You Are Here: Home » अर्काइभ » गेसो राष्ट्रिय भेलाका पाँच निश्कर्ष

गेसो राष्ट्रिय भेलाका पाँच निश्कर्ष

‘गोरखा भर्तीको वैधानिकताको प्रश्न’ विषयक एक दिवसीय राष्ट्रिय भेलाका पाँच निस्कर्ष

CLICK HERE FOR DOWNLOAD PDF FILE, GAESO KATHMANDU CONCLUSION

आज सोमबार २०७३ साल जेठ १० गते तदनुसार २३ मे २०१६ का दिन गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले काठमाडौँको बागबजारस्थित हार्दिक होटलको सभागारमा सम्पन्न राजनीतिकर्मी, संचारकर्मी, बुद्धिजीवी, र नागरिक समाजका सदस्यहरु सहभागी रहेको ‘गोरखा भर्तीको वैधानिकताको प्रश्न’ विषयक एक दिवसीय राष्ट्रिय भेला गेसो सभापति पदमबहादुर गुरुङद्वारा प्रस्तुत कार्यपत्रमाथि व्यापक छलफल गर्दै निम्न पाँच निस्कर्षहरुमा पुगेको छ ः
१. कहिल्यै पनि कसैको उपनिवेश नरहेको सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालका नागरिकको राष्ट्रिय स्वाभिमान र सामाजिक प्रतिष्ठामा आँच पुग्ने गरी तत्कालीन जहानियाँ राणा शासक र बेलायती शासकहरुको बीचमा मोलतोल गरी नेपाली युवाहरुलाई बेलायती सैनिक सेवामा पठाए वापत् राणाहरुको बेलायतस्थित निजी खातामा वर्षेनी भा.रु. दश लाख जम्मा गरिदिने मौखिक सहमति गरेको पाइन्छ । नेपालीहरुलाई यसरी खरिद बिक्री गर्ने अधिकार नेपाल र बेलायत सरकारले कहाँबाट पाए ? यो भेला भर्तीका नाममा नेपालले आफ्ना नागरिकलाई कुन आधारमा विदेशी शासकलाई बिक्री गरेको हो र बेलायतले खरिद गरेको हो र दुई सय वर्षसम्म नेपाली नागरिक बेलायतको दास बन्न बाध्य हुनुपर्ने कारण के थियो भन्ने प्रश्न जायज हो भन्ने निस्कर्षमा पुगेको छ ।
२. नेपालसँग कुनै सरोकार नै नभएका प्रथम र दोस्रो विश्वयुद्ध तथा फोकल्याण्ड जस्ता युद्धहरुमा गोरखाहरुलाई होमी त्यति ठूलो संख्यामा हत्या गरिएको छ भने त्यसको तीन गुणा बढीलाई अंगभंग तथा वेपत्ता पारिएको छ । यो भेला त्यसरी हत्या गरिएका, अंगभंग भएका र वेपत्ता पारिएकाहरुको सम्बन्धमा अहिलेसम्म पनि सम्बन्धित मुलुक र परिवारलाई कुनै सूचना नदिइनुको कारण बारे जान्न पाउने हाम्रो नैसर्गिक अधिकार सुरक्षित रहेको ठान्दछ ।
३. बेलायतले गोरखा भर्तीको प्रथा चलाएर गैरहिन्दू गोरखाहरुलाई उनीहरुको इच्छा विपरीत धर्म परिवर्तन गराई हिन्दू बनाइदिएको र उनीहरुकोे भाषा, परम्परा र मौलिक संस्कार संस्कृति र उद्यमशीलतालाई पूर्ण रुपले समाप्त पारिदिएको सन्दर्भमा यसबाट उत्पन्न नकारात्मक परिणामको सम्पूर्ण जवाफदेही बेलायत सरकार हुनुपर्छ भन्ने गेसोको आशयलाई यो भेला सम्मान गर्दछ ।
४. प्रथम र दोस्रो विश्वयुद्धमा विश्वको जनसंख्याको अनुपातमा युद्धमा सामेल राष्ट्रले भन्दा पनि ज्यादा क्षति नेपालले व्यहोर्नु परेको थियो । अढाई लाख नेपाली युवाहरुले विना कारण अर्काको लागि युद्ध लड्न जाँदा राष्ट्रको उत्पादनमा आएको ह्रास, त्यतिकै संख्यामा नेपालमा रहेका उनीहरुका श्रीमती र लाखौँ आफन्तहरु विक्षिप्त अवस्थामा बाँच्नु परेको विवशता र यस्तो अवस्थामा बाँचेका उनीहरुले पनि राष्ट्रिय उत्पादनमा योगदान गर्न नसक्ने यथार्थलाई मनन गर्दै यो भेला नेपालको दुर्दान्त गरीबीको एक मुख्य कारकका रुपमा गोरखा भर्तीलाई जिम्मेवार ठान्दछ । देशको गरीबीको मूल कारकबारे खोजबीन नगरिकनै अर्थविद्हरुले सहायक कारकहरुमा मात्र ध्यान दिएको र भर्तीको असरका रुपमा व्याख्या नगरेको बारे भेला सामान्यतया सहमति प्रकट गर्दछ । त्यतिबेला कूल ६० लाख बराबरको जनसंख्या भएको नेपालबाट युद्धमा लगिएकामध्ये साठी हजारभन्दा ज्यादा मारिएका, लाखौँको संख्यामा घाइते वा अंगभंग भएका र हजारौं बेपत्ता पारिएको सन्दर्भमा उर्जाशील युवाहरुको यति ठूलो क्षतिले मुलुकलाई गरीब बनाउन गरेको योगदानलाई सरकार र बौद्धिक जगतले बिर्सन नहुनेतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछ ।
५. स्याङ्जा जिल्ला फेदीखोला गाविस वडा नं. ८ स्थित साल्मेडाँडामा निर्माण भइरहेको गोरखा स्मारक पार्क राष्ट्रिय गौरव तथा अन्तर्राष्ट्रिय सरोकारको बहुआयामिक, बहुउद्देश्यीय, ऐतिहासिक तथा सांस्कृतिक योजना भएको र राष्ट्रिय स्वाभिमानसँग गाँसिएको सवाल समेत भएकोले मूलतः नेपालीहरुकै सहयोगबाट यसको निर्माण सम्पन्न हुनुुपर्छ ठानेका छौँ । त्यसकारण यस राष्ट्रिय स्वाभिमानको ऐतिहासिक र सांस्कृतिक योजनामा हामी महामहिम राष्ट्रपतिज्यू तथा सम्माननीय प्रधानमन्त्रीज्यूदेखि सर्वसाधारण जनसमुदाय तथा राष्ट्रका उद्योगपति, विभिन्न पेशा तथा व्यावसायीहरु लगायतका सामान्य व्यापारी तथा विभिन्न पेशाले विश्वभर छरिएर बसेका नेपालीहरु समक्ष स्वेच्छिक आर्थिक सहयोगको अपेक्षा गर्नु सर्वथा उचित हो भन्ने निस्कर्षमा पुगेका छौं ।

d

 

About The Author

gaeso.org.np Lalitpur-14 Nakkhipot

Number of Entries : 10

Leave a Comment

© 2009 GAESO, Powered by Kash

Scroll to top