You Are Here: Home » अर्काइभ » (कार्यपत्र) नेपालको बर्बादीको कारण अङ्ग्रेज हुन्, यसको जिम्मा बेलायतले लिनुपर्छ— पदम बहादुर गुरूङ

(कार्यपत्र) नेपालको बर्बादीको कारण अङ्ग्रेज हुन्, यसको जिम्मा बेलायतले लिनुपर्छ— पदम बहादुर गुरूङ

यो कार्यपत्र गेसो सभापति पदम बहादुर गुरूङले गेसोले 23 मे 2016 (9 जेठ 2073) मा काठमाडौंमा आयोजना गरेको गोर्खा भर्तीको वैधानिकता शीर्षकको एक दिवसीय राष्ट्रिय भेलामा प्रस्तुत गर्नुभएको हो । यसमा बुद्धिजीविहरू उदयराज पाण्डे, हिरण्यलाल श्रेष्ठ, झलक सुवेदी, चेतेन्द्रजङ्ग हिमाली, श्यामल, राजेन्द्र महर्जन, प्रा.डा. देवकुमारी गुरूङले टिप्पणी गर्नुभएको थियो । यो भेलाले पाँच बुँदे निश्कर्ष निकालेको छ । 

 

नेपालको बर्बादीको कारण अङ्ग्रेज हुन्
यसको जिम्मा बेलायतले लिनुपर्छ

 To download PDF File of this Paper Click HERE, THE PAPER PRESENTED BY PADAM BAHADUR GURUNG, PRESIDENT OF GAESO ON 23 MAY 2016 KATHMANDU. PDF

प्रस्तोताः

पदम बहादुर गुरुङ
(सभापति)
गोरखा भूतपूर्व सैनिक संघ (गेसो)

प्रस्तावना……………………………………………………………………………………….१

१. ब्रिटिसले नेपालका खास—खास जातिलाई मात्र किन रोज्यो ?…………………………१
२. यसरी गरियो नेपाल र नेपालीहरूको बर्बादीको सुरुवात……………………………….३
३. वीर शमशेरको उर्दी………………………………………………………………………३
४. सन् १९४७ सालभन्दा पूर्व गोर्खाहरूलाई यसरी दास बनाइन्थ्यो………………………५
५. बेलायती सदनले आफ्ना राष्ट्रसेवक सैनिकका लागि दुई खाले कानुन बनाउँछ………५
६. गोर्खाहरूको भागबण्डा…………………………………………………………………….६
७. नेपालबाट मानव तस्करी………………………………………………………………….७
८. गोर्खाको मौलिक संस्कार र आस्थामाथि अतिक्रमण……………………………………..८
९. दोस्रो विश्वयुद्धपछि नेपाल किन गरिब हुँदै गयो ?……………………………………….९
१०. विश्व बैंक र नेपाल सम्बन्धी अध्ययन गर्ने विज्ञहरूको हचुवा रिपोर्ट…………………..११
११. गेसो आन्दोलनको महत्व…………………………………………………………………..११
१२. गोर्खा स्मारक पार्क साल्मेडाँडाको महव…………………………………………………..१२
१३. विदेशीसँग ऋण नमागौँ…………………………………………………………………….१५
१४. रहस्यमय खुशीयाली…………………………………………………………………………१५
१५. राजकुमार ह्यारीको गोर्खा मोह…………………………………………………………….१५
१६. बेलायतको अर्को षड्यन्त्र……………………………………………………………………१७
१७. गेसो आन्दोलनले प्राप्त गरेका उपलब्धिहरू……………………………. …………………१७
१८. नेपालको इतिहासबारे…………………………………………………………………………१८
१९. हामी के चाहन्छौँ ? ………………………………………………………………………….१८

20160523_103629 (2)

प्रस्तावना

भारतीय भूमिमा उपनिवेश बनाएर बसेको बेलायती साम्राज्यले नेपाललाई उपनिवेश बनाएर चीनसँग खतरा मोल्नुभन्दा सुरक्षित उपाय अरु नै खोज्यो । उसले नेपालका तत्कालीन जहानियाँ शासकहरूसँग मोलतोल गरी सित्तैमा नेपाली युवाहरूलाई आफ्नो स्वार्थमा प्रयोग गर्नु नै आफूलाई फाइदा हुने देखेको थियो । राणा शासकहरूले नेपाली युवाहरू बेलायती फौजमा पठाएवापत् बेलायतस्थित उनीहरूकोे निजी खातामा वर्षेनी भा.रु. दश लाख जम्मा गरिदिने सहमति भयो, र यसरी त्यसै बेलादेखि नेपालीहरूको स्वाभिमानमाथि खेल्ने व्यापार सुरुवात गरियो । सुगौली सन्धि गरी नेपालको ठूलो भूभाग भारतीय भूमिमा मिलाइयो । उसले चलाखीपूर्ण ढंगले नेपालसँग दौत्य सम्बन्ध कायम ग¥यो । यसै सन्धिबाट नेपाली युवाशक्तिलाई बेलायती स्वार्थका खातिर बेलायती सेनामा पलायन गर्ने बाटो खुला गरिएको हो । यसबाट नेपालप्रति बेलायती नियत ठीक थिएन भन्ने स्पष्ट हुन्छ । यो नियत हालै बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणका अवसरमा नेपालको संविधानको सवाललाई लिएर जारी गरेको संयुक्त विज्ञप्तिमा झन् प्रष्ट देखिएको छ । यी घटनाहरूबाट बेलायत कहिल्यै पनि नेपालको असल मित्र थिएन भन्ने कुरा हामी सारा नेपालीले बुझ्नुपर्छ ।
र्खा भर्तीको माध्यमबाटै बेलायतले नेपालमाथि आफ्नो अघोषित उपनिवेश कायम ग¥यो । नेपालको युवाशक्तिलाई कौडीको मोलमा खरिद गरेर साम्राज्य विस्तारमा उपयोग गर्ने यो अभियान फरक ढंगले भए पनि अहिले सम्म जारी छ । नेपाली शासकहरूका सत्ता स्वार्थ र बेलायती साम्राज्यको स्वार्थका बीच भएको साँठगाँठले चलेको यो षड्यन्त्रमाथि नेपालमा जेजस्तो बहस हुनु पर्ने हो त्यो भएको छैन । गोर्खा भर्तीको नाममा नेपालीहरूलाई ब्रिटिस सैनिक सेवामा लैजाने कार्यमा आजसम्म कहिल्यै पनि बहसमा नल्याइएका यथातथ्य र त्यसले नेपाली नागरिक र तिनको स्वाभिमान अनि सिंगो देशलाई पारेको अपुरणीय क्षति र दुष्परिणामका बारेमा हामी विश्वसामु सवाल उठाउन चाहन्छौँ ।

१. ब्रिटिसले नेपालका खास—खास जातिलाई मात्र किन रोज्यो ?

अङ्ग्रेजलाई वीर लडाकु चाहिएको थियो भने नेपालसँग युद्ध गर्दा उनीहरू स्वयम्ले देखेका र त्यो जमानामा वीर कहलाइएका खस क्षेत्री छँदै थिए, तर उनीहरूलाई भर्ती गरेन । यसका केही कारणहरू छन् । पहिलो, यी जातिहरू एशियामा बसेका खस आर्य जाति भए पनि वास्तवमा अङ्ग्रेजहरूकै नश्लका थिए । त्यतिबेला उनीहरूको जनसङ्ख्या थोरै थियो, र बेलायतले उनीहरूलाई युद्धमा होमेर मास्न चाहेन । दोस्रो, खसआर्य जातिहरू अलि टाठा थिए र उनीहरूमा आफूमाथि भएको शोषणलाई छिटो बुझ्न सक्ने चेतना थियो, जुन बेलायतका लागि जोखिमको विषय थियो । यही कारण खस आर्य जातिलाई अङ्ग्रेजले भर्ती गरेन ।

अङ्ग्रेजलाई सोझा र इमानदार जनजातिहरू मात्रै चाहिएको थियो भने तराईका एकै क्षेत्रमा बस्ने बहुसंख्यक थारु, राजवंशी र धिमाल छँदै थिए । उनीहरूलाई पनि लगेन । पहाडी भेगका मङ्गोल नश्लका जातिलाई मात्र किन रोज्यो ? यसका विशेष कारणहरू छन् । पहिलो, यी जातिहरू सोझा र इमानदार भएकाले आफूलाई दास बनाएको र शोषण गरेको चाल पाउँदैनथे । दोस्रो, पहाडी भेग ढाकेर बसेका यी जातिहरूको जनसङ्ख्या बढ्दै थियो । यी जातिहरूले लेखपढ गर्ने अवसर पाएमा विद्वान् र वैज्ञानिक हुन्छन्, र शासनसत्तामा पनि हस्तक्षेप गर्छन् भन्ने नेपालका राणा र अङ्ग्रेजलाई राम्रोसँग थाहा थियो । उनीहरू सचेत भएर राजनीति गर्न थाले भने राणा शासक र अङ्ग्रेजलाई खतरा हुन्छ भन्ने कुरा पनि राम्रोसँग थाहा थियो भने उत्तरतिरको छिमेकी मुलुक चीन पनि मङ्गोल नश्लकै जातिहरूको थियो । त्यसकारण नेपालका पहाडी भेगका मङ्गोल नश्लका जातिहरूलाई फैलिन दिनुहुँदैन भन्ने राणा र अङ्ग्रेजको बुझाई थियो । यसैले षड्यन्त्र गरी पहाडका गुरुङ, मगर, राई, लिम्बु र केही तामाङलाई खोजीखोजी ब्रिटिस सैनिक सेवामा लैजान सुरु गरिएको हो ।

