिक दलभित्र मात्रै होईन मिडियामा पनि दक्षिणपन्थी स्वारहरु अझ बढी सलबलाएको देखिन्छ । रेडियो, अनलाइन र पत्रपत्रिकामा दक्षिणपन्थीहरुले कुरुप बिचार वान्ता गरीरहेका छन् । यो वा त्यो कोणबाट घुमाउरो शैलीमा हिन्दु धर्मको पक्ष र संङ्घीयताको बिपक्षमा जनमत र मनोविज्ञन तयार पार्न उनीहरु सक्रिय देखिन्छन् । चुनावअघि कमल थापाले चुनावमा राम्रो सफलता पाए देश मध्यमार्गमा आउने दाबी गर्ने केही मिडियाका मालिक र सम्पादकहरुले घुमाउँरो शैलीमा कमल थापाको पक्षमा जनमत तयार पार्ने प्रयास अझै राखेको देखिन्छ ।
अघिल्लो संविधानसभाले सङ्घीयता बाहेक सबै समस्याहरूको समाधान लगभग खोजी सकेको थियो । एमाले अध्यक्ष झलनाथ खनालका अनुसार ३९ खण्डको संविधान निर्माण गर्ने भन्ने दलहरूबीच सहमति थियो । त्यसमध्ये ३१ खण्डमा दलहरूबीच सहमति भइसकेको थियो । यदि कमल थापाहरूको अवरोध नभए ‘सङ्घीयताको मुद्दामा सहमति जुट्नासाथ संविधान जारी गर्नलाई सहज वातावरण बन्छ, तर त्यो सहज छैन । अब उनको नेतृत्वमा दक्षिणपन्थी प्रहार हुनेवाला छ, जुन दृश्य संविधानसभाको पहिलो बैठकबाट देखिएको छ । अहिले कमल थापा दक्षिणपन्थीहरूको बाहिरी रङ्गमञ्चको नेता हुन्, तर रङ्गमञ्चका भित्री परिदृश्यहरूमा उनी एक्ला भने अवश्य छैनन् । राजतन्त्र बाहेक हिन्दूराज्यको स्थापना, सङ्घीयता र समावेशीतालाई निस्तेज पार्ने उनको अभियानलाई तीन ठूला दलका कतिपय नेताहरूले भरमग्दुर सहयोग गर्नेछन् । कमल थापा मात्रै होइन, प्रमुख तीन दलमा पनि दक्षिणपन्थीहरूको उदय हुनेछ, त्यसबेला सबैभन्दा बढी चुनौती परिर्वतनको पक्षमा रहेका नेताहरूलाई हुनेछ । उनीहरूले दलभित्र र बाहिरबाट हुने दक्षिणपन्थी प्रहारबाट आफू बचेर देशलाई बचाउनु पर्नेछ । उनीहरूको चुनौती नै देशको चुनौती पनि हो ।
kulung.rajesh@gmail.com

About The Author

Number of Entries : 13

Leave a Comment

© 2009 GAESO, Powered by Kash

Scroll to top