You Are Here: Home » अर्काइभ » गेसो सभापतिको रूपमा पदम बहादुर गुरूङको अन्तिम भाषणको पूर्ण पाठ

गेसो सभापतिको रूपमा पदम बहादुर गुरूङको अन्तिम भाषणको पूर्ण पाठ

आदरणीय गेसोका विभिन्न तह र तप्काका पदाधिकारीज्यूहरू, दाजुभाइ तथा दिदीबहिनीहरू,

सबैमा हार्दिक अभिवादन टक्र्याउन चाहन्छु ।

गोरखा भूतपूर्व सैनिक संघ (गेसो)को स्थापना विशेष परिस्थितिमा विचित्र र अनौठो ढंगले भएको हो । म ब्रिटिस सेनाको रिडन्डेन्ट, डा. चन्द्रबहादुर गुरुङ भारतीय सेनाका नाम कटुवा, हामी दुवैजना पल्टनका साधारण सिपाही भएकाले हामीलाई कसैले पत्याएनन् । संस्था दर्ता गर्दा चाहिने ११ जनाको संख्या पु¥याउन सकिएन । जसोतसो ११ जनाको नागरिकताको फोटोकपी संकलन गर्न सफल भयौँ । तर उहाँहरू को हुनुहुन्थ्यो भन्ने मलाई अत्तोपत्तो थिएन, र अहिले पनि छैन । त्यसैले अनौठो र विचित्र भनेको हुँ ।

ब्रिटिस सरकारसँग समानताको अधिकार खोज्ने घोषणा गर्दा हामीलाई बौलाहा र पागल भन्थे । यो शब्द अरु कसैले भनेको नभई हाम्रै भूपू सैनिकका दाजुभाइ दिदिबहिनीहरूले भनेका थिए । ब्रिटिससँगको लडाइँ त्यति सजिलो थिएन । जुन वर्गको निमित्त अधिकार खोज्ने घोषणा गरेका थियौँ, दुई सय वर्षसम्मको इतिहासलाई अध्ययन गर्दा त्यो वर्ग आन्दोलनकारी नभई आज्ञाकारी वर्ग थियो । ब्रिटिससँगको सवाल भएको हुनाले नेपालका राजनीतिक पार्टी वा सरकारले साथ दिने वाला थिएनन् । यस्तो अप्ठ्यारो परिस्थितिमा हामीले साहसका साथ अघि बढ्ने दृढ अठोट गरेका थियौँ ।

यो आन्दोलनलाई अघि बढाउनको निमित्त कुनै एक राजनीतिक पार्टीसँग नजिक हुन अति जरुरी थियो । नेपालका राजनीतिक पार्टीहरूबारे विश्लेषण गर्दा नेकपा एमालेलाई उपयुक्त ठान्यौँ । २०४९ साल भदौ ९ गते जननेता मदन भण्डारी पोखरा आउँदा म र डा. चन्द्रबहादुरले भेट्ने समय पायौँ । मैले एक घण्टा जति ब्रिटिस सरकारले नेपालीहरूलाई दुई सय वर्षसम्म गरेको दुव्र्यवहारको बारेमा कुरा राखिसकेपछि अन्तमा मदन भण्डारीले गेसो आन्दोलनलाई पूर्ण रुपले सहयोग गर्ने वचन दिनुभयो । त्यसपछि म र डा. चन्द्रबहादुरमा एक खाले नयाँ जोश र जाँगर उर्लेर आयो । मलाई मदन भण्डारीले उहाँको ठूलाठूला आमसभामा बोल्ने मौका दिनुभयो । म पार्टीको साधारण सदस्यता पनि नलिएको व्यक्तिलाई पाँचौँ अधिवेशनको प्रतिनिधि बनाउनुभयो । २०५० साल जेठ ३ गते भएको दुखद दासढुंगा घटनामा जननेता भण्डारीको दुःखद निधन हुन पुग्यो । यसले गेसोलाई समेत अपुरणीय क्षति पुर्यायो भने हामीलाई मर्माहत बनायो ।

डा. चन्द्रबहादुर गुरुङ अनुसन्धान तथा अध्ययनको लागि बेलायत आएपछि म एक्लै भएँ । कानुनी सल्लाहकारमा युवराज संग्रौलालाई राखेँ । गेसो आन्दोलनको अभियानमा तत्कालीन अखिलका विद्यार्थी नेता रविन्द्र अधिकारी, योगेश भट्टराई, शिव गुरुङ, ईश्वरी न्यौपाने, कृष्ण थापा, भक्त गुरुङ जस्ता अखिलका शक्तिशाली नेताहरूले साथ दिए । युवराज संग्रौला र म भएर चार सुत्रीय माग ड्राफ्ट ग¥र्यौँ । २०५० साल भाद्र १३ गते दिनको २ बजे मैले ब्रिटिस एम्बेसीमा समय लिएँ । काठमाडौँमा भएका र मैले चिनेका साठी जनाभन्दा ज्यादा भूपू सैनिकहरूलाई चार सुत्रीय माग बुझाउन ब्रिटिस एम्बेसीमा आउनको लागि अनुरोध गरेको थिएँ । तर कोही पनि आएनन् । नआउनुको कारण बुझ्दा “त्यस्तो पागलको कुरा सुनेर पनि जाने ?” भनेर कसैलाई श्रीमती र कसैलाई सासुले हप्काएका रहेछन् ।

तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्र र रक्षा मन्त्री माधव कुमार नेपालसँग त्रिपक्षीय सम्झौता मागेँ । उहाँले दिनुभयो । युवराज संग्रौला र मैले त्यो सम्झौताको व्यहोरा अध्ययन गर्दा हामीलाई गैरकानुनी ढंगले तत्कालीन राणा शासक र ब्रिटिसको निजी स्वार्थको निमित्त दासको रुपमा युद्धमा जबर्जस्ती युद्धमा होमेका रहेछन् भन्ने रहस्य पत्ता लाग्यो, र यो विषय भूपूहरूको मात्र नभई राष्ट्रिय सरोकारको विषय भएको महसुस ग¥र्यौँ, र हामीले यो आन्दोलन अघि बढाउनैपर्छ भन्ने निश्चय ग¥र्यौँ । २०५२ साल साउन महिनामा हर्कबहादुर पुनको अध्यक्षतामा गण्डकी तथा धौलागिरी गेसो कमिटिको गठन भयो ।

ब्रिटिससँग जोरी खोज्नु भनेको कल्पना समेत गर्न नसकिने कुरा मानिएको थियो, तर पनि सात वर्षसम्म मैले मेरो घरपरिवार त्यागेर, परिवारको मुखको गाँस काटेर, छोराछोरीको पढाइलेखाइ र स्कुल फि जस्ता संवेदनशील कुराहरूलाई वेवास्ता गर्दै एकोहोरो भएर गोरखा ब्रिगेडका दाजुभाइ, दिदीबहिनीहरूलाई अधिकार दिलाउने भनेर एकोहोरिएर पागलजस्तो लागिपरेँ । म एक्लै भए पनि गैर भूपू सैनिकका दिदीबहिनीहरूलाई भूपू सैनिक परिवार बनाएर पत्रकार सम्मेलन गर्ने गर्थेँ । बुद्धिजीविहरूसँग अन्तक्र्रिया गर्थेँ । पोखराको दिपेन्द्र सभा गृहदेखि लिएर काठमाडौँको राष्ट्रिय सभा गृहमा आमसभा गर्थेँ । पूर्व पश्चिमको अभियानमा दौडिरहेको हुन्थेँ । मेरो एकल नेतृत्वमा वरिष्ठ पत्रकार अखिलेश कुमार उपाध्याय, युवराज संग्रौला लगायतका पाँच जनाको टोलीलाई हङकङ लगेर अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन गरेको थिएँ । यो खर्च मैले कसरी र कहाँबाट जुटाएँ ? यहाँ अहिले बयान गरी साध्य छैन । ब्रिटिससँग लड्ने सवालमा यसरी एक्लै जुध्ने साहस गर्नु चानचुने कुरा थिएन । यसै आन्दोलनको दौरानमा मैले तीन पटकसम्म रगत बगाउनुप¥यो भने दुई पटक मेरो हत्याको प्रयास भयो । आफ्नै महिला कमिटिका दिदीबहिनीहरूले आठ करोड भ्रष्ट्राचार ग¥यो भनी जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दिए । ३० सेप्टेम्बर २००८ मा बेलायतको उच्च अदालतले १९९७ भन्दा पूर्वका सम्पूर्ण भूपू सैनिक र उनीहरूका १८ वर्षभन्दा मुनिका छोराछोरीहरूलाई बेलायत आउन दिनुपर्छ भनेर हाम्रो पक्षमा मुद्दाको फैसला भयो । यस्तो खुशीको खबर सुनाउनको निमित्त मोरङ जिल्लामा पूर्वाञ्चल स्तरीय सभाको कार्यक्रम आयोजना गरिएको थियो । त्यो कार्यक्रममा म पुग्नुभन्दा पहिले सजाइएको मञ्च भत्काइयो । पहिले त्यही हातले अबिर र फूलको गुच्छा लिएर बस्ने दिदीबहिनीहरू पदम बहादुर चोर हो, यसलाई आउन दिनुहुँदैन भन्दै हात—हातमा जुत्ताको माला र कालो मोसो लिएर बसे । तर म आँट गरेर विराटनगरसम्म पुगेँ । पछि मेजर मान बहादुर राई, धनपाल राई र विष्णु राईले “स्थिति राम्रो छैन र जान हुँदैन” भनेपछि म काठमाडौँ फर्किएँ । यतिमात्र होइन, मलाई सिध्याउन भूपू सैनिकहरूबाट ३८ लाख पाउण्ड उठाएर माओवादीको जनयुद्धमा लगानी गरेको छ, र पदम बहादुर गुरुङ भनेको बेलायतको आइआरए भन्दा पनि खतरनाक आतंककारी हो भनेर बेलायतबाट प्रकाशित हुने सागा म्यागेजिनमा छपाइयो । नेपालमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल भूतपूर्व सैनिक संगठनका तत्कालीन अध्यक्ष कर्नेल लालकाजी गुरुङले गेसो आतंकाकारी हो भनेर प्रेस विज्ञप्ति नै निकाले भने तत्कालीन मन्त्री नारायणमान सिंह पुनले बेलायतमा आएर गेसो भनेको आतंककारी संस्था हो, यस्तो संगठनको वकिल सेरी बुथ बस्न हुने थिएन भनी प्रेस विज्ञप्ति निकाले । यसरी नेपाल र बेलायतका प्रहरी र सेनाले मलाई जहाँ देखे पनि गिरफ्तार गर्ने या गोली हान्न सक्ने स्थितिको सिर्जना गरियो । यस्ता खतरनाक षड्यन्त्रबाट पनि म बच्नु भनेको पहिलो जन्म मेरो आमाले दिनुभएको थियो भने दोस्रो जन्म नेपालका सेना र प्रहरीले दिएको हो भन्ने म ठान्दछु ।

२०५३ सालको कार्तिक महिनामा प्रमुख प्रतिपक्षी दलका नेता मनमोहन अधिकारीले गेसोले उठाएका चार सुत्रीय मागका सम्बन्धमा नेपालको सदनमा विशेष समय लिएर १५ मिनेट बोल्नुभयो । यस विषयलाई लिएर नेपालका सञ्चार माध्यमहरूले प्राथमिकताका साथ समाचारहरू प्रसारण गरे । साथै विविसीले समेत यो समाचारलाई प्राथमिकता दियो । त्यसपछि मात्र २०५३ साल कार्तिक १० गते सुन्धारास्थित होटल भिक्टोरियामा मेरो नेतृत्वमा २५ सदस्यीय केन्द्रीय कमिटि गठन भयो । कृष्ण कुमार राई सहसचिवमा आउनुभयो । गेसोमा आइसकेपछि उहाँले पनि जिआरयुको जागिर त्यागेर र घरपरिवारलाई समेत वेवास्ता गर्दै पूर्णकालीन रुपमा गेसो आन्दोलनको खम्बाको रुपमा लागिपर्नुभयो । २०५३ साल फागुन १९ गते काठमाडौँमा कसैले कल्पना नै नगरेको मानवसागरको भेल उतार्न हामी सफल भयौँ । सबै राजनीतिक पार्टीका प्रमुख नेताहरूले भेलालाई सम्बोधन गरेका थिए । यसले गर्दा नेपाल र बेलायत सरकारको मुटुमा ढ्याङ्ग्रो बज्यो । त्यसपछि भूपू सैनिकका छोराछोरीलाई सजिलै हङकङको आइडी दिन थाल्यो भने बेलायतमा राज्यमन्त्रीको संयोजकत्वमा बेलायत सरकारले गोरखाहरूको पेन्सन सम्बन्धी अध्ययन गर्न एक उच्चस्तरीय आयोग गठन गर्यो ।

म र कृष्ण कुमार राई सात वर्षसम्म घाम पानी झरी बादल भोक तिर्खा केही पनि नभनी रातदिन घर परिवार सबै थोक त्यागेर यो आन्दोलनमा लाग्यौँ । हामी राती र चाडवाडमा मात्र छुट्टिन्थ्यौँ । यस दौरानमा हामी माथि अनेकौँ षड्यन्त्रहरू भए । अनेकौँ आरोपहरू लगाइए । तर हर षड्यन्त्र र आरोपको डटेर सामना गर्दै एक रति पनि विचलित नभई अघि बढ्यौँ । कहालीलाग्दा अभियोग र षड्यन्त्रहरूको यहाँ बयान गरी साध्य छैन ।

हाम्रो सात वर्षको अभियानको दौरानमा भएका अनेकौँ घटनाहरूमध्ये म यहाँहरूलाई संक्षेपमा दुई वटा घटनाको मात्र स्मरण गराउन चाहन्छु । पूर्वतिरको कार्यक्रम सकेपछि हामी दुई जना काठमाडौँतिर फर्कँदै थियौँ । गाडी मैले चलाएको थिएँ । पथलैयाको बीच जंगलमा आइपुग्दा पेट्रोल सकियो । गाडी रोकियो । त्यस बेला माओवादीको जनयुद्ध चलिरहेको थियो भने त्यो ठाउँ चोर डाँका र हिंस्रक वन्यजन्तुहरूको पनि उत्तिकै खतरा भएको कुख्यात ठाउँ थियो । हामी दुवैजनाले गाडी धेकल्दै लग्यौँ । करिब ४५ मिनेटपछि बत्ती भएको पोलमा आइपुग्यौँे । त्यसैगरी एक दिन पोखराको कार्यक्रम सकिएपछि साँझको ७ बजेतिर काठमाडौँ फर्कँदै थियौँ । साउन महिना थियो । कृष्णभीरनेर आइपुग्दा अचानक मुसलधारे पानी वर्षियो । मैले कारको बे्रक हानेँ । गाडी सडक मुनि खस्न पुग्यो । हामीलाई चोट त लागेन । गाडीबाट निस्केर हेर्दा दश फिट उता गएको भए, त्रिशुली नदीमा खसिने रहेछ । यो आन्दोलन म र कृष्ण कुमार राईको त्याग र समर्पणले गर्दा अहिले गोरखा ब्रिगेडका दाजुभाइ लगायतका तपाईंहरूले यो सुविधा उपभोग गर्न पाइरहनुभएको छ । हाम्रा भूपू सैनिकका दाजुभाइ दिदीबहिनीहरूले भने जस्तो पैसा दिएर, जुलुसमा हिँड्दैमा मात्र यो आन्दोलन सफल भएको होइन । नेतृत्वको अनवरत प्रयास र नेपाली र बेलायती जनताको समर्थनले गर्दा २४ डिसेम्बर २००० मा कल्पना नै नगरेको पेन्सनको वृद्धि भयो । त्यसपछि मात्र केही भूपू सैनिकहरूका दाजुभाइ दिदीबहिनीहरू गेसो आन्दोलनप्रति आकर्षित हुन थाले ।

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
अहिलेसम्म के कस्ता घटनाहरू घटे ? के कस्ता उपलब्धिहरू प्राप्त गर्दै गयौँ भन्ने कुराको क्रमिक रुपमा लेख्दै जाने हो भने छोटो समयमा संभव छैन । गेसो आन्दोलनले हासिल गरेका अकल्पनीय मुख्य—मुख्य बुँदाहरू मात्र यहाँ प्रस्तुत गर्न चाहन्छुः

१. हाल सिपाहीको मासिक पेन्सनमा वृद्धि भई रु. ४० हजार र अफिसरहरूको मासिक डेढ लाख रुपैयाँसम्म पुगेको छ । त्यसबाहेक बेलायतमा आएर बसेकाहरूले जिन्दगीमा कल्पना नै नगरेका सुविधाहरू प्राप्त गरिरहेका छन् ।

२. १८ वर्षभन्दा मुनिका सम्पूर्ण भाइबहिनीहरू बेलायत आइसकेका छन् भने १८ वर्षभन्दा माथिका नेपालमा बेरोजगार भएर बसेका भाइबहिनीहरू ७० प्रतिशत भन्दा बढी बेलायत आइसकेका छन् ।

३. हजारौँ भूपू सैनिकका छोराछोरीहरूलाई हङकङको आइडी दिलाउन सफल भएका छौँ ।

४. दुई सय वर्षसम्म ब्रिटिस सरकारले दासको रुपमा राखेको गोरखा ब्रिगेडलाई ब्रिटिस सैनिकको मान्यता दिलाउन सफल भएका छौँ ।

५. नेपालीहरूको पसिना र बलिदानले आर्जन गरेर बेलायती ढुकुटीमा थुपारेको रकमलाई बेलायतकै अदालतबाट मुद्दा जितेर अरबौँ रुपैयाँ नेपाल भित्र्याउन सफल भएका छौँ ।

६. नेपालको राष्ट्रियता र सार्वभौमिकताको प्रश्नलाई अन्तर्राष्ट्रिय क्षेत्रमा उठाइसकेका छौँ ।

७. नेपाललाई कुनै सरोकार नै नभएको प्रथम र दोस्रो विश्वयुद्धहरूमा विना कारण युद्धमा होमी हजारौँ नेपालीहरूलाई मारिएको प्रश्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उठाएका छौँ ।

८. नेपालको वास्तविक इतिहास विश्वलाई थाहा दिनको लागि विश्वकै अद्वितीय गोरखा स्मारक पार्कको निर्माण सुरु गरी सम्पन्न गर्ने चरणमा पुर्याएका छौँ ।

९. १९८१ जुलाईमा म एक्लैले बु्रनाईमा कसैले पनि नसोचेको पहाड पल्टाएर हाम्रा दाजुभाइहरूलाई २ सय ५७ डलर र इच्छा लागेसम्मको कन्ट्र्याक दिलाउन सफल भएँ ।

गेसोले आन्दोलन नगरेको भए बेलायती सेनाका भूपू सैनिकहरूको अवस्था कस्तो रहने थियो ? हामी सबैलाई थाहा भएकै कुरा हो । जो साथीहरू १९७५ साल भन्दा पहिला पेन्सन आए, उनीहरू सबै गाउँ फर्किए । उनीहरूको जीवनशैली पूर्ण रुपले नेपाली समाजसँग मिल्दोजुल्दो भएर गयो ।

जो साथीहरू १९७५ सालभन्दा पछि पेन्सन आए, उनीहरू सबैले नेपालको शहरी क्षेत्रमा स्थायी रुपमा बसोबास गर्न थाले । बचाएर ल्याएको पैसाले घर त बनाए, तर बैंक ब्यालेन्स थिएन, एक मुठो साग उमार्ने जमिन थिएन, पेन्सनले छोराछोरी पढाउन सक्ने अवस्था थिएन भने दैनिक गुजारा चलाउन पनि धौधौ हुन्थ्यो । न बेलायती, न नेपाली संस्कार बनाइदिएर अर्धशिक्षित अवस्थामा नेपाल फर्काइदिएका भूपू सैनिकका छोराछोरीहरूलाई नेपाल सरकारले जागिर दिँदैनथ्यो, उसको बाबुलाई जसरी ब्रिटिसले भर्ती गरेर लाँदैनथ्यो । उनीहरू गाउँमा गएर पितापुर्खाको थलोमा गएर गरिखाने अवस्थामा पनि थिएनन् । धेरैजसो संस्कारविहीन भएर कुबाटोतिर लाग्ने जोखिममा पुगेका थिए । रिडन्डेन्टमा आएकाहरूको बिजोग त हेरिसाध्य थिएन । गेसो आन्दोलनले गर्दा दयनीय अवस्थामा रहेका हाम्रा दाजुभाइ तथा छोराछोरीहरूलाई आवासीय भिसा सहितको बेलायती नागरिकले पाउने अधिकार दिलाउन सफल भएका छौँ ।

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
आमाबुबाले बच्चालाई जन्म दिएर पालन पोषण गर्दै बालिग बनाउन १६ वर्ष लाग्छ भने तपाईंहरूलाई अहिले पाइरहनुभएको अधिकार दिलाउन गेसोलाई पच्चीस वर्ष लाग्यो । यस अवधिमा आन्दोलनको नेतृत्व गर्ने हामीले के कस्ता जालझेल, षड्यन्त्र, झमेला, दुःख, कष्टहरूको सामना गर्नुप¥यो भन्ने कुराको यहाँ बयान गरि साध्य छैन । यस्तो परिस्थितिको सामना गर्दै तपाईंहरूलाई यति ठूलो उपलब्धि दिलाइदिँदा पनि गोरखा भूपू सैनिकका दाजुभाइ, दिदीबहिनीहरूले गेसोलाई गालीगलौज गर्नु, विरोध गर्नु भनेको शहरमा पढ्न बसेका छोराछोरीहरूले गाउँमा बस्ने बाबुआमा भेट्न आउँदा साथीहरूको सामु “ऊ त मेरो नोकर हो” भनी जन्म दिने बाउआमालाई अवहेलना गर्नु सरह हो कि होइन ? तपाईंहरूले गेसोलाई गालीगलौज गरे पनि इतिहास र विवेकशील नेपालीले गेसोको मूल्याङ्कन अवश्य नै गर्नेछन् ।

मेरो नेतृत्वकालमा गेसो आन्दोलनलाई आर्थिक, भौतिक तथा बौद्धिक सहयोग गर्नुभएका सबैलाई म यस क्षणमा सम्झना गर्न मेरो कर्तव्य ठानेको छु । विशेष गरी विद्यार्थी नेता, राजनीतिक पार्टीका नेता तथा बुद्धिजीविहरूलाई हार्दिक धन्यवाद नदिइरहन सक्दिनँ । विशेष गरी जननेता मदन भण्डारी, मनमोहन अधिकारी, माधव कुमार नेपाल, वामदेव गौतम, कानुनी सल्लाहकार युवराज संग्रौला, डा. ओम गुरुङ, कानुनी सल्लाहकार गोपाल चिन्तन शिवाकोटी, सोलिसिटर फिल साइनर, होवे एण्ड को का मार्टिन होवे र पार्टनर, भारतीय सेनाका सिपाही भएता पनि गेसो दर्ता गर्न र लन्डनमा वकिल खोज्ने काममा अविष्मरणीय योगदान पु¥याउनुभएका डा. चन्द्र बहादुर गुरुङलाई यस बखत सम्झनु मेरो कर्तव्य ठानेको छु । यसैगरी इतिहासविद् डा. सुरेन्द्र केसी, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, डा. हर्क गुरुङ, प्राज्ञ वैरागी काइँला, नेता पद्मरत्न तुलाधर, राजनीतज्ञ उदयराज पाण्डे, ईश्वरी न्यौपाने, राजनीतिक विश्लेषक झलक सुवेदी, बुद्धिजीवि श्यामल, तत्कालीन विद्यार्थी नेताहरू रविन्द्र अधिकारी, योगेश भट्टराई, शिव गुरुङ, कृष्ण थापा, भक्त गुरुङले यस आन्दोलनलाई ऐतिहासिक सफलता हासिल गर्न रचनात्मक सहयोग पुर्याइदिनुभएकोमा उहाँहरू सबैलाई म पल्टनियाँ सलाम गर्न चाहन्छु । साथै केन्द्रीय समिति, क्षेत्रीय समिति, अञ्चल समिति, जिल्ला समिति, महिला समिति, हङकङको ब्रिटिस गोरखा भूतपूर्व सैनिक संगठन, मकाउ समिति र गेसो आन्दोलनलाई सहयोग गर्ने स्वदेश तथा विदेश स्थित विभिन्न सञ्चारगृह र सञ्चारकर्मीहरू अनि नेपाली तथा बेलायती नागरिकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
मेरो उमेरको कारणले गर्दा र अब दोस्रो पुस्तालाई पनि अभिभारा तथा जिम्मेवारी सुम्पिनुपर्छ भन्ने मान्यताको आधारमा २२ वर्षसम्म गेसो आन्दोलनको खम्बाको रुपमा अनवरत रुपमा लागिरहनुभएका वरिष्ठ उपसभापति कृष्ण कुमार राईलाई आजको मितिदेखि विश्वमै बहुचर्चित र ऐतिहासिक गेसो आन्दोलनको नेतृत्वको अभिभारा र सम्पूर्ण जिम्मेवारी सुम्पँदै आजैबाट म सभापति पदमा नरहेको घोषणा गर्न चाहन्छु ।

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
म पदमा नरहे पनि हात बाँधेर बस्ने छैन । मेरो भौतिक शरीरले साथ दिएसम्म वा मेरो एक मुठी प्राण रहेसम्म सभापति कृष्ण कुमार राईलाई साथ दिइरहने प्रण गर्दछु । मेरो कार्यकालमा तपाईंहरूले मलाई जसरी आर्थिक, भौतिक सहयोग उपलब्ध गराइदिएर गेसो आन्दोलनलाई अघि बढ्न सहयोग गर्नुभयो, त्यसरी नै सभापति कृष्ण कुमार राईलाई पनि सहयोग गरिदिनुहुने नै छ भन्ने पूर्ण विश्वास लिँदै त्यसको लागि हार्दिक अपिल समेत
गर्दछु । जय गेसो ।

पदम बहादुर गुरुङ
निवर्तमान सभापति
गोरखा भूतपूर्व सैनिक संघ (गेसो)
१९ सेप्टेम्बर २०१६
बेलायत

About The Author

Number of Entries : 9

Leave a Comment

© 2009 GAESO, Powered by Kash

Scroll to top