नेपालका यी जातिलाई पहाडी भेगबाट विस्थापित गर्ने तत्कालीन राणा शासक र तिनका मित्र बेलायतीहरूको राजनीतिक षड्यन्त्र थियो भन्ने कुराको पुष्टि गर्ने एक ताजा उदाहरण हो वर्तमान नेपालको लोकतान्त्रिक सदनका सांसदहरूले २०७२ साल असोज ३ गते जारी गरेको संविधानमा रहेको नागरिकता सम्बन्धी व्यवस्था । यस व्यवस्थाले ब्रिटिस सैनिक सेवामा वा अन्य कुनै कामले विदेशमा गएर बसेका नेपालीको नागरिकता खोस्ने काम गरेको छ । अहिलेको लोकतान्त्रिक भनिएको सदनले विदेशी सेनामा गएका र विदेशमा काम गरिरहेका नेपालीहरूको बारेमा संविधानमा यस्तो व्यवस्था गर्नु उनीहरूको नैसर्गिक अधिकारको हनन गर्नु हो । किनभने विदेशमा बसेका लाखौँ नेपालीहरू नेपालमा बसेकाहरूभन्दा शिक्षित र सीपयुक्त छन्, र नेपालप्रतिको उनीहरूको लगाव पनि उत्तिकै छ । नेपालप्रति उनीहरूले गर्न सक्ने योगदानको अनेक सम्भावना हुँदाहुँदै उनीहरूले नेपाल र नेपालीलाई माया गर्ने बाटो पनि यो संविधानले टुटाइदिएको छ । अब उप्रान्त उनीहरूको रेमिट्यान्स नेपालमा आउँदैन । यो राष्ट्रको लागि ठूलो घाटा हो । झन् बेलायती सैनिक सेवामा जाने नेपालीहरूको बारेमा जुन निर्णय गरिएको छ, त्यो त सरासर अपराध नै हो । सरकार आफैले आफ्ना नागरिकहरूलाई विदेशी सेनामा पठाउने अवस्था र व्यवस्थाको सिर्जना गरेर आफैले विदेशी सेनामा गएको बहानामा उनीहरूको नेपालको जन्मसिद्ध नागरिक हुन पाउने अधिकारको हनन गरेको छ । यो दुवै मुलुकका शासकहरूले नेपालका मङ्गोल नश्लका जातिहरूलाई उनीहरूको प्राकृतिक अधिकारबाट वञ्चित गर्ने षड्यन्त्र थियो भन्ने कुरा आज झनै पुष्टि भएर आएको छ । राणाशासकले गरेको राष्ट्रहित, जनहित विपरितका कुकार्यलाई लोकतान्त्रिक सदनका सांसदहरूले लालमोहर लगाउने काम गरेका छन् । यसैले सांसदहरूको राष्ट्रियता र जनवादको नाराको वास्तविक अर्थ के रहेछ भन्ने कुरा अब सारा नेपाली प्रष्ट बुझ्नुपर्छ ।

२. यसरी गरियो नेपाल र नेपालीहरूको बर्बादीको सुरुवात

सन् १९१४ मा प्रथम विश्वयुद्ध शुरु भयो । नेपाल र बेलायती साम्राज्यले आ—आफ्ना स्वार्थको निमित्त नेपाली युवाहरूको स्वाभिमानमाथि सौदाबाजी गरे । भारतीय भूमिमा राज गरिरहेका अङ्ग्रेजलाई खुशी पारेर आफ्नो शासनसत्ता टिकाइराख्नु राणा शासकको स्वार्थ थियो भने राणालाई खुशी पारेर सित्तैमा यहाँका युवाहरूलाई आफ्नो सैन्य आवश्यकता पूरा गर्न लैजानु अङ्ग्रेजको स्वार्थ थियो । यी दुई देशका शासकहरूका स्वार्थका निमित्त ऊर्जाशील नेपाली युवाहरू बलिका बोका बन्न पुगेका हुन् ।

राणा शासकले बेलायती गल्लावालाहरूलाई नेपालको गाउँ—गाउँमा पठाएर श्री ३ महाराजको हुकुम भन्दै चौधदेखि चालीस वर्षसम्मका सबै युवाहरूलाई गाउँ नै खाली हुने गरी भारतको कुनाघाट डिपोमा पु¥याउन थाल्यो । उनीहरूका आमाबाबु र जहानपरिवार कसैलाई पनि उनीहरूलाई किन लगिँदैछ भन्ने कुराको जानकारी दिइदैनथ्यो । गल्लाको पछि—पछि लाम लगाएर लगिने युवाहरू स्वयम्लाई पनि कहाँ र किन लगिँदैछ भन्ने बारे केही बताइदैनथ्यो । त्यतिबेला श्री ३ महाराजको हुकुम भनेपछि कसैले सोध्ने हिम्मत पनि गर्न सक्दैनथे । एक्कासी भारतको कुनाघाट ब्रिटिस सैनिक डिपोमा पु¥याएर ‘तिमीहरूलाई लडाइँको लागि ल्याएको हो’ भन्ने कुरा सुनाउँदा ती युवाहरू स्तब्ध हुन्थे । तिनीहरूलाई सामान्य तालिम दिएर युद्धको भुमरीमा होमिन बाध्य तुल्याइन्थ्यो ।

त्यस जमानामा आजको जस्तो सञ्चार माध्यमहरू थिएनन् । लडाइँको मैदानबाट चिट्ठी पठाउने आदेश पनि थिएन । यसरी वर्षौँसम्म आफ्ना आमाबाबु र घरपरिवारले आफ्ना छोरा र श्रीमान् कहाँ लगिएको छ भन्ने अत्तोपत्तो सम्म नपाउँदा वृद्धअवस्थाका आमाबाबु र परिवारजनहरूको मानसिकतामा कस्तो चोट पुग्यो होला ? अर्कोतर्फ वृद्ध अवस्थामा छाडिराखेका उनीहरूका आमाबाबु र परिवारजनसँग वर्षौँसम्म बेखबर भई भोकभोकै युद्ध लडिरहेकाहरूको मानसिक अवस्था कस्तो भयो होला ? यसबाट गोर्खा समुदायमाथि कुन हदसम्मको बाध्यात्मक अवस्था सिर्जना गरिएको थियो भनी अनुमान गर्न सकिन्छ ।

३. वीर शमशेरको उर्दी

नेपाली युवाहरूलाई बेलायती सेनामा कसरी पठाइन्थ्यो भन्ने सम्बन्धमा वीर शमसेरको उर्दी हेरे पुग्छ । अङ्ग्रेज शासकले जनजातिका ३३ हजार युवाहरू पठाइदिनू भनी वीर शमसेरको पालामा अनुरोध गर्दै चिट्ठी पठाएका थिए । त्यही अनुरुप वीर शमसेरले ३३ हजार युवाहरू जम्मा गरी पठाउनू भनी गाउँगाउँमा गल्लावालाहरू खटाइ पठाए । खटिएका गल्लावालले एक महिनापछि जनजातिबाट यति धेरै युवा पु¥याउन सकिएन भन्ने जाहेरी दिएपछि हाम्रा मित्र अङ्ग्रेजले पठाइदिनू भनेपछि हामीले जसरी पनि पठाउनैपर्छ, जनजाति युवाहरू पुगेनन् भने खस—क्षेत्री लगायतका अन्य जातिबाट पनि पठाउनू भन्ने उर्दी गरेको इतिहास साक्षी छ । त्यसपछि मात्र अन्य जातिहरूलाई पनि बेलायती सेनामा लान सुरु गरिएको थियो । नेपालका राणा शासकले यस्तो राष्ट्रघाती परम्परा र कुसंस्कार नबसालिदिएको भए अहिले कुनै पनि नेपाली युवाहरू बेलायती सेनामा छाती नाप्न जाने थिएनन् ।

प्रथम विश्वयुद्ध समाप्त भयो । बेलायतले आफूलाई चाहिने केही गोर्खाहरू राखेर बाँकी सबैलाई नेपाल फर्काउने निर्णय ग¥यो । लडाईंका क्रममा कति मारिए, कति अपाङ्ग भए, कति वेपत्ता भए भन्ने कुराको कुनै सूचना दिइएन । जो जो लडाइँबाट जसोतसो बाँचेर आएका थिए, तिनको वीरता र इमानदारिताको कदर गर्दै तलब, पेन्सन वा क्षतिपूर्ति दिनुपर्नेमा बेलायतले कौडी समेत नदिई रित्तो हात नेपाल पठाइदिएको थियो । यतिसम्म कि युद्धमा लागेको घाउको समेत उपचार नगराई नेपाल फर्काइदिएको हृदयविदारक घटनालाई हामी नेपालीले कहिल्यै पनि भुल्न सक्दैनौँ । प्रमाणको लागि बेलायतका पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ मानवअधिकारवादी इयान म्याकडोनल्डको नेतृत्वमा रहेको सत्यतथ्य छानविन आयोगले पीडित पक्षसँग प्रत्यक्ष भेटी तयार पारेको रिपोर्ट त्जभ ँयचनयततभल ख्भतभचबलक हेरे प्रष्ट हुन्छ ।

जवानी अवस्थामा नेपालका शासक र बेलायती साम्राज्यको स्वार्थको लागि घर छाड्न बाध्य पारिएकाहरू वर्षौँपछि कालको मुखबाट बाँचेर घर आइपुग्दा उनीहरूले आफ्नो घरको विजोग र बर्बादी सिवाय केही पनि देख्न पाएनन् । वृद्ध अवस्थामा छाडिराखेका आमाबुबा छोराको मुख हेरेर मर्ने इच्छा गर्दागर्दैै परलोक भइसकेका हुन्थे । घर, घरबारी, पशुचौपाया बेवारिसे भएर लथालिङ्ग भइसकेका हुन्थे । वर्षौँसम्म आफ्नो श्रीमान् बाँचे या मरेको अत्तोपत्तो नपाएपछि कसैकसैले त घर छाडेर हिँडिसकेका हुन्थे । यी अभागी लाहुरेहरूका घर भत्किएर सिस्नो उम्रिएको हुन्थ्यो । एकातिर आफूले छाड्नुअघिको त्यस्तो खुशहाल परिवारको बेहाल देख्नुपथ्र्यो भने अर्कोतिर विश्वमा बहादुर बनेर बेलायतलाई विश्वको सर्वशक्तिमान बनाइदिँदा पनि उसबाट पशुसरह व्यवहार खेपेर आउनुपर्दा उनीहरूको दशा कस्तो भयो होला ? हामी कसको लागि बहादुर बनेका थियौँ ? कसको लागि जीवनको बलिदान गरेका थियौँ ? आज प्रत्येक नेपालीले नेपाल र बेलायती सरकारसँग यो प्रश्न गर्नुपर्छ । त्यसमाथि पनि यसरी फुटेको कौडी नदिई रित्तो हात नेपाल फर्काइएकाहरूको प्रत्येकको हातमा ‘तीन—तीन महिनामा ब्रिटिस सैनिक डिपो कुनाघाटमा आएर रिफ्रेसर तालिम गर्नुपर्छ, युद्ध भयो भने फेरि आउनैपर्छ’ भन्ने व्यहोराको चिट्ठी थमाइन्थ्यो ।

सन् १९३९ को दोस्रो विश्वयुद्धमा पनि बेलायतले आफ्नो सैनिक उद्देश्य पूर्ति गर्नका लागि दुई लाख पचास हजार नेपाली युवाहरूलाई लगेको थियो । यस युद्धमा पनि गाउँ नै खाली हुने गरी लगेर सामान्य तालिम मात्र दिई युद्धको भूमरीमा होमेको दृष्टान्त हामी कसैबाट छिपेको छैन । यीे दुई विश्वयुद्धमा हजारौँ नेपाली मारिएका छन्, हजारौँ वेपत्ता पारिएका छन्, लाखौं घाइते भएका छन् तर अहिलेसम्म पनि उनीहरूको यथार्थ अवस्थाका सम्बन्धमा घरपरिवारलाई कुनै खबर दिइएको छैन ।

