You Are Here: Home » गोरखा गाथा » ‘गोरखालीलाई फरक पहिचान र सम्मान’

‘गोरखालीलाई फरक पहिचान र सम्मान’

 

 

ईश्वर गुरुङ हङकङमा परिचित नाम हो । उनको जन्म युद्ध मैदानको रुपमा चर्चित भारतको काश्मिरमा सन् १९६२ मा भएको हो । उनको पुख्र्यौली कास्कीको पुम्दीभुम्दी भए पनि उनका पिता काश्मिरको युद्ध मोर्चामा रहेका बखत युद्धमैदानमै उनी जन्मिएका थिए, जतिबेला उनकी आमा पनि उनका पिताको कार्यक्षेत्रमा थिइन् । भारतीय गोरखा सैनिकका सन्तान उनी युवावयमा उक्लिदै गर्दा ब्रिटिस सेनाका सिपाही बन्न पुगे, र जीवनका उर्वर समय हङकङका सैनिक ब्यारेकहरूमा बिताए । केही समय अघि हङकङमा रहेका पुराना ब्रिटिस गोरखाका ब्यारेकहरू उनीसँगै भ्रमण गर्दा उनले पुराना दिनहरू सम्झिए, ‘यही हो, मैले आफ्नो जीवनको उर्वर समय बिताएको ।’
सैनिक जीवनबाट अवकाश भएपछि पनि उनी हङकङमा नै बसे । हङकङको तीव्र आधुनिक विकासको साक्षी मध्येका एक हुन् उनी । ३४ वर्षदेखि उनी हङकङमा छन्, र सामाजिक आन्दोलन र अभियानमा संग्लन छन् । त्यो भन्दा बढी उनी ब्रिटिस अन्याय विरुद्धको गौरवमय आन्दोलनमा लागिरहेका हस्तीको रुपमा योगदानरत छन् । उनी अहिले ब्रिटिस गोरखा भूतपूर्व सैनिक संघ, हङकङको सचिव छन् ।
उनको लालसा हङकङमा बस्ने गोरखालीहरूको सुखदुःखको साथी बन्नमा केन्द्रित छ । भन्छन्, ‘अधिकारमुखी लडाइँमा हङकङेली नेपालीहरूको सुखदुःखको साक्षी र साथी बनिआएका छौँ, त्यसमा हामी गौरवान्वित छौँ ।’ उनको अर्को परिचय छ, चर्चित नेपाली ब्याण्ड नेपथ्यका गायक अमृत गुरुङका उनी असल अभिभावक हुन्, नाताले मामा पर्ने । अमृतलाई आजको उचाई दिन उनको नेपथ्यमा ठूलो भूमिका छ ।
गोरखा सैनिक आवाजले उनको जीवनका आरोह अवरोहलाई जस्ताको तस्तै उतार्ने प्रयास गरेको छ । उनको यो विगतले आदिवासी बस्तीकोे नेपाली कथा र हङकङमा गोरखा समुदायको योगदान बारे बुझ्न सघाउँछ । उनको कथा उनकै शब्दमाः

 

561559_224460917685968_2047762271_n
भारतको काश्मिरमा जन्मिए पनि मेरो बाल्यकाल कास्कीको पुम्दीभुम्दीमा बित्यो । म ६ महिनाको हुँदा आमा ‘फ्यामिली पास’ सकिएर नेपाल फर्किनुभयो । भारतीय गोरखा सैनिकको कान्छो सन्तान म । मध्यमस्तरको परिवार थियो हाम्रो । उतिधेरै सुख नभए पनि पढ्नकै लागि भने दुःख भएन । गाउँको गण्डकी बोर्डिङ्ग स्कुल हुँदै पोखराको हाइस्कुलबाट टेस्ट पास गरँे । हाल गेसोले निर्माण गरिरहेको ‘गोरखा स्मारक’ जाने बाटैमा पर्छ, पुम्दीभुम्दी । पोखरा सहरको पासैमा रहेको यो एक सुन्दर पहाडी बस्ती हो, जहाँ गुरुङ समुदायको घना बस्ती छ ।
घाँसदाउरा, खेतालापातमै बित्यो साँझ बिहान । दिउँसो विद्यालय । बाल्यकाल रमाइलो थियो । हाम्रो समुदायका अधिकांश मान्छेहरू लाहुरे थिए । सबैभन्दा बढी मान—सम्मान लाहुरेकै थियो भन्नुपर्ला । सबैले आफ्नो मान भएकै मन पर्दोरहेछ । मैले पनि लाहुरेको सपना देखेँ, जुन अनर्थको सपना थिएन, किनभने उतिबेला समाजले लाहुरेलाई नै प्रतिष्ठित व्यक्ति बनाएको थियो । मभित्र पनि समाजको माननीय व्यक्ति बन्ने लालसा बढेर गयो, र म भर्ती हुन गल्लावालकहाँ परीक्षा दिन गएँ । गाउँकै आफन्त गल्लावाल थिए ।
मेरो पढाइ राम्रो थियोे, ज्यान हट्ठाकट्ठा थियो । भर्खरै टेस्ट पास गरेको बेला थियो । गल्लावालको नजर नपर्ने कुरै थिएन । गल्लावालले भने, ‘लौ तिम्रो उमेर पुग्यो, भर्ती हुन जाऊँ ।’ म गल्लावालको साथ लागेर पोखरा झरेँ ।
त्यतिबेला साधारण नापतौल गर्ने, दौड गर्ने, सिटअप, पुसअप, लिखित परीक्षालगायतका परीक्षाचाहिँ हुन्थे, तर अहिलेजस्तो भारी बोकेर दौडिने, डाँडा चढ्ने गर्नुपर्दैनथ्योे । म सन् १९८० मा भर्तीमा छानिएँ । लाहुरे बनेपछि म लगायतलाई पोखराको ब्रिटिस क्याम्पमा दुई महिना राखियो । आधारभुत ज्ञान र तालिमहरू यसै बेला दिइयो । बेलायती झण्डा छोएर कसम खुवाइयो । पोखरामा दुई महिना राखेपछि काठमाडौँको मानभवनमा ल्याइयो । पोखरादेखि काठमाडौँमा समूह बनाएर ल्याइन्थ्यो । दुई दिन काठमाडौँमा राखेर एक रात १२ बजे हङकङ लगियो । पहिलोपल्ट ठूलो हवाइजहाज चढेर भर्ती जाँदै गर्दा छुट्टै उत्साह र खुसी भयो । सबै साथीहरू उत्साहित थिए । एक हिसाबले जीवन सफल भयो भन्ने अनुभूति भयो ।

1185894_357705587694833_299209452_n

आफ्नै घर पोखरामा 


सोचे जस्तो भएन
हङकङ आउँदा अन्तराष्ट्रिय विमानस्थल चेकलाप कोकमा थिएन । यो पछि ब्रिटिसले फर्कने बेला बनाएर गएको हो । त्यसबेला काइतक भन्ने ठाउँमा थियो । बिजुलीबत्ती झिलीमिली भए पनि अहिले जस्तो थिएन, हुने कुरा पनि थिएन । अहिलेका भव्य भवनहरू भएको ठाउँमा समुन्द्र थियो ।
जुनसुकै लाहुरे नेपाल आउँदा पनि रवाफ र सान भने हेर्नलायक हुन्थ्यो । सबैलाई लाग्थ्यो, ‘आहा! लाहुरे हुन पाए !’ त्यही सोचेर लाहुरे भर्ती भएको थिएँ तर जब तालिम सुरु भयो ठ्याक्कै उल्टो पाएँ । तालिम अवधिमा एक छिन पनि नबसौँ, नेपाल फर्किहालौँ जस्तो हुन्थ्यो । जुन कल्पना गरेर म आएको थिएँ, त्यो भन्दा निकै भिन्न पाएँ । सोकोङमा ६ महिना सैनिक तालिम गरेँ । २ महिना अर्को कोर्ष । माथिल्लो पोस्टमा आफ्नो मान्छे हुनेहरूलाई चाँडो घर पठाउँथे । म जस्ता ‘पावरलेस’ लाहुरे ढिलो मात्रै छुट्टीमा जान पाउँथ्यो । हङकङमा आएको चार वर्षपछि मात्रै मैले घर फर्किन पाएँ ।
क्यामेरा, रेडियो र परिवारका लागि कपडा बोकेर गाउँ पुगेको थिएँ । ६ महिना छुट्टी थियो । पारिवारिक भेटघाटमै दुई महिना बित्यो, त्यसपछि मात्र फुर्सदिलो भएँ । ६ महिना छुट्टीमा बस्दा बिहे गरेँ । परिवारसँग छुट्न पटक्कै मन थिएन । बाध्य भएर एक्लै हङकङ फर्किएँ । हङकङ फर्किएलगत्तै हाम्रो पल्टन ब्रुनाइ गयो । ब्रुनाइमा ब्रिटिस पल्टन दुई वर्षकोबीचमा फेरिन्थ्यो, तर हामी १८ महिनामात्रै त्यहाँ बस्यौँ । ब्रुनाइको तैनाथी सकिएपछि फेरि नेपाल फर्किएँ । नेपालको केही समयको बसाइँपछि यसपटक पनि एक्लै फर्किएँ, र क्यासिनोलाइनमा दुई वर्ष बसेँ । त्यसपछि फेरि पल्टन बेलायततिर लाग्यो । बेलायतको अल्टरसटमा हाम्रो पल्टन बस्थ्यो ।
पेन्सन जानेबेला सबैले ‘रि सेटलमेन्ट कोर्ष’ गर्नुपर्छ । पेन्सन गएपछि उसको भविष्य राम्रो होस् भनेर सीप प्रदान गरिन्थ्यो । म आपैmँले यो कोर्ष लिएँ, तर मलाई पेन्सन नभनी छुट्टी भनेर परिवारसँग नेपाल पठाइयो । पछि फर्किने बेला ‘लौ अब मान्छे घटाउने भो तिमी त्यतै बस’ भनेर मलाई काठमाडौँमै बस्न भनियो । फेरि छुट्टी बढाएर बसेँ । त्यतिबेला १३ महिना म छुट्टीमा बसेँ । त्यसैले रिसेटलमेन्ट कोर्ष मैले गर्न पाइनँ । मलाई उनीहरूले जानीजानी त्यो अन्याय गरे । म त्यो तालिम लिनबाट वञ्चित गराइएँ । सन् १९९४ मा अवकाश भएँ । अवकाशपछि म सुरक्षा गार्डका लागि बहराइन गएँ । ६ महिनापछि म हङकङ आएँ । सन् १९९५ देखि हङकङमै निरन्तर रुपमा बस्न थालेँ । ३४ वर्ष भयो म हङकङ बसेको समय ।

524642_363793230419402_325930038_n

परिवारको साथमा 
ती दिन, यी दिन
पहिले लाहुरे सैनिक क्याम्पभित्र सीमित थियो, पिजँडाको सुँगा जस्तै । बाहिर भेटघाट गर्न दिइन्नथ्यो । कदाचित चिनियाँहरूसँग भेटघाट गरेर बोल्यो भने गोराहरूले रिस गर्थे । ‘किन बोलिस् ?’ भनेर सजाय समेत दिन्थे । हामी हङकङको समाज र सामाजिक सम्बन्धबाट बेखबर हुन्थ्यौ । ब्यारेक नै संसार हुन्थ्यो, तर अहिले हेलमेल नगरी र चिनियाँ भाषा नबोली काम बन्दैन । पहिलेभन्दा अहिले आकाश जमिनको फरक छ । अहिलेको हङकङ आफ्नो जस्तो लाग्छ ।
राजनीति सही भए देश विकासको गति कस्तो हुन्छ भन्ने हङकङले देखाइदिएको छ । हङकङले रातारात विकास ग¥यो, र हङकङको विकासमा गोरखा र तिनका परिवारहरूको सहभागिता छ । यहाँका प्रत्येक विकास निर्माणका काममा हजारौँ गोरखाहरूले पसिना बगाएका छन् ।

यस्तो विभेद
त्यतिबेला चिनियाँ सिपाहीले महिनाको सात सय डलर पाउँथे, गोराले त्यो भन्दा धेरै बढी पाउँथे, तर हामीलाई जम्मा ४ सय ५० मात्रै दिइएको थियो । हामी कतिसम्म ठगिएका रहेछौँ भन्ने अहिले सम्झँदा गोराहरूप्रति घृणा जागेर आउँछ । सिपाहीमा अवकाश हुँदा मेरो तलब नेपाली १७ सय ९५ रुपैयाँ मात्र थियो, तर भर्तीमा नै हुँदा हामीलाई यतिधेरै विभेद गरिएको छ भन्ने बारेमा जानकारी थिएन । पछि गेसोले आन्दोलन सुरु गरेपछि मात्रै हामीलाई यतिधेरै विभेद गरिएको रहेछ भन्ने थाहा भयो ।
सुरुमा भर्ती हुँदा हाम्रो बेसिक तलब ३४ पाउन्ड थियो । वर्षेनी बढ्दै जानुपर्ने सन् १९९१ मा भुक्तानी समीक्षा हुँदा त १८ पाउन्डमा झ¥यो । मैले तलब बढ्दै जानुपर्नेमा किन घट्यो भनेर आवाज उठाएँ, तर ‘चुप लाग सिपाही’ भनेर उल्टै मलाई सजाय दिए । हामीले लगातार १५÷१६ वर्ष जागिर गरेका हुन्छौँ, अवकाश हुने बेला लमसम दिँदैनन् । उल्टै पेन्सन कमिट गर्नुपर्छ भनेर जबर्जस्ती हस्ताक्षर गराउँछन् । जताबाट पनि हेपिएका छौँ हामी । गोराबाट हामीमाथि अन्याय र शोषण भएको थाहा पाएपछि सन् १९९५ देखि उनीहरूविरुद्धको आन्दोलनमा सामेल भएँ ।

छैन कुनै चिनो
हङकङमा भारतीय र पाकिस्तानीहरूका क्लब छन्, तर त्यो बेलादेखि लड्दै आएका गोरखाहरूको चाहिँ नामोनिशान छैन । हामी गोरखाहरू भारतीय वा पाकिस्तानी जस्तो गरी यहाँ आएका होइनौँ । हाम्रो विशिष्ट इतिहास, साइनो र सम्बन्ध छ । हाम्रो लामो योगदान र बलिदान पनि छ, तर अहिले हाम्रो नै केही पनि छैन । सबै भएर पनि केही नभएजस्तो भएको छ ।
यस्तो हुनुमा गोरखा अधिकृतहरूको पनि केही कमजोरी रह्यो । ब्रिटिसहरूले छाड्ने बेला हामीलाई ‘यहाँ यस्तो चाहिन्छ’ भनेर कुरा राखेको भए मात्र उनीहरूले इन्कार गर्ने थिएनन्, तर हाम्रा अधिकृतहरू आफ्नो स्वार्थमा मात्रै लागे, पछि देखा पर्ने असरलाई वास्ता गरेनन् । हामीले छाडेर गए पनि हाम्रा सन्तानहरू यहीँ छन्, यिनीहरूलाई केही चाहिन्छ भनेर उनीहरूले कहिल्यै कल्पना गरेनन् । एकदमै दुःख लाग्छ, हामीले त्यही नै माग्न प्रयास गरिरहेका छौँ, कहिले पूरा हुन्छ प्रतीक्षामा छौँ, तर हामी एकदिन अवश्य प्राप्त गर्नेछौ । हाम्रो श्रम परेका ब्रिटिस क्याम्पहरू ब्रिटिस सरकारले हङकङ सरकारलाई बेचेर गएको छ । हामीले पहल ग¥यौँ भने कुनै एउटा क्याम्प हङकङ सरकारले गोरखालीको नाममा दिनेछ भन्ने मलाई विश्वास छ, तर हङकङ सरकारसँग माग राख्यौँ भने पाउन सम्भव छ । पहलको तयारीमा हामी छौँ ।
हङकङका भूपू लाहुरे बूढाहरू पार्कतिर रुमल्लिरहेका भेट्छौँ । जानीनजानी हातको इसाराले बोलिरहेका देख्छौँ, तर हाम्रो एउटा क्लब हाउस भएको भए उनीहरूले हाम्रो समस्याहरूको सम्बोधन भइरहेको छ कि छैन बुझ्न पाउँथे । आफ्नो बुढ्यौली समय बिताउँथे । त्यसैले हामी प्रयासमा चाहिँ छौँ । ब्रिगेड अफ गोरखाज यहीँ थियो, त्यो बेलाका गोरखालीहरूको इतिहास झल्कने खालका कुनै पनि सामग्री यहाँ भेटिँदैनन् । ब्रिटिस यति चलाख थिए कि भएभरका सामग्री आपैmँले बोकेर गए । यहाँका कुनै पनि संग्रहालयमा गोरखालीको पहिचान हुने कुनै चिनो फेला पर्दैन । जबकि हङकङका हरेक विकासका कामहरूमा गोरखालीहरूको उपस्थिति बाक्लो छ । हङकङ सहरको विकासमा भूपू र हङकङमा बस्ने नेपालीको ठूलो देन छ ।
हङकङमै रहेका नेपालीहरूले पनि यी बूढा लाहुरेहरू भनेर हेर्ने दृष्टिकोण नै फरक छ । उनीहरू आफ्नै धूनमा हुन्छन्, हामीलाई कुनै किसिमको सम्मान गरेको पनि पाउँदैनौँ । यिनीहरूकै कारणले हामी यहाँ आएको भन्ने कुरा उनीहरूको दिमागमा कहिल्यै पसेन । संस्कृति यतिसम्म बिग्रिसक्यो कि युवापुस्ता स्वतन्त्र हुन चाहँदैछन्, उनीहरूले आफ्नै बाबुआमालाई पनि बेवास्ता गर्न थालिसके । हामी त्यो दिनको प्रतीक्षामा छौँ, जब हामी उनीहरूलाई भूपू गोरखाकै देनले हामी यहाँसम्म आइपुगेका हौँ भनेर आत्मबोधको अवस्था बनाउनेछौँ । हङकङमा जो जहिले, जसरी आए पनि ब्रिटिस गोरखाहरूकै कारणले आएका हुन् । उनीहरूको साइनो, सम्बन्ध सबै ब्रिटिस गोरखाहरूसँग नै जोडिएको हुन्छ ।

बिरानो बन्दै
पछिल्लो गोरखा आन्दोलनपछि धेरै गोरखाहरू बेलायत गए । नयाँ आउने क्रम ठप्प भएको छ । त्यसैले कुनै दिन हङकङ भूपू गोरखाका लागि बिरानो सहर बन्नेछ । भोलिको हङकङमा भूपूहरूको योगदान र बलिदानको कुरा एकादेशको कथा पनि बन्नसक्छ । भूपूहरूको गुनासो पोख्ने कुनै व्यवस्थित कार्यालय छैन । संस्था छ, तर सम्पर्क स्थान र कार्यालय छैन । कार्यालय बनाउनतिर हाम्रो पहल जरुरी छ, तर म भने झुक्किएर पनि बसाइँ सरेर बेलायत जान्नँ । हरेक वर्ष लन्डन जान्छु, तर त्यहाँ बस्ने मन एकरत्ति हुँदैन । बेलायत यस्तो ठाउँ हो, जहाँ नेपालीलाई सम्मान गर्दैन । सम्मान नहुने ठाउँमा किन जाने ?

प्रस्तुती :- राजेश राई 

About The Author

Number of Entries : 13

Comments (1)

  • Ram

    It’s a true and interesting Ishor bhai was a hard and loyal Gurkha in my platoon as a motor man his skills were our standing but as we all know the boss is right even he is wrong as an Army comrade now he helping to others that’s good news and Rai bhai thanx for creation of life history like that and much appreciated dai Ram Gurung uk

    Reply

Leave a Comment

© 2009 GAESO, Powered by Kash

Scroll to top