You Are Here: Home » दृष्टिकोण » आँसुको इतिहास

आँसुको इतिहास

–राजेश राई

10458972_10203569188382729_4018549329572588837_o

केराबारी मोरङकी शान्तिमाया लिम्बू ८९ वर्षको उमेरसम्म लडाइँमा गएका लाहुरे श्रीमान्को बाटो कुरेर बसिन् । दोस्रो विश्वयुद्धको अन्त्यतिर भर्ती भएका उनका श्रीमान् बाबुराम राई उनको जीवनकालमा कहिल्यै फर्केर आएनन् । २५ वर्षको लक्का जवानीमा छोडेर भर्ती गएका श्रीमान्को अभावले शान्तिमाया जीवनभर छट्पटाइन् । उनलाई जीवनको उत्तराद्र्धसम्म लाग्थ्यो, ‘मेरो लाहुरे कतै फर्केर आउँलान् कि !’ तर, विडम्बना लाहुर गएको श्रीमान्को बारे कुनै खुटखबर नपाई नै २०६८ मा उनको मृत्यु भयो ।
शान्तिमायाले बेलायतको लागि युद्ध लड्न गएको श्रीमान् ज्यूँदो वा मरेका के थिए ? जान्नसम्म पाइनन् । श्रीमान् बेलायतका लागि लड्न गए बापत् उनले श्रीमान्लाई सम्झेर रुन र केही मिडियाहरूलाई बेपत्ता श्रीमान्को बारेमा बताउन बाहेक अरु केही गर्न सकिनन् वा पाइनन् । भन्थिन्, ‘मेरो श्रीमान् ज्यूूँदो छ, या मारिए, मारिए भने कुन पापी देशमा मारिए ? कहाँ कसले मेरो श्रीमानको लास गाड्यो होला !’ मोरङकी शान्तिमाया त्यस्ता हजारौँ लाहुरेनीहरूको प्रतिनिधि हुन्, जो युद्ध लड्न गएका श्रीमान्को प्रतीक्षा गर्दागर्दै बिते । ती अभागी लाहुरेनीहरू, जसले आफ्ना श्रीमान् कहाँ मारिए, कहिले मारिए, किन मारिए ? त्योसम्म जान्न पाएनन् ।
स्व. भिसी लछिमान गुरुङले हिमाल एसोसियन (हिमाल किताब)ले सन् २००२ मा प्रकाशन गरेको ‘लाहुरेको कथा’ पुस्तक निर्माणका वार्ताकार भरतराज पोखरेलस“ग आत्मबयानमा भनेका छन्, ‘बर्माको लडाइँमा गोरखालीहरू कति मरे कति, गोरखालीहरूको लास उठाउने कोही थिएनन्, न घाइतेको उद्धार गर्ने नै । गोरखालीहरूका लास र घाइतेहरूलाई टेक्दै दुश्मनसँग लड्यौँ । ती गोरखालीहरूको लास बर्माको माटोमा बेवारिसे भए, उनीहरूको मृत्युमा खै कसले आँसु बगाए होलान् ?’ भिसी गुरुङले लडेको बर्मा मोर्चा जस्तै कैयन मोर्चाको अग्रपङ्क्तिमा गोरखाहरू थिए, र ती मोर्चाहरूमा हजाराँै गोरखा सैनिक मारिए । युद्धको बेला मारिएका गोरखाहरूको लास गन्ने फुर्सद सम्म ब्रिटिससँग थिएन । दोस्रो विश्वयुद्ध लडेका अर्का पासाङ लिम्बूले पनि सोही पुस्तकको लागि आत्मबयानमा भनेका छन्, ‘बर्माको लडाइँमा एकै ठाउँ ७५ जना गोरखाहरू एकैचिहान भए, तिनका लास उठाउने कोही भएनन्, त्यतिबेला साहै्र मन रोएको थियो ।’

10321696_10152396525006764_8316482281257460534_o

लछुमन गुरुङ र पासाङ लिम्बूले जस्तै जो—जो विश्वयुद्ध लडेर घर फर्किए, उनीहरूले सयाँै नेपालीहरू एकैचिहान भएको देखेका छन् । बिरानो देशमा ढलेका साथीको लासहरू टेक्दै आएका छन् । बाँचेका अभागी गोरखाहरूले साथीको मृत्युुमा आँसुु बगाउने फुर्सदसम्म पाएनन् । पानी माग्दै छटपटाइरहेका साथीहरूलाई छोडेर शत्रुको टे«न्चतिर जाइलागेका छन् । ब्रिटिस साम्राज्य रक्षा र बिस्तारको लागि लड्दा मर्नेहरू जुन हालतमा मारिए पनि, जुन बिरानो देशमा फालिए पनि त्यो फिल्मको एउटा ‘एपिसोड’ जस्तै भयो सकियो, तर युद्धमा जो घाइते भएर आए, उनीहरू दुःखको लामो ‘टेलीश्रृखला’ बने, जसले सबै दर्शकको आशु बगायो ।
धरान १८ शिवमार्गका इन्द्रबहादुर राई, जसले विश्वयुद्धमा बेलायतको दुुश्मनलाई छपाछप सिध्याए । अदम्य बहादुरी देखाएबापत् तक्मा पनि पाए, तर उनले दोस्रो विश्वयुद्धमा लागेको घाउको पीडा जीवनभर सहेर पनि बसे । सन् १९४५ अगस्ट ६ मा इटालीको पोरिभरमा बम पड्किँदा शरीरभरी घाउ लाग्यो । बमको छर्राले घुुँडाको पाङग्रा उडायो । गोलीले टाउकोको हेलमेट समेत छेडेर टाउकोमा घाउ लाग्यो । जब उनी लडाइँका लागि अयोग्य भए, उसलाई सन् १९४७ जुलाई २३ मा घर फर्काइयो । उसलाई एक थान पित्तले भड्डु, पित्ले थाल र एक जोर कपडा दिएर फकाईयो । उनी त्यति समान र घाइते शरीर लिएर घर फर्किंदा २४ वर्षका थिए । २४ वर्षमा अपाङ्ग बनेका राईले मात्रै जीवनभर घाउको पीडा सहेनन्, त्यसको बोझ उसको परिवारले पनि भोग्नु प¥यो । २०६२ सालको फागुन (त्यतिबेला उनी ८५ वर्षका थिए) भेट्दा पनि उनले त्यही इटालीको घाउको पीडा सहेर बसेका थिए । घाउमा भन्किने झिँगा धपाएर बसेका थिए । जीवनको उत्तराद्र्धमा थिए, तर घाउ उस्तै आलो थियो । उनी भन्थे, ‘बेलायती अपराधीहरूले हामीलाई पीडा भन्दा केही दिएनन्, एक बारको जीवनमा घाउ सुुमसुम्याउँदै रुँदै बस्नुु प¥यो ।’ इन्द्रबहादुर राई एउटा प्रतिनिधि पात्र मात्रै हुन्, उनी जस्ता हजारौ लाहुरेहरु अझै पनि पुरानो युद्धको आलो घाउँ बोकेर बाचेका छन् ।

IMG_1898
मिथकजस्तै लाग्ने यस्तो आँसुको इतिहासको प्रारम्भ भएको यही सन् २०१६ मा दुुई शताब्दी पुरा हुँदैछ । अन्त्य कहिले होला ? ब्रिटिसलाई बाहेक कसैलाई थाहा छैन । यही खुशीयालीमा २०१६ मा ब्रिटिस सरकारको अङ्ग बेलायती रक्षा मन्त्रालयले भव्य उत्सव मनाउने तयारी गरेको छ । यो आँसुको इतिहास सन् १८१६ देखि सुुरु भएको हो । सन् १८१६ यताका प्रत्येक युद्धहरूमा गोरखा सैनिकहरूले बेलायतका पक्षबाट लडे । ६० हजारभन्दा बढी मारिए, लाखौँ घाइते भए, हजारौँ बेपत्ता छन् । १३ भिक्टोरिया क्रस, दुुईवटा जर्जक्रस तक्मा सहित ६ हजार ५ सय बहादुरीका विभुुषण पाए । यही दुुई सय वर्षमा गोरखाहरूले जो भोगे, जे गरे । माथिका प्रतिनिधि घटनाहरू तथ्य हुन् ।
आज हामीले पढ्ने पुस्तक वा पढाइने विश्वविद्यालयका पुस्तकहरूमा गोरखा सैनिकहरूको बडो बहादुरी र जादुुगरीका लामो कहानी पढाइन्छ । खुुकुरी चम्काएर संसार थर्काएको कहानी घोकाइन्छ, र भनिन्छ, ‘वीर बहादुर गोरखाली’ तर, त्यो इतिहासको आधा कहानी मात्रै हो । गोरखा सैनिकहरूले आजसम्मको इतिहास आँसुको इतिहास हो । हाम्रा इतिहासकारहरूले इन्द्रबहादुर राईहरूले छपाछप दुश्मन काटेर तक्मा पाएको मात्रै लेखे, र त्यही पढाइयो, तर तिनै इन्द्रबहादुर राईहरू घाइते भएपछि रित्तो हात फर्केको कथा, घर फर्केर जिन्दगीभर घुँुडाको घाउ सुुमसुम्याउँदै रोएर बसेको लेखेनन् । इतिहासको बढी महत्वको पाटो चाहिँ सायद यही घाउ सुुम्सुम्याएको थियो कि ?
गोरखा भर्तीको दुई सय वर्ष पुग्दासम्म गोरखाहरू माथि बेलायती विभेद उस्तै छ । अझै हजारौँ इन्द्रबहादुर राईहरू विश्वयुद्धमा लागेका घाउको उपचार नपाएर बसेका छन् । पेन्सन र अन्य सुविधामा अझै गोरखा माथि ठूलो अन्याय जारी छ । यही अवस्थामा बेलायतले उत्सवको तयारी जारी राखेको छ । गोरखाहरूको अधिकारको लागि लडिरहेको गोरखा भूतपूर्व सैनिक (संघ) गेसोले २९ प्रश्न सोध्दै दुई सय वर्षको उत्सव मनाउन नदिने चेतावनी दिएको छ । बेलायतमा भव्य प्रर्दशन सहित बुझाएको यो चेतावनी सहितको ज्ञापनपत्रको औपचारिक उत्तर आजसम्म बेलायतले दिएको छैन । २०१६ मा उत्सव मनाउनु अघि गोरखा सैनिकहरूलाई बेलायत सरकारले यसको उत्तर दिन अनिवार्य छ । ती २९ प्रश्नहरू सबै तथ्यमा अर्धारित छन्, र मागहरू जायज छन् । यदि, बेलायत सरकारले यी गोरखाहरूको चेतावनीलाई बेवास्ता गरी उत्सव मनाउँछ भने यस्तो उत्सवको विरुद्धमा उभिनु अनिवार्य नै हुन्छ । आफ्नो रगत, पसिना र आँसुको भोज बिथोल्नु बाहेक गोरखाहरूसँग सायद अर्को विकल्प पनि बाँकी रहने छैन ।

खोई ६० हजार गोर्खाली ?
यस अवधिमा कैयौँ युद्धहरू गोरखा सैनिकहरूले लडेका छन्, तर ती युद्धहरूमा कति गोरखा मारिए, कति घाइते भए वा युद्धमा हराए भन्ने तथ्याङ्क बेलायतले अहिलेसम्म पनि सार्वजनिक गरेको छैन । नेपाल सरकारले पनि कुनै चासो देखाएन । विश्वको जनसंख्याको अनुपातमा सबैभन्दा बढी मर्नेहरू गोरखालीहरू नै थिए । तथ्यहरूका अनुसार ती युद्धहरूमा करिब ६० हजार गोरखालीहरूले आफ्नो जीवनको बलिदान गरेका थिए । ती गोरखाहरुकोे सम्झना र सम्मानमा आजसम्म बेलायतले सिन्कोसम्म भाँचेको छैन । युद्धमा एक जना मारिँदा शालिक बनाइन्छ, स्मृति स्थलहरू बनाइन्छ, तर ६० हजारभन्दा बढी गोरखाली मारिदा आजसम्म केही गरिएको छैन ।
ब्रिटिस शासकहरूले हाम्रा पुर्खाहरूको रगत, पसिना र आँसुको समुन्द्रमाथि पानी जहाज दौडाएर देशलाई समृद्ध बनाइरहेका छन्, तर ब्रिटिस साम्राज्यलाई समृद्धिको चुलीमा पु¥याइदिने, ती ६० हजारभन्दा बढी गोरखा सैनिकको इतिहास आज क्रमशः धुमिल बन्दैगएको छ । ती ६० हजारभन्दा बढी लाहुरेको बाटो हेरेर बसेका तिनका आफन्तका आँखामा आँसु सकिएर रगत बग्न थालेको छ, तर पनि तिनको सम्मान त टाढाको कुरा, सोधपुछसमेत छैन ।
ब्रिटिस साम्राज्यको स्वार्थ र समृद्धिका लागि लड्दा मारिएका तिनै ६० हजारभन्दा बढी गोरखाको सम्झना र सम्मानमा गेसोले स्याङ्जाको फेदीखोला–८ स्थित साल्मेडाँडामा ३ गोरखा स्मारक बनाईरहेको छ । उसले ‘गोरखा स्मारक’लाई आन्दोलनकै रुप भनेको छ । गोरखाहरुको दाबी छ, ‘साल्मेडाँबाट ब्रिटिस शासनसत्ताबाट प्रभावित भएर लेखिएको गलत इतिहासको पुनःलेखन गरिनेछ । यहाँ ब्रिटिस साम्राज्यको नश्लवाद र अत्याचारको कथा पनि लेखिनेछ ।’ सम्भवत यसले ब्रिटिस साम्राज्यले गोरखाहरुको बारेमा निर्माण गरेको गलत मानकलाई पनि विस्थापन गर्नेछ, र गोरखा माथिको थोपरिएको गलत विम्ब र पहिचानको विनिर्माण पनि गर्नेछ । यसले केवल गोरखाहरु मात्रै होईन सिङ्गो नेपाली समुदायमाथिको विश्वदृष्टिकोणमा बदलाब ल्याउँनेछ ।

About The Author

Number of Entries : 13

Leave a Comment

© 2009 GAESO, Powered by Kash

Scroll to top