४. सन् १९४७ सालभन्दा पूर्व गोर्खाहरूलाई यसरी दास बनाइन्थ्यो

सन् १९४७ सालभन्दा पूर्व गोर्खाहरूलाई बेलायत सरकारले विना तलब उनीहरूलाई युद्धमा परिचालन गरेको थियो । सन् १९४८ पछि मलायामा लगिएका गोर्खाहरूको लागि बेलायत सरकारले छुट्टै नियम बनायो । केही तलब र पेन्सनको व्यवस्था गरियो, जसमा गोर्खाहरूले बेलायती सार्वभौमिकता, राजमुकुट र जनताप्रति वफादार भई सेवा गर्नुपर्ने सर्त थियो भने उनीहरूले पाउने तलब र पेन्सन नेपालको जीवनस्तर हेरी दिइने व्यवस्था गरिएको थियो । सेवा गर्नुपर्ने बेलायतको तर तलब र सुविधा भने नेपालको जीवनस्तर हेरी दिइने ! यस्तो अन्यायपूर्ण व्यवस्था दुनियाँमा कहीँ छ ? हुन त विश्वमा लोकतन्त्रको जननी मानिने देशले आफ्ना राष्ट्रसेवकहरूलाई उसको रङ्गको आधारमा यस्तो विभेदकारी नीति बनाउनु उसको नैतिकताले दिने कुरा थिएन । तर पैसाको लागि बेलायतले कतिसम्म गिरेर अन्याय गर्दो रहेछ भन्ने कुरा यसैबाट प्रष्ट हुन्छ ।

सन् १९४७ पछि नेपालबाट भर्ती गरी लगिएका गोर्खाहरूलाई विभेदकारी गोर्खा पोलिसी अन्तर्गत राखिएको थियो र उनीहरूलाई बेलायती सैनिक सेवाको मान्यता थिएन । यसरी उनीहरूलाई बेलायत वा उसका उपनिवेशमा पुयाउने काम मेनपावर सप्लाई जति मात्र थियो । त्यसैले गोर्खाहरूको हैसियत भनेको दास सरहको थियो ।

५. बेलायती सदनले आफ्ना राष्ट्रसेवक सैनिकका लागि दुई खाले कानुन बनाउँछ

विश्वले उत्कृष्ट सदन र लोकतन्त्रको जननी भनी मानिने बेलायती सदनले आफ्ना राष्ट्रसेवक सैनिकलाई उसको रङ्ग हेरी जाति र राष्ट्रको आधारमा फरक—फरक सैनिक ऐन कानुन बनाउँछ । बेलायती नागरिकको लागि ब्रिटिस आर्मस् फोर्सेस याक्ट ९द्यचष्तष्कज ब्चmक ँयचअभक ब्अत० अन्तर्गत भर्ती गर्छ, र उनीहरूले सम्पूर्ण सूविधा र अधिकार पाउँछन् । सन् १९४७ साल पछि पनि गोर्खाहरूलाई कानुनी रुपमै शोषण गर्दै दास बनाउने कुत्सित मनसायले गोर्खाली सेनाको लागि छुट्टै ऐन कानुन बनायो । जसलाई गोर्खा पोलिसी ९न्गचपजब एयष्अिथ० भनिन्छ । गोर्खाहरूको लागि बेलायती गोराको भन्दा धेरै न्यून तलब तथा निवृत्तिभरणको व्यवस्था गरेको छ ।

यो विभेदकारी गोर्खा पोलिसी ब्रिटिस संसदले बनाएको हो भने यो सदनलाई के—को आधारमा विश्वको उत्कृष्ट सदन भनेर मान्ने ? यसलाई जातिवादी सदन किन नभन्ने ? यदि यो गोर्खा पोलिसी ब्रिटिस सदनले बनाएको हैन भने गोर्खा ब्रिगेड सरासर गैरकानुनी संस्था हुन जान्छ । यस्तो गैरकानुनी संस्थामा भर्ती गरेर कसैलाई युद्धमा लान पाइँदैन । यसरी जबर्जस्ती लगेमा अन्तर्राष्ट्रिय मानवीय कानुन अनुसार अपराध ठहरिन्छ ।

ब्रिटिस गोर्खा भन्ने बित्तिकै बेलायती सेनामा भर्ती भएका नेपाली नागरिक भनी विश्वले चिन्दछ । यी गोर्खाहरूको जन्मभूमि नेपाल हो भने कर्मभूमि बेलायत हो । जन्मभूमि र कर्मभूमिमा समान अधिकार पाउनु उनीहरूको नैसर्गिक अधिकार हो । तर बिडम्बना, ३० सेप्टेम्बर २००८ का दिनसम्म बेलायती सैनिक सेवाबाट अवकाश लिएर नेपाल फर्केका कुनै पनि गोर्खाहरूलाई बेलायतमा जान रोकिएको थियो । सोही दिनको रोयल कोर्ट अफ जस्टिसका माननीय न्यायाधीस निकोलस ब्ल्याकले तथाकथित त्रिपक्षीय सम्झौतालाई गैरकानुनी ठहर गर्दै खारेज गरिदिएपछि मात्र सबै गोर्खा र तिनका परिवारलाई बेलायत जाने ढोका खुलेको हो । न्यायाधीसको यसै फैसलादेखि मात्र हाल सेवामा रहेका गोर्खाहरूलाई बेलायती सैनिक सेवाको मान्यता दिँदै समान सुविधा दिइएको छ । यो फैसला हुनुभन्दा पहिलेका गोर्खाहरूलाई बेलायत सरकारले दुई सय वर्षसम्म दासको रुपमा राखेको थियो ।

६. गोर्खाहरूको भागबण्डा

सन् १९४७ सालमा बेलायतले भारत छोड्ने बेला दोस्रो विश्वयुद्धमा बाँचेका गोर्खालीहरूलाई तीन देशको बीचमा बेलायतले कति लाने, भारतले कति राख्ने र बाँकी कति जनालाई नेपाल फिर्ता पठाउने भनी पशुसरह भागबिलो लगाएको पाइन्छ । यसरी भागबिलो लगाउने कामका लागि नै त्रिपक्षीय सम्झौता गरिएको बुझिन्छ । मानवीयता र मानवअधिकारको दृष्टिकोणले कुनै पनि मानवलाई यसरी देश—देशको बीचमा भागबिलो लगाउनु कतिको न्यायोचित थियो ? यो एउटा गम्भीर प्रश्न हो ।

यस तथाकथित त्रिपक्षीय सन्धिलाई ३० सेप्टेम्बर २००८ मा बेलायतको रोयल कोर्ट अफ जस्टिसका न्यायाधीसहरूको फुल बेञ्चले गैरकानुनी भनी खारेज गरिदिएको थियो । यस समाचारलाई विविसी, सिएनएन, अलजजिराजस्ता विश्वका प्रख्यात मिडियाले प्राथमिकताका साथ प्रचार गरेका थिए । तर बेलायती सदनका सांसद र नेपालको लोकतान्त्रिक सदनका सांसदहरूले यस सम्बन्धमा कुनै चर्चासम्म नगर्नुको रहस्य बुझिनसक्नु छ । विडम्बनाको कुरा उनीहरूले यसै गैरकानुनी सम्झौताको जगमा मित्रताको दुई सयौँ वर्षगाँठ भनी उत्सव मनाइरहेका छन् ।

यही सन्धिको नाममा बेलायतको भागमा पारिएका गोर्खाहरूलाई मलायामा लगियो । सन् १९४८—१९५६ सम्म मलायाका कम्युनिष्ट गुरिल्लाहरूको विरुद्ध युद्ध लडाइयो । १९६२ मा बु्रनाइको जनविद्रोह दबाउन गोर्खाहरूको प्रयोग गरियो । त्यसपछि इण्डोनेसियाविरुद्ध युद्ध लड्न प्रयोग गरियो । सन् १९६८ मा इण्डोनेसिया र मलेसियाबीच मेलमिलाप भए लगत्तै ७० को दशकमा फेरि ब्रिटिसले सैनिक कटौती गरी आवश्यक परेका केही गोर्खाहरू राखी बाँकी सबैलाई उसको नोकरीको अवधि हेरी रु. ५ हजारदेखि रु. ९ हजारसम्म दिएर नेपाल फिर्ता पठायो । यसरी दिइएको रकम बेलायतको राजकीय कोषबाट दिएको नभई गोर्खा अपिल फन्डको नाममा स्वयम् गोर्खा र तिनका श्रीमतीहरूलाई विश्वसँग चन्दा उठाउन लगाएर उठेको रकमबाट दिइएको थियो । दुई सय वर्षको इतिहासलाई अध्ययन गर्दा विश्वमा युद्धको महामारी फैलिदा हजारौँको सङ्ख्यामा नेपाली युवाहरूलाई भर्ती गरेर युद्धमा होमिन बाध्य पारिएको छ । युद्ध समाप्त भएपछि उनीहरूलाई फुटेको कौडीसम्म नदिई पशुको व्यवहार गर्दै नेपाल फर्र्काउने गरिएको छ । यो कतिसम्मको अन्याय हो ?

७. नेपालबाट मानव तस्करी

कुनै पनि सार्वभौम सत्तासम्पन्न राष्ट्रका सरकारले विशेष कारण विना आफ्ना नागरिकलाई अन्य राष्ट्रको सैनिक सेवामा पठाउँदैन । त्यस्तो कुनै विशेष कारणवश पठाउनु परेमा दुई देशका सरकारहरूबीच आधिकारिक सन्धि सम्झौता गरेको हुर्नुपर्छ । त्यसो गर्दा, पहिले त, आफ्ना नागरिकलाई अन्य देशको सैनिक सेवामा पठाउँदा राष्ट्रलाई फाइदा हुन्छ कि हुन्न भनेर विश्लेषण गरिन्छ । दोस्रो, आफ्ना नागरिकलाई त्यसरी पठाउँदा उनीहरूले पाउने सम्पूर्ण सुविधा र अधिकारको ग्यारेन्टी गरिन्छ । तर नेपाली नागरिकलाई बेलायती सेनामा पठाउने सम्बन्धमा विगत दुई सय वर्षदेखि दुई देशबीच आधिकारिक सन्धि सम्झौता गरिएको छैन । यस्तो राष्ट्रघाती कुप्रथाको सुरुवात जहानियाँ राणा शासकहरूबाट भएको हो । यो अहिलेसम्म पनि जारी छ ।

राजधानीको ललितपुर र पोखराको वडा नं. १६ दीपमा ब्रिटिस गोर्खा सैनिक क्याम्प राखिएको छ । यी क्याम्पहरू राख्ने बारे दुई देशको बीचमा सामान्य अनुमति बाहेक कुनै आधिकारिक सन्धि सम्झौता गरिएको छैन । बेलायतस्थित गोर्खा ब्रिगेड पनि बेलायती सैनिक ऐन कानुन अन्तर्गत नभई विभेदकारी गोर्खा पोलिसी अन्तर्गत राखिएको हो, र नेपालको ब्रिटिस भर्ती क्याम्प र गोर्खा ब्रिगेड दुवै गैरकानुनी संस्था हुन् । त्रिपक्षीय सम्झौता अन्तर्गत गोर्खा ब्रिगेडमा जे जस्ता नियमहरू बनाइएका छन्, ती सबै अदालती फैसलापछि निस्क्रिय भएका छन् । यस्तो अवैधानिक संस्थाबाट नेपाली युवाहरूलाई बेलायती सेनाको नाममा भर्ती गरेर गोर्खा ब्रिगेडमा लगिन्छ । त्यहाँ सैनिक तालिम गराई सकेपछि आवश्यकता अनुसार तेस्रो राष्ट्रमा लगी गोर्खा पल्टन तैनाथ गरिन्छ । त्यहाँबाट कसैलाई युद्धमा प्रयोग गरिन्छ भने कसैलाई त्यस मुलुकको सुरक्षाको बहानामा राखिन्छ, र बेलायतले ती मुलुकबाट अथाह रकम असुल गर्ने गर्छ । यसरी बेलायतले गोर्खाको टाउको गिन्ती मुनाफा कमाउने गतिलो साधन बनाएको छ भने गोर्खा ब्रिगेडलाई बेलायती सेनाको अभिन्न अङ्ग हो भनेर विश्वलाई ढाँटिरहेको छ । अभिन्न अङ्ग हो भनिएन भने गोर्खालाई युद्धमा प्रयोग गर्न पाइँदैन । उदाहरणको लागि अफगानिस्तानको आन्तरिक मामलामा प्रयोग गरिएका र बु्रनाईको सुरक्षाको नाममा त्यहाँ राखिएका गोर्खालाई लिन सकिन्छ ।

उल्लिखित कारणहरूले गर्दा गोर्खा भर्ती वैधानिक नभई मानव तस्करी हो भन्ने निस्कर्षमा पुग्न सकिन्छ । कुनै सार्वभौम मुलुकको स्वतन्त्र नागरिकलाई यसरी ठाउँ कुठाउँ प्रयोग गर्ने अधिकार कसैलाई प्राप्त छैन । स्वाभाविक रुपमा यो अन्तर्राष्ट्रिय सरोकारको विषय हुनुपर्छ । त्यसैले गोर्खा ब्रिगेडको हैसियत, गोर्खा पोलिसी र गैरकानुनी त्रिपक्षीय सम्झौतालाई सार्वजनिक गरी छलफलको विषय बनाइनुपर्छ भन्ने हाम्रो जोडदार माग रहिआएको छ ।

८. गोर्खाको मौलिक संस्कार र आस्थामाथि अतिक्रमण

कुनै पनि जातिको अस्तित्व समाप्त पार्नु छ भने शासक वर्गबाट सर्वप्रथम उसको भाषा र संस्कृतिमाथि अतिक्रमण गरिन्छ । उसको धार्मिक, भाषिक र सांस्कृतिक पहिचानलाई नामेट पारिन्छ । गोर्खाको सन्दर्भमा पनि बेलायतले यही सूत्र लागु गरेको थियो । हामी नेपालका पहाडी भेगका जनजाति हिन्दु होइनौँ भन्ने कुरा दुवै देशका शासकहरूलाई राम्ररी थाहा हुँदाहुँदै अनि उनीहरूले हाम्रो आफ्नै धर्म, विशिष्ट प्रकारको परम्परा र संस्कार रहेको देख्तादेख्तै बेलायतले गोर्खा भर्ती गरेकोे दिनदेखि हाम्रो इच्छा विपरीत ‘हिन्दु गोर्खा’ भनी बलजफ्ती सरकारी डकुमेन्टमा ‘हिन्दु’को ट्याग लगाइदियो । हाम्रो इच्छा विपरीत जन्मदेखि मरणसम्मको संस्कारमा हिन्दु पुरेत राखियो, हिन्दु मन्दिरमा लगेर हिन्दु संस्कारअनुकूल कर्मकाण्ड गर्न लगाइयो र यहाँसम्म कि र पशुको पिसाब खान लगाइयो ।

यता, राणा र अङ्ग्रेज मिलेर हाम्रो मातृभाषामा लेख्न पढ्न पाउने अधिकार छिन्ने काम गरे । ब्रिटिस गोर्खाहरूलाई घरमा पत्राचार गर्दा पनि रोमन गोर्खालीमा लेख्न र पढ्न बाध्य बनाइयो । यसले गर्दा अहिले हामी र हाम्रा सन्तति न हाम्रो मातृभाषामा बोल्न र लेख्न सक्दछौँ, न त हामीले सेवा गरेको मुलुकको कामकाजी भाषा अङ्ग्रेजी नै बोल्न र लेख्न सक्दछौँ । उता, हाम्रो नाममा ‘बहादुर’ थपियो । धेरैलाई थाहा हुनुपर्छ, मङ्गोल नश्लका व्यक्तिवाचक नामहरूमा कहिल्यै पनि ‘बहादुर’ हुँदैन ।

खुकुरी हाम्रो परम्परागत र ऐतिहासिक महत्वको मौलिक हतियार हो । यससँग हाम्रो पहिचान गाँसिएको छ । बेलायतले यसको समेत दुरुपयोग गर्दै विश्वभर आफ्ना दुश्मन तर्साउन प्रयोग गरिआएको छ । यद्यपि डरलाग्दो विषय भर्ती परम्परा नै हो । यसले हामीलाई आफ्नो मातृभूमिको मायाबाट जबर्जस्ती छुटाएर बेलायती सेनामा जाने संस्कार र परम्परा बसालिदिएको छ, र ब्रिटिसभक्त हुन बाध्य तुल्याएको छ ।

आज हामी र हाम्रा सन्ततिहरू संस्कार संस्कृतिविहीन भएका छौँ, र दुवै देशका शासकहरू मिलेर हामीलाई राष्ट्रविहीन बनाइदिएका छन् । बेलायतको सेवाबाट फर्केपछि संसारमा जहाँ गए पनि चौकीदारी भन्दा अरु काममा योग्य नहुने बनाइएको छ । अब हामी र हाम्रा सन्तति हाम्रो गाउँबस्तीमा जान चाहेर पनि जान नसक्ने अवस्थामा पु¥याइएको छ । हामीलाई जिन्दगीभर शिर ठाडो पार्न नसक्ने गरी बेलायत वा नेपाल जहाँ बसे पनि दोस्रो दर्जाको नागरिक भएर बाँच्नु पर्ने अवस्थामा पु¥याइएको छ । यसबाट पनि प्रष्ट हुन्छ कि दुवै देशका शासकहरूले हामीलाई संस्कारविहीन बनाएर हाम्रो जन्मभूमिबाट विस्थापित गर्ने षड्यन्त्र रचेका थिए । यसरी हाम्रो मौलिक संस्कारमाथि अतिक्रमण गर्ने अधिकार बेलायती र नेपाली शासकहरूले कहाँबाट पाए ?

९. दोस्रो विश्वयुद्धपछि नेपाल किन गरिब हुँदै गयो ?

सारा विश्वको विकास दोस्रो विश्वयुद्धपछि दु्रत गतिले अघि बढेको हो । हाम्रा छिमेकी देश भारत र चीनको विकास पनि दोस्रो विश्वयुद्ध पछि नै भएको हो । तर सन् १९४५ सालसम्म विदेशीको एक पैसा पनि ऋण नभएको र प्राकृतिक साधन र स्रोतले सम्पन्न हाम्रो देश नेपाल किन र कसरी गरिब हुँदै गयो ?  विश्व शान्तिका अग्रदूत गौतम बुद्धको भूमि र सर्वोच्च शिखर सगरमाथा लगायतका विश्वका सबैभन्दा अग्ला आठवटा हिमचुचुरा भएको देश नेपाल कसरी सबैभन्दा गरिब मुलुकहरूको सूचीमा प¥यो ? कोशी, गण्डकी र कर्णालीजस्ता हजारौँ नदीनाला र जलस्रोतको धनी नेपाल कसरी विश्वमै दरिद्र मुलुकमा बदलियो ? जैविक विविधता, जडीबुटी र तालतलैया जस्ता प्राकृतिक स्रोतले सम्पन्न देश नेपाल कसरी मगन्ते हुन गयो ?

यी प्रश्नहरूको एउटै सही उत्तर हो— नेपालका तत्कालीन राणा शासकले ऊर्जाशील युवाशक्तिलाई आफ्नो निजी स्वार्थको निमित्त बेलायती सेनामा दासको रुपमा पठाउनु र बेलायतले दुई सय वर्षसम्म नेपाललाई कङ्गाल हुने गरी नेपाली युवा शक्तिलाई दासका रुपमा प्रयोग गर्न पाइरहनु । यही कारणले नै कुनै बेलाका समृद्ध देश नेपाल आज गरिब देशका रुपमा चिनिएको छ । देश विकास युवाशक्तिले नै गर्ने हो, न बालक, न त वयोवृद्धले । त्यतिखेर हाम्रा पुर्खाहरूलाई बेलायती सेनामा नबेचिएको भए आज नेपाल एशियाको सुन्दर फूलबारी हुन्थ्यो । नेपाल विश्वको एक उदाहरणीय मुलुकको रुपमा स्थापित भइसक्ने थियो । जसरी सारा विश्व दोस्रो विश्वयुद्धपछि विकासको बाटोमा दु्रत गतिले अघि बढ्यो, त्यही बाटोमा हामी पनि बढ्ने थियौँ, र अहिले नेपाल विश्वकै सम्पन्न मुलुकहरूमध्येमा पर्ने थियो । गाउँका गाउँ नै रित्तो हुने गरी युवाहरूलाई युद्धमा नपठाएको भए भारतमा स्वतन्त्रता र अधिकारको लागि जनआन्दोलन हुँदा त्यो आन्दोलनको प्रभाव नेपालमा पनि पर्ने थियो । चीनमा जनक्रान्ति हुँदा त्यस क्रान्तिको प्रभाव नेपालमा पनि पर्ने थियो, र उतिबेलै निरंकुश जहाँनिया राणा शासनको अवसान भइसक्ने थियो । दुई विशाल छिमेकी मुलुक चीन र भारतको बीचमा एउटा गतिशील पुलको रुपमा नेपाल स्थापित भइसकेको हुने थियो । जुन बेला नेपालको कुल जनसङ्ख्या ५५ देखि ६० लाखको हाराहारीमा थियो, त्यति न्यून जनसङ्ख्या भएको बेला गाउँ नै खाली हुने गरी ऊर्जाशील युवाशक्तिलाई आफ्नो निजी स्वार्थको लागि विदेशीलाई बेचेपछि देशको विकास कसले गर्ने ? गाउँको गाउँ नै खाली गरेर युवाक्तिलाई विदेश पठाउँदा त्यो गाउँको उत्पादनमा कति ह्रास आयो ?

त्यो जमानामा हजारमा एक जना युवायुवतीले मात्र पढेको भए अहिले कति युवायुवतीहरू शिक्षित बन्ने थिए ? अहिलेसम्म कति विद्वान र वैज्ञानिक भइसक्ने थिए ? हामी र हाम्रो देश कहाँ पुग्ने थियो ? हाम्रो त्यति दरो सामाजिक एकता, सद्भाव, संस्कार र आस्थालाई यस भर्ती परम्पराले समाप्त पारिदियो । मङ्गोल नश्लका जातिले मौका पाए भने कसरी विकास गर्छन् भन्ने उदाहरण त चीन, जापान र कोरियाले विश्वलाई देखाइसकेका छन् । आफ्ना नागरिकलाई विदेश पलायन गराउने कुप्रथाले नेपालको राजनीतिक सङ्घर्ष र विकासलाई प्रतिकूल असर पर्न गयो भन्ने हाम्रो निस्कर्ष रहेको छ । त्यसैले आजको नेपालको दुरावस्थाको जिम्मेवारी बेलायतले लिनैपर्छ ।

अढाई लाख नेपाली युवाहरूले विना कारण अर्काको लागि युद्ध लड्न जाँदा राष्ट्रको उत्पादनमा कति ह्रास आयो ? त्यतिकै सङ्ख्यामा नेपालमा रहेका उनीहरूका प्रियजन र लाखौँ आफन्तहरू विक्षिप्त अवस्थामा बाँच्न विवश पारिएका थिए । यस्तो अवस्थामा बाँचेका उनीहरूले पनि राष्ट्रिय उत्पादनमा योगदान गर्न सक्ने कुरै थिएन । यसबाट पनि राष्ट्रको उत्पादनमा कति ह्रास आयो होला ? युद्धमा गएकाहरू पनि साठी हजारभन्दा ज्यादा मारिएका थिए भने लाखौँको सङ्ख्यामा घाइते वा अङ्गभङ्ग पारिएका थिए । प्रथम र दोस्रो विश्वयुद्धमा विश्वको जनसङ्ख्याको अनुपातमा सबभन्दा ज्यादा क्षति नेपालले व्यहोर्नु परेको थियो ।

यत्रो ठूलो क्षति नेपाल र नेपालीले व्यहोर्नु पर्ने कारण के थियो ? दोस्रो विश्वयुद्धका बेला नेपालको कूल जनसङ्ख्या साठी लाखको हाराहारीमा थियो । त्यस विश्वयुद्धमा बेलायतले नेपालका दुई लाख पचास हजारभन्दा बढी युवाहरूलाई भर्ती गरेको थियो । कूल जनसङ्ख्याको अनुपातमा के यो साधारण सङ्ख्या हो ? दोस्रो, उनीहरू मारिएका, वेपत्ता पारिएका र अङ्गभङ्ग भई मर्नु न बाँच्नुको अवस्थामा परिवारको बोझ भएकाहरूका गणना गर्ने हो भने नेपालले कस्तो प्रकारको क्षति ब्यहोरेको रहेछ भन्ने अनुमान गर्न सकिन्छ । तेस्रो, तिनको यथार्थ हालखबर नपाई चिन्तित रहेका वा अङ्ग्रेजको युद्ध लडेवापत् केही पनि नपाई परिवारको बोझ भएकाहरूले उत्पादनशील काम गर्न सक्ने प्रश्नै थएन । यस निराशाजनक अवस्थामा तिनका आफन्तहरूले उत्पादनमूलक काम गर्न सक्ने कुरै भएन । यसले मुलुकको कूल उत्पादन घट्तै जानु स्वाभाविक थियो । चौथो, अङ्ग्रेजले उपनिवेश बनाएका र युद्धग्रस्त भनी घोषणा गरिएका कतिपय मुलुक आज विश्वकै धनी र समृद्धशाली भएका छन् । तर युद्धको पक्षमै नरहेको नेपाल किन यति गरिब भयो भन्ने कुराको खोज गर्ने हो भने बेलायतले नेपालको सबैभन्दा ऊर्जासम्पन्न र उत्पादनशील जनशक्तिको हत्या गरेकै कारणले नेपाल आज लाजैमर्दो गरी गरिब मुलुकमा दरिनु परेको निस्कर्ष निस्कनेछ । यस सम्बन्धमा हाम्रा अर्थविद्हरूको मौनता पनि रहस्यमय लाग्दछ ।

त्यतिखेरको त्यो खरबौँको क्षतिको भारले अहिले पनि राष्ट्रलाई असर पारिरहेको छ । अहिले हामी हर कुरामा परनिर्भर हुन बाध्य भएका छौँ । किन यस सम्बन्धमा नेपालका अर्थशास्त्रीहरूले ध्यान नदिएको ? खोई यस सम्बन्धमा नेपालका मानवशास्त्री र इतिहासकारहरूको ध्यान पुगेको ? ऐतिहासिक सत्यको जगमा अनुसन्धान गर्नुपर्ने हाम्रो प्राज्ञिक वर्गले दुर्भाग्यवश या त यस सत्यको बोध गरेका छैनन् या आँखा चिम्लेका छन् ।

१०. विश्व बैंक र नेपाल सम्बन्धी अध्ययन गर्ने विज्ञहरूको हचुवा रिपोर्ट

सन् १९४५ सालसम्म विदेशीको एक पैसा ऋण नभएको खाद्यान्न निर्यात गर्ने देश थियो नेपाल । प्रत्येकको घरमा गोठका गोठ गाई भैँसी, भेँडा, बाख्राहरू थिए । हाम्रो आत्मनिर्भर अर्थतन्त्र थियो, चलनचल्तीको मुद्रा चाँदीको थियो, नेपाली मुद्रा र बेलायती पाउण्डको मूल्य बराबर थियो । हामीलाई आवश्यक पर्ने लत्ताकपडा हामी आफै उत्पादन गथ्र्यौँ भने त्यो देश कसरी तन्नम गरिब हुन पुग्यो ? तत्कालीन शासक श्री ३ जङ्गबहादुर राणा बेलायत भ्रमणमा रहँदा एकजना नर्तकीलाई विश्वका सबैभन्दा धनी बादशाहले भन्दा पनि दुई गुणा बढी बक्सिस दिएको कुराले पनि नेपाल त्यतिबेला कति धनी थियो भन्ने प्रमाण दिन्छ । सारा विश्वको विकास दोस्र्रो विश्वयुद्ध पछि हुने, अनि साधन र स्रोतले सम्पन्न र कला संस्कृतिले समृद्ध रहेको देश नेपालको अधोगति हुँदै अहिलेको अवस्थामा आइपुग्नुको कारण के हो ? यसबारे गहन खोजीनीति र वास्तविक इतिहासको अध्ययन नै नगरी नेपाललाई तन्नम गरिबको सूचीमा राख्नु नेपालसम्बन्धी अध्ययन गर्ने विद्वान्हरूको ज्ञान शून्य भए बराबर नै हो । बेलायती सेनामा पठाउनुपूर्व नेपाल र नेपालीको जीवनस्तर कस्तो थियो, बेलायतले यी युवाहरूलाई लान सुरु गरेपछि यी जातिका गाउँहरू कसरी उँधो लाग्न थाले भन्ने कुराको सत्यतथ्यको अध्ययन गरे मात्र नेपालको वास्तविक आर्थिक, राजनीतिक र सामाजिक इतिहास आउँछ । यो कुरा संयुक्त राष्ट्रसङ्घ लगायत विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका विज्ञका साथै बेलायत र नेपालका विद्वान्, अर्थविद् र इतिहासकारहरूले राम्रोसँग बुझ्नुपर्छ ।

११. गेसो आन्दोलनको महत्व

ब्रिटिस गोर्खा भूपू सैनिकहरूलाई केही सुविधा बढाईपाऊँ भन्ने उद्देश्यले मात्र नभई दुई शताब्दीसम्म बेलायतका लागि लड्दै हिँडेवापत् हामी र हाम्रो राष्ट्रले के पायौँ, र के गुमायौँ भन्ने सम्बन्धमा नै केन्द्रित रहेर गेसो आन्दोलनको सुरुवात गरिएको हो । राष्ट्रले हल गर्नुपर्ने यति महत्वपूर्ण मुद्दालाई लाहुरेहरूको सानो संगठनले हल गर्ने चेष्टा गरेको छ, र राष्ट्रका लागि ठूलो उपलब्धि हासिल गरेको छ । गेसोले आन्दोलन र कानुनी लडाईंका लागि चाहिने खर्च आफ्नै वर्गहरूबाट उठाएर लडेको हो । हामीले अहिलेसम्म बेलायतसँग झुकेर कुनै प्रकारको माग राखेका छैनौँ । हामी एक पेशागत संगठन भएर पनि नेपालको सडकदेखि शान्तिपूर्ण आन्दोलन गर्दै राष्ट्र सङ्घको मुख्यालय जेनेभा, जातिवाद र रङ्गभेद विरुद्धको विश्वसम्मेलन जोहानेस्बर्ग, बेलायतको सडक, अदालत र सदनसम्म वैधानिक तथा न्यायिक लडाइँ लडेर नेपाल र बेलायती साम्राज्यले वर्षौँदेखि दास बनाएर राखेका गोर्खाहरूलाई मुक्त गर्दै पूर्ण अधिकार दिलाउन सफल भएका छौँ ।

गेसो आन्दोलन सुरु हुँदा एक जना सिपाहीको मासिक पेन्सन १५ सय र अफिसरहरूको ३ हजार रुपियाँ मात्र थियो । अहिले एक जना सिपाहीको मासिक पेन्सन ४० हजारदेखि अफिसरहरूको डेढ लाखसम्म पुगेको छ । नेपालमा असहाय अवस्थामा रहेका वृद्ध अवस्थाका बुढाबुढीहरूलाई बेलायतमा पु¥याएर निःशुल्क स्वास्थ्य सेवादेखि लिएर त्यहाँको काउन्सिलबाट पाउने सुविधा दिलाएका छौँ । अठार वर्ष नाघेका हजारौँ बेरोजगार युवायुवतीहरूलाई बेलायतमा आवासीय भिसा सहित काम गर्न पाउने अधिकार दिलाएका छौँ । यी वृद्धवृद्धाहरू सबैले नेपालमा रहेका परिवारका नाममा आफ्नो पेन्सन लेखाएका छन्, र बेलायत गएर आफूले खाइपाइ आएको भत्ताबाट बचाउँदै प्रत्येकले मासिक नेरु. ५० देखि ७० हजारसम्म नेपाल पठाउने गरेका छन् । यो सङ्ख्या २०÷२२ हजारको हाराहारीमा छ । यसबाट नेपालमा वार्षिक कति रकम भित्रिँदो रहेछ भन्ने कुरा नेपालका अर्थशास्त्रीहरूले हिसाब गरे हुन्छ । हामीले गेसो आन्दोलनका माध्यमबाट नेपालीको स्वाभिमान र राष्ट्रिय छविलाई विश्वसामु उच्च बनाएका छौँ । विश्वको सामु हामीले राष्ट्रिय स्वाभिमानको प्रश्न उठाएका छौँ, र जबर्जस्ती अङ्ग्रेजभक्त बनाइएका गोर्खाहरूको राष्ट्रिय स्वाभिमानलाई बिस्तारै फर्काउने प्रयास गरिरहेका छौँ । यसकारण यो आन्दोलन लाहुरेहरूको मात्र नभई राष्ट्रिय स्वाभिमानको आन्दोलन हो ।

१२. गोर्खा स्मारक पार्क साल्मेडाँडाको महत्व

यो योजना राष्ट्रिय गौरव तथा अन्तर्राष्ट्रिय सरोकारको बहुआयामिक, बहुउद्देश्यीय, ऐतिहासिक तथा सांस्कृतिक योजना हो । एक सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकलाई विना कारण नेपालका शासक र बेलायती साम्राज्यको निजी स्वार्थको लागि नेपालसँग सरोकार नै नभएको प्रथम र दोस्रो विश्वयुद्ध लड्न पठाइयो, र त्यस क्रममा १९ जातजाति जनजातिका साठी हजार भन्दा ज्यादा गोर्खा मारिएका छन् । हजारौँ अङ्गभङ्ग र वेपत्ता पारिएका छन् । त्यसरी मारिएका वा वेपत्ता पारिएकाहरूको सम्बन्धमा अहिलेसम्म पनि मरे वा युद्धमा हराए भन्ने कुनै सूचना नदिइएकाले आफ्ना परिवारजनले काजकिरिया पनि गरेका थिएनन् । आफ्ना प्रियजनहरू फर्केर आउलान् भन्ने आशामा प्रतीक्षा गरिरहेका हजारौँ बज्युहरू पनि अधुरो सपनामा नै परलोक भए । उनीहरूको पनि काजकिरिया गर्ने कोही भएन । त्यसैले गेसोले अर्काको निमित्त विदेशी भूमिमा गएर युद्ध लड्दा मारिएका साठी हजारभन्दा ज्यादा र वेपत्ता पारिएका लाखौँ पुर्खाहरू र प्रतीक्षा गर्दागर्दै परलोक भएका हजारौँ बज्यूहरूको आत्मालाई स्वर्ग तार्ने उद्देश्यले २०६९ साल मङ्सिर ५ गतेदेखि तीन दिनसम्म १९ जातका धर्मगुरु र कन्याहरू साल्मेडाँडामा भेला भई आ—आफ्नो जातीय संस्कार अनुसार काजकिरिया सुसम्पन्न गरेका छन् । त्यसै अवसरमा उन्नाईस जातका कन्या र धर्मगुरुहरू तथा लुम्बिनीका भिक्षुहरूको ठूलो समूहले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विदेशी भूमि र स्वदेशी भूमिमा काजकिरिया नपाई भौँतारिरहेका आत्मालाई साल्मेडाँडामा ल्याई स्वर्ग तारेको घोषणा गरेका थिए । साथै उनीहरूले यस भूमिलाई हजारौँ पितृका आत्माले बास गरेको पवित्र भूमि तथा तीर्थस्थल भनी घोषणा गरेका थिए । समारोहमा लुम्बिनीका भिक्षुहरू र प्रमुख अतिथिका रुपमा नेपालका ख्यातिप्राप्त अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सहभागिता जनाएका थिए । यी पितृहरूको सम्मान तथा सम्झनामा यसै पवित्रभूमिमा चरणबद्ध रुपमा विश्वकै अद्वितीय गोर्खा स्मारक पार्कको निर्माण भइरहेको छ । स्याङ्जा जिल्लाको फेदीखोला गाविस वडा नं. ८ मा स्थित ३०० रोपनी क्षेत्रफल भएको यो क्षेत्र स्थानीय समुदायले स्मारक निर्माण गर्नका लागि निःशुल्क प्रदान गरेका हुन् । यो गुरुयोजना विभिन्न ५ चरणमा सम्पन्न हँुदैछ । यसको डिजाइन प्रख्यात आर्किटेक्ट शंकरनाथ रिमालले तीन वर्ष लगाएर गर्नुभएको हो ।

प्रथम चरण—

विश्वकै विशाल गोर्खा समाधिको निर्माण युद्धमा मारिएका र वेपत्ता पारिएका तथा नेपालमा प्रतीक्षा गर्दागर्दै परलोक भएका हजारौँ बज्यूहरूको मान र सम्मान तथा सम्झनामा विगत तीन वर्षदेखि द्रुत गतिमा भइरहेको छ । प्रथम चरणको निर्माण कार्य ८० प्रतिशत पूरा भइसकेको छ । यसको निर्माण सकिएपछि विश्वको ध्यानाकर्षण हुनेछ । विश्वले जान्नु पर्ने तर अहिलेसम्म नजानेको र नेपालीहरूले थाहा पाउनैपर्ने तर अहिलेसम्म थाहा नदिई लुकाइराखिएको रहस्यको पर्दाफास यसले गर्नेछ । त्यसपछि प्र्रत्येक नेपालका युवायुवतीहरूले प्रश्न गर्नेछन् कि हाम्रा पितापुर्खाहरूलाई कहाँ लगेर के का लागि मारियो ? उनीहरूले लडिदिएर विश्वले शान्ति पायो, विश्वको विकास दु्रत गतिले अघि बढ्यो, तर हामी र हाम्रो देशले के पायो भनी शिर ठाडो पारी बेलायतलाई औँलो ठड्याउनेछन् ।

दोस्रो चरण—

यस चरणमा विश्वकै ऐतिहासिक सङ्ग्रहालय निर्माण हुँदैछ । सङ्ग्रहालयमा नेपाली युवाहरूलाई बेलायतले लैजानुपूर्व उनीहरूको जीवनशैली, संस्कार, संस्कृति कति सम्पन्न र समृद्ध थियो भन्ने देखाइनेछ । बेलायतले ती युवाहरूलाई गाउँका गाउँ नै खाली गरी लान सुरु गरेदेखि त्यस जमानाको हराभरा र उब्जाउ भूमि र सामाजिक एकता तथा सद्भावलाई समाप्त पार्दै अहिले आएर कसरी खण्डहर बनाइयोे भन्ने इतिहास देखाइनेछ ।

तेस्रो चरण—

उन्नाईस जातजातिका आ—आफ्ना जातीय चिनारी गराउने घरहरूको निर्माण गरी एक सांस्कृतिक ग्रामको निर्माण हुँदैछ । पहिले हाम्रो जातीय संस्कार संस्कृति तथा मौलिक पहिचान कस्तो थियो भन्ने चित्रण यस सांस्कृतिक ग्राममा रहनेछ । युवायुवतीहरू प्रत्येक घरमा आ—आफ्ना मौलिक संस्कारको भेषभुषा र पहिचानमा बस्नेछन्, र अध्ययन गर्न आउनेहरूलाई आफ्नो संस्कारबारे बताउनेछन् । यो सांस्कृतिक ग्राम नेपालका समाजशास्त्र र मानवशास्त्रका अध्येताका लागि एक खुला विश्वविद्यालय जस्तो बन्नेछ । यसबाट राष्ट्रिय एकता र जातीय सद्भाव मजबुत बन्नुका साथै सयौँ युवायुवतीले रोजगार पाउनेछन् ।

चौथो चरण—

यस चरणमा एक सय पैतीस फिट अग्लो टावर बन्नेछ । टावरको माथि तीन सय जनाको क्षमता रहेको रेस्टुरेन्ट रहनेछ । यस टावरबाट धौलागिरी, माछापुच्छ«े, अन्नपूर्णदेखि लमजुङ र गणेश हिमालसम्मको अवलोकन नजिकैबाट गर्न सकिनेछ । यसको अर्को महत्व सूर्योदय र सूर्यास्तको अवलोकन गर्न पाउनु पनि हो । यसले वार्षिक हजारौँ पर्यटकहरूलाई आकर्षित पार्नेछ । फलस्वरुप सयौँ युवायुवतीहरूलाई रोजगारीको अवसर प्राप्त हुनेछ ।

पाँचौँ चरण—

यस चरणमा रामकोटदेखि मट्टीखान हुँदै भरतपोखरीसम्म चल्ने पाँच डिब्बाको रेलमार्ग बन्नेछ । यहाँबाट पोखराको रमणीय दृश्यदेखि लिएर विश्वकै पर्यटकीय क्षेत्र पोखरा र हिमशृङ्खलाको अवलोकन गरी मनोरञ्जन लिन पाइनेछ । यसले पनि विश्वका पर्यटकहरूलाई आकर्षित गर्नेछ, र नेपालको अर्थतन्त्रमा टेवा पुग्नेछ साथै सयौँ युवायुवतीले रोजगार पाउनेछन् ।

प्रथम चरण अन्तर्गत समाधिको निर्माण पूरा भएपछि हामी विश्वलाई गोर्खा भर्तीको वास्तविकता बुझाउन सक्नेछौँ । अनि विश्वले भर्तीको नाममा गोर्खालाई दुई सय वर्षसम्म गरेको व्यवहारबारे राम्ररी बुझ्नेछ । संसारले नेपाल र नेपालीको गरिबी र बर्बादीको वास्तविक कारण थाहा पाउनेछ । त्यसपछि विश्वले नेपाल र नेपाली प्रति हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन आउनेछ । अहिलेसम्म स्वयम् हामी भूपू सैनिकहरूले आफ्ना छोराछोरीको गाँस काट्दै करिब रु. आठ करोड उठाएर यसको निर्माण गरिरहेका छौँ । यो राष्ट्रिय गौरव तथा अन्तर्राष्ट्रिय सरोकारको ऐतिहासिक सांस्कृतिक योजना पनि भएको हुनाले मूलतः नेपालीहरूकै सहयोगले निर्माण सम्पन्न गर्नुपर्छ भन्ने हामीले ठानेका छौँ । त्यसैले देशभित्र र विदेशमा रहेका सम्पूर्ण नेपालीहरूले स्वेच्छिक आर्थिक सहयोग गरौँ । हामीले महामहिम राष्ट्रपतिज्यू अनि सम्माननीय प्रधानमन्त्रीज्यूदेखि सर्वसाधारणसम्म तथा उद्योगपतिदेखि सामान्य व्यापारीहरूसँग समेत आर्थिक सहयोगको अपेक्षा राखेका छौँ । यो गौरवमय योजनामा हामी नेपाली एक भएर विश्वलाई उदाहरण देखाउन सक्छौँ । निर्माण सम्पन्न भइसकेपछि नेपाल र नेपालीको छवि विश्वसामु उच्च हुनेछ । यस योजनामा हामी नेपाली एक हौँ । (विस्तृत जानकारीको लागि www.gmtnepal.com हेर्न सकिनेछ)

१३. विदेशीसँग ऋण नमागौं

हामीले कसैसँग ऋण माग्नु जरुरी छैन । आफू र आफ्नो राष्ट्रको बर्बादी गर्दै बेलायतलाई लगाएको गुन र उसको लागि बगाएको रगत र दिएको बलिदानको हरहिसाब खोजे पर्याप्त हुन्छ । हामीलाई दुई सय वर्षसम्म दास बनाएर हाम्रो अदम्य साहसलाई विश्वभर प्रदर्शन गरेर गोर्खाहरूको नाममा अथाह रकम ब्रम्हलुट गरी बेलायतको ढुकुटीमा थुपारेको रकमको हरहिसाब खोजे मात्र पनि हामीलाई पुग्छ । बेलायतको समृद्धि र राजदरबारका इँटाइँटा हाम्रो रगत र बलिदानले भिजेका छन् । आजको बेलायती शासकको चुरीफुरी हाम्रो बलिदानमा अडेको छ । त्यसकारण हामीले हाललाई बेलायतसँग सन् १९४५ भन्दा पूर्वको हरहिसाब बाँकी राखेरै भए पनि सन् १९४८ देखि १९९७ सम्म हङकङ, मलाया, सिंगापुर र हाल बु्रनाईमा गोर्खा पल्टन राखेर ती मुलुकहरूबाट गोर्खाहरूको नाममा के कति रकम असुल गरी लिएको छ, त्यसको मात्र हरहिसाब खोजे हामीलाई पर्याप्त
हुन्छ ।

१४. रहस्यमय खुशीयाली

केही समयअघि नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा बेलायत गएर समकक्षी सँगसँगै बसेर बडो खुशी मनाउँदै मनोरञ्जन गरिरहेको दृश्य देख्न पाइएको थियो । मन्त्री महोदय, यो खुशीयाली के को उपलक्ष्यमा हो ? के आफ्ना नागरिकलाई दुई सय वर्षसम्म दास बनाएको उपलक्ष्यमा यस्तो खुशी मनाइएको हो ? हामी त भन्छौँ— तपाईंहरूले जुन किसिमको खुशीयाली मनाउँदै हुनुहुन्छ, त्यो त युद्धमा मारिएका, वेपत्ता पारिएका र अहिलेसम्म पनि बेखबर पारिएका साठी हजार भन्दा ज्यादा नेपालीहरूको रगतमाथिको रजाइँ थियो । हाम्रो रगत र पसिनामाथि मोजमस्ती गर्ने अधिकार तपाईंहरूले कहाँबाट पाउनुभयो ? नेपालीहरूले दुई सय वर्षसम्म बेलायतको वफादारीपूर्ण सेवा गरे, तर नेपाल र नेपालीहरूले बर्बादी सिवाय केही पाएनन् । के यही बर्बादीका लागि तपाईंले खुशी मनाउनु भएको हो ? बेलायत खुशी हुनका लागि त कारण छ— उसले कौडीको भाउमा नेपालबाट खसी बोका खरिद गरेझैँ युवाहरू खरिद गरेर युद्धमा प्रयोग गर्न पाएको छ, र गोर्खाहरूको नाममा ब्रम्हलुट गर्न पाएको छ । तर नेपाल सरकार किन खुशी हुने ? यही नै हाम्रा लागि रहस्यको विषय भएको छ ।

१५. राजकुमार ह्यारीको गोर्खा मोह

नेपाली युवाहरूले बेलायती साम्राज्यको निम्ति जीवनको बलिदान गर्दै बेलायतलाई विश्वको सर्वशक्तिमान राष्ट्र बनाउन कुनै कसर बाँकी राखेनन् । उता बेलायतका राजपरिवारदेखि लिएर नेताहरूले समेत बहादुर र इमानदार गोर्खा भन्दै गोर्खाहरूलाई फुक्र्याउन रत्तिभर कञ्ज्यूस्याइँ गरेका छैनन् । यदि बेलायती साम्राज्यले भन्ने गरेको ‘बहादुर’ शब्द मिथ्या होइन भने बेलायतको लागि त्यति ठूलो त्याग गर्ने ती इमानदार र बहादुरहरूलाई दुई सय वर्षसम्म पशु सरह चरम शोषण गर्दै गोर्खा र तिनको मातृभूमि नेपाललाई शिर ठाडो गर्न नसक्ने गरी किन बर्बाद बनाइयो ?

नेपालप्रति बेलायतको नियत असल भएको भए बेलायतका प्रधानमन्त्रीले आफ्ना राष्ट्रसेवक बहादुर गोर्खाहरूको भूमि नेपालमा अहिलेसम्म खुट्टा नटेक्नुको कारण के हो ? बेलायत नेपालको सच्चा मित्र हो भने नेपाली युवाहरूले बेलायती सेनामा प्रवेश गरेको दुई सय वर्ष पुगेको उपलक्ष्यमा दुवै देशका सरकारहरूले उत्सव मनाइरहेको अवसरमा प्रधानमन्त्री डेभिड क्यामरुन नेपाल आउनुपर्ने थियो । दुवै देशका प्रधानमन्त्रीहरूले श्वेतपत्र जारी गर्दै नेपालीहरूले दुईसय वर्षसम्म बेलायतको लागि बफादारीपूर्ण सेवा गरेवापत् हामीले पनि नेपाल र नेपालीलाई लाभ हुने गरी यस यस क्षेत्रमा यी यी कुराहरूको विकास गरिदियौँ भनी प्रधानमनत्री क्यामरुनले नेपाली जनतालाई सन्देश दिने हिम्मत गर्न सक्नुपथ्र्यो । तर यो दुर्लभ र हिंसामय इतिहासमा त्यो सम्भव भएन । किन ? किनभने—

आफ्ना राष्ट्रसेवक ‘बहादुर’हरूको जन्मभूमि नेपाललाई बेलायतले बर्बाद बनाइदिएको छ । ‘बहादुर’ गोर्खाहरूलाई दुई सय वर्षसम्म पशुलाई जसरी चरम शोषण गर्दै दास बनाएको छ । ‘बहादुर’ गोर्खाहरूको गाउँ भन्ज्याङ, बेँसीलाई खण्डहर बनाउँदै उनीहरू अब त्यहाँ जान चाहेर पनि जान नसक्ने अवस्थामा पु¥याएको छ । ‘बहादुर’हरूको मातृभाषा, संस्कार संस्कृतिलाई पूर्ण रुपले समाप्त पारिदिँदै उनीहरूलाई संस्कार संस्कृति तथा राष्ट्रविहिन बनाइदिएको छ । यी ‘बहादुर’ गोर्खाहरूलाई एकतर्फी आज्ञाकारी र चौकीदारभन्दा माथि योग्य नहुने बनाइदिएको छ । नेपालसँग कुनै सरोकार नै नभएको प्रथम र दोस्रो विश्वयुद्धहरूमा लाखौँ गोर्खाहरूलाई होमेर हजारौँ गोर्खाहरूको हत्या गरिदिएको छ । यसरी युद्धमा मारिएका र वेपत्ता पारिएका गोर्खाहरूको अवस्थाको बारेमा अहिलेसम्म पनि बेलायतले कुनै सूचनासम्म दिएको छैन । आफ्ना राष्ट्रसेवक र उसको देशलाई यस्ता जघन्य अपराध गरेको कुरा बेलायतका प्रधानमन्त्रीलाई थाहा नहुने कुरै भएन । त्यसैले गर्दा यी बहादुरहरूको भूमि नेपालमा टेक्ने बित्तिकै बेलायतले गरेको आपराधिक क्रियाकलापहरूलाई नेपालीहरूको रोइरहेको आत्माले क्षमा दिने थिएन । त्यही डरले गर्दा बेलायतका कुनै पनि कार्यकारी प्रधानमन्त्रीले अहिलेसम्म बहादुरहरूको जन्मभूमि नेपालमा खुट्टा टेक्न साहस गर्न सकेका छैनन् । हामी बुझ्छौँ, यिनै कारणले प्रधानमन्त्री क्यामरुन यति महत्वपूर्ण अवसरमा पनि नेपालमा आउन सकेनन् । त्यसको बदला कुनै कार्यकारी अधिकार नभएको राजपरिवारको कान्छा सदस्यलाई नेपालमा पठाएर डोको बोक्न लगाएर रमिता र तमासा देखाउन लागिपरे । तर हामी यस्ता बेलायती नौटंकीमा सहभागी हुन सक्तैनौँ । जबसम्म हामी बेलायत सरकारसँग हाम्रो पाइपाइको हरहिसाब असुल गर्दैनौँ, तबसम्म हामी पनि चैनसँग बस्ने छैनौँ, र बेलायत सरकारले पनि चैनसँग बस्न पाउने छैन । अब यो अठोट नेपालका स्वाभिमानी तथा देशभक्त सम्पूर्ण युवाशक्तिले गर्नुपर्छ भन्ने हामीले ठानेका छौँ ।

१६. बेलायतको अर्को षड्यन्त्र

नेपाललाई कहिल्यै पनि सार्वभौम राष्ट्र हुन नदिनको लागि राणा र अङ्ग्रेज शासकहरूको साँठगाँठमा बेलायतले आफू भारतबाट लखेटिएर जाने बेला नेपाली युवाहरूलाई भारतीय सेनामा भर्ती हुने परम्परा बसालिराख्यो । अब गोर्खा भर्तीको सवाल ब्रिटिससँग भन्दा भारतसँग प्रत्यक्ष सरोकारको विषय बन्न पुगेको छ । विभिन्न कारणले गर्दा भारतले गोर्खा भर्ती बन्द गर्न नचाहने कुरा प्रष्ट छ । नेपालले पनि भर्ती बन्द गर्न चाहेर गर्न सक्ने अवस्था अब देखिँदैन । यसले गर्दा अब नेपाल र नेपाली कहिल्यै पनि स्वतन्त्र तथा सार्वभौम राष्ट्र बन्ने छाँट देखिदैन । यो नै बेलायतले नेपालीलाई दिएको गोर्खा भर्तीको सबैभन्दा महङ्गो उपहार हो ।

बेलायतले उसको सैनिक सेवामा लैजाने प्रलोभन देखाउँदै ६ महिना अघिदेखि अधिराज्यभरका दश पन्ध्र हजार युवाहरूलाई डोकोमा ढुङ्गा बोक्न लगाएर उकालो कुदाइरहेको विचित्रको दृश्य हामी देख्न पाउँछौँ । यो विचित्रको दृश्य नेपालीले मात्र होइन, विदेशीहरूले समेत अनौठो मानेर हेरिरहेका हुन्छन् । यता ती युवाहरूले आफ्नो पढाइ लेखाइ छाडेर बेलायत जाने प्रलोभनमा परेर डोको बोक्दै तालिम गरिरहेका हुन्छन् । अन्त्यमा, भर्ती गर्ने बेला १ सय ५० जना भन्दा बढीलाई लिँदैन, र बाँकी सबैलाई अयोग्य भनी फालिदिन्छ । ६ महिनासम्म बेलायती सेनामा जाने प्रलोभनमा डोको बोकेर तालिम गरेका यी दश पन्ध्र हजार युवाहरूको मानसिकतामा कस्तो असर पर्न जान्छ ? यस सम्बन्धी कसैको ध्यान गएको छ ?

१७. गेसो आन्दोलनले प्राप्त गरेका उपलब्धिहरू

१. दुई सय वर्षसम्म दुवै सरकारको मिलेमतोमा दास बनाइएका गोर्खाहरूलाई गेसो आन्दोलनले मुक्त गर्दै बेलायती सैनिक सेवाको मान्यता दिलाउन सफल भएको छ ।

२. नेपालीहरूलाई विश्वभर प्रयोग गरी नेपालीको नाममा ब्रम्हलुट गर्दै बेलायती ढुकुटीमा थुपारेको सम्पत्तिलाई गेसोले बेलायतकै वकिल, बेलायतकै कानुन, बेलायतकै न्यायाधीस र बेलायतकै न्यायालयबाट कानुनी मुद्दा जितेर अरबौँ रुपैयाँ नेपालको ढुकुटीमा भित्र्याउन सफल भएको छ ।

३. गेसोले दायर गरेको मुद्दाको फैसला गर्दै तीन देशको बीचमा गरिएको षड्यन्त्रमूलक त्रिपक्षीय सम्झौतालाई ३० सेप्टेम्बर २००८ मा बेलायतकै उच्च न्यायालयले क्ष्ििभनब,ि ग्लबिधाग,ि क्ष्चचबतष्यलब ि(अवैध, कानुनविपरीत र औचित्यहीन) भनी खारेज गरिदिएको छ ।

४. अहिलेसम्म कसैले पनि उच्चारणसम्म गर्न नसकेको राष्ट्रघाती तथा आपत्तिजनक गोर्खा भर्तीको षड्यन्त्रलाई गेसोले एकपछि अर्को गर्दै नेपाल तथा विश्वसामु पर्दाफास गर्न र स्वाभिमानी नेपालीहरूको शिर उँचो बनाउन सफल भएको छ ।

५. गोर्खाका हजारौँ बेराजगार सन्तानलाई बेलायत जान नदिइएकोमा गेसोकै कानुनी लडाइँको फलस्वरुप बेलायतमा आवासीय भिसा प्राप्त भएको छ ।

१८. नेपालको इतिहासबारे

नेपालको वास्तविक इतिहास लेख्ने हो भने यी तलका बुँदाहरू समेटी खोजमुलक तथा अनुसन्धानमुलक ढङ्गले साहस गरी लेखिए मात्र नेपालको वास्तविक इतिहासको नालीबेली छर्लंग हुन्छ, र नेपालको बर्बादीको कारण के रहेछ भन्ने पनि स्पष्ट हुन्छ ।

१. अङ्ग्रेजले नेपाललाई किन उपनिवेश बनाएन ?

२. पहाडी भेगका मङ्गोल नश्लका जातिलाई मात्र जबर्जस्ती किन भर्ती गरियो ?

३. नेपालसँग कुनै सरोकार नै नभएको प्रथम र दोस्रो विश्वयुद्धमा लाखौँ नेपालीहरूलाई होमी हजारौँको हत्या गरिएको छ भने हजारौँको सङ्ख्यामा अपाङ्ग बनाई वेपत्ता पारिएको छ । यसले गर्दा त्यो जमानामा हजारौँ जन र खरबौँ धनको नोक्सान पारिएको छ । किन र कसको लागि नेपालले त्यो जमानामा यति ठूलो नोक्सानी व्यहोर्नु परेको थियो ?

४. ब्रिटिस भारतबाट फर्किने बेलामा राणा र अङ्ग्रेज शासकहरूले नेपाली युवाहरूलाई भारतीय सेनामा भर्ती गराउने परम्परा किन बसालिराखे ?

५. वि.सं २००७ सालपछि राष्ट्रवादी कहलिएका राजा महेन्द्र र विपी कोइरालाजस्ता महान् नेताहरूले पनि यस राष्ट्रघाती परम्परालाई किन निरन्तरता दिए ?
माथि उल्लेखित प्रश्नहरूको सही जवाफ लेख्ने साहस गरे मात्र नेपालको वास्तविक इतिहास छर्लङ्ग हुनेछ ।

१९. हामी के चाहन्छौं ?

हामी नेपाल र बेलायत सरकार तथा सम्बन्धित अन्तर्राष्ट्रिय निकाय समक्ष यी तलका प्रश्नहरू उठाउन चाहन्छौँ । शीघ्र रुपमा दुवै देशका सरकार तथा सम्बन्धित अन्तर्राष्ट्रिय निकायहरूबाट अनुसन्धान गरी छिटोभन्दा छिटो समस्याको समाधान गरियोस् भन्ने चाहन्छौँ ।

१. नेपाल कहिल्यै पनि कुनै देशको अधीनमा वा उपनिवेश थिएन । एक सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र थियो । सार्वभौम राष्ट्रका स्वाभिमानी नेपाली नागरिकको सामाजिक प्रतिष्ठामा आँच पुग्ने गरी नेपालका तत्कालीन जहानियाँ राणा र बेलायती शासकहरूको बीचमा मनोमानी मोलतोल गरी नेपाली युवाहरूलाई बेलायती सैनिक सेवामा पठाए वापत् राणाहरूको बेलायतस्थित निजी खातामा वर्षेनी भारु. दश लाख जम्मा गरिदिने मौखिक सहमति गरेको पाइन्छ । नेपाली नागरिकलाई यसरी खरिद बिक्री गर्ने अधिकार नेपाल र बेलायत सरकारले कहाँबाट पाए ? नेपालीहरूलाई बेलायत सरकारले दुई सय वर्षसम्म के कति कारणले दास बनाएको हुन् ?

२. एक सार्वभौम राष्ट्रका स्वतन्त्र नागरिकलाई विना कारण तथा नेपालसँग कुनै सम्बन्ध नै नभएको प्रथम र दोस्रो विश्वयुद्धमा होमी हजारौँलाई हत्या गरिएको छ भने हजारौँलाई घाइते तथा वेपत्ता पारिएको छ । विना कारण युद्धमा लगेर हत्या गरिएका, घाइते भएका र वेपत्ता पारिएकाहरूको सम्बन्धमा बेलायत सरकारले अहिलेसम्म पनि सम्बन्धित परिवारलाई कुनै सूचना नदिनुको कारण के हो ?

३. हामी गैरहिन्दुलाई बेलायत सरकारले हाम्रो इच्छा विपरित धर्म परिवर्तन गराई हिन्दु बनाइदियो । हाम्रो मौलिक भाषा, संस्कार संस्कृति पूर्ण रुपले समाप्त पारिदियो । हामीलाई संस्कारविहीन बनाइदियो । गोर्खा भर्तीको प्रथाले हाम्रो हराभरा गाउँबेँसी, उब्जाउभूमिलाई खण्डहर बनाइदियो । अहिले हामी भाषा, संस्कार तथा राष्ट्रविहीन अवस्थामा छौँ । यसको सम्पूर्ण जवाफदेहिता बेलायत सरकारले लिनुपर्छ, र यसको क्षतिपूर्ति दिनुपर्छ ।

४. स्याङ्जा जिल्ला फेदीखोला गाविस वडा नं. ८ स्थित साल्मेडाँडामा तीन सय रोपनीको क्षेत्रफलमा निर्माण भइरहेको गोर्खा स्मारक पार्क राष्ट्रिय गौरव तथा अन्तर्राष्ट्रिय सरोकारको बहुआयामिक, बहुउद्देश्यीय, ऐतिहासिक तथा सांस्कृतिक योजना हो । यो योजना राष्ट्रिय स्वाभिमानसँग गाँसिएको सवाल भएकोले मूलतः नेपालीहरूकै सहयोगबाट बन्नुपर्छ भन्ने हामीले ठानेका छौँ । त्यसकारण यो राष्ट्रिय स्वाभिमानको ऐतिहासिक र सांस्कृतिक योजनामा हामी महामहिम राष्ट्रपतिज्यू तथा सम्माननीय प्रधानमन्त्रीज्यूदेखि सर्वसाधारण जनसमुदाय तथा राष्ट्रका उद्योगपति, विभिन्न पेशा तथा व्यावसायीहरू लगायतका सामान्य व्यापारी तथा विभिन्न पेशाले विश्वभर छरिएर बसेका नेपालीहरू समक्ष स्वेच्छिक आर्थिक सहयोगको अपेक्षा गर्दछौँ ।

अब कुनै पनि नेपालका युवायुवतीहरूले बेलायती दूतावासमा गएर ६ महिने भिसाको लागि बिन्ति चढाउन नपरोस् भन्नेमा हामी सचेत हुनुपर्छ । हामीले नाजीवाद, फाँसीवाद, सैन्यवाद विरुद्ध युद्ध लडी साठी हजारभन्दा बढी पुर्खाहरूको बलिदानबाट विश्वलाई शान्ति दिलाइदियौँ । सारा विश्व विकासको बाटोमा दु्रत गतिले अघि बढ्यो । तर जुन राष्ट्रका नागरिकले यति ठूलो सङ्ख्यामा जीवनको बलिदान गर्न बाध्य भए, उनीहरूको देश र जनताले के पाए ? सर्वस्व गुमाउनु सिवाय हामीले केही पनि पाएनौँ । त्यसकारण अब हामीले विश्वसँग र विशेष गरी बेलायतसँग हाम्रा यी साठी हजार पुर्खाहरू कहाँ लगेर केका लागि उनीहरूले जीवनको बलिदान दिनुपरेको थियो ? अहिलेसम्म उनीहरूका परिवारलाई मारिएको वा वेपत्ता पारिएको सम्बन्धमा किन सूचनासम्म दिइएन ? उनीहरू मारिएको भए चिहान कहाँ छ ? देखाइनुपर्छ । हाम्रा पुर्खाहरूले जीवनको बलिदान गरेर बचाएको राष्ट्र बेलायतमा जान पाउने हाम्रो नैसर्गिक अधिकार हो । अब प्रत्येक युवायुवतीहरूले साल्मेडाँडामा गई बेलायतलाई यो प्रश्न गर्ने साहस गरौँ ।

अन्त्यमा,

तीस वर्षसम्म गेसोले गोर्खा ब्रिगेडका दाजुभाइ तथा दिदीबहिनीहरूको हकहित र अधिकारको निमित्त लड्यो । अब राष्ट्रिय स्वाभिमानको लागि शान्तिपूर्ण सङ्घर्ष गर्दै नेपाल र बेलायती सरकारको षड्यन्त्रमा सखाप पारिएका जनजातिहरूका मौलिक भाषा र संस्कृति अनि खण्डहर बनाइएका उनीहरुका गाउँबस्तीको पुनर्उत्थान र क्षतिपूर्तिमा केन्द्रित रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सङ्घर्ष गर्ने अठोट गर्दछ ।

धन्यवाद

About The Author

gaeso.org.np Lalitpur-14 Nakkhipot

Number of Entries : 15

Leave a Comment

© 2009 GAESO, Powered by Kash

Scroll